अर्थ

बुटवल उपमहानगरको बजेट एक अर्ब ९० करोड

चालुतर्फ ५९ प्रतिशत र पुँजीगततर्फ ४१ प्रतिशत

असार १०, २०७६

    बुटवलः बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि एक अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। जसमा चालुतर्फ एक अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पुँजीगततर्फ ७७ करोड ९८ लाख अर्थात् ४१ प्रतिशत बजेट विनियोजन भएको छ।

    संघ तथा प्रदेश सरकारवाट प्राप्त हुने सशर्त अनुदान समेतलाई समावेश गर्दै गत वर्ष भन्दा करिब ३५ करोड बढि रकमको बजेट प्रस्तुत गरिएको हो। बुटवल उपमहानगरले गत आवमा एक अर्ब ६६ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। नगरसभाको पाँचौं अधिवेशनमा नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गुमादेवी आचार्यले आव ०७६/०७७ का लागि एक अर्ब ९० करोड बजेट प्रस्तुत गरिन्।

    शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बजेटको मुख्य उद्देश्य सबल आर्थिक केन्द्र समुन्नत बुटवल निर्माण गर्दै ‘समृद्ध बुटवल : खुसी जनता’ रहेको उल्लेख छ। उपमहानगरको नीति तथा कार्यक्रम पारित भएसंगै यो आकारको बजेट प्रस्तुत भएको हो। पर्यटन, कृषि, उद्योग, व्यापार–व्यवसायलाई बुटवलको समृद्धिको आधार मान्दै योजना कार्यान्वयनको वर्ष रुपमा लिँदै बुटवलले नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो।

    बजेटको स्रोतका रुपमा स्थानीय आन्तरिक स्रोत (कर, सेवा शुल्क, दस्तुर) तर्फ जम्मा रु. ५१ करोड ९४ लाख ४० हजार, राजश्व बाँडफाँड तर्फ जम्मा रु. १६ करोड ७४ लाख १४ हजार, संघीय सरकारको तर्फबाट प्राप्त हुने समानिकरण, सशर्त, पूँजीगत अनुदान समेत रु. १ अर्व १ करोड ३१ लाख, प्रदेश सरकारको तर्फबाट प्राप्त हुने जम्मा रु. १० करोड ७५ लाख ९६ हजार, अन्य आय जम्मा रु. ५ करोड ७४ लाख ५० हजार, गत वर्षको अ.ल्या. जम्मा रु. ३ करोड ५० लाख समेत गरी जम्मा आम्दानी रु. एक अर्ब ९० करोड हुने अनुमान गरिएको गरिएको छ।

    बुटवलको प्रस्तुत बजेटबाट पूर्वाधार विकासका लागि ३५ करोड ९८ लाख २५ हजार छुट्टाइएको छ। यस्तै वन वातावरण, हरियाली प्रवर्द्धन सरसफाई तथा विपद् व्यवस्थापन एवं सूचना प्रविधिका लागि चार करोड ९० लाख बजेट विनियोजन गरिएको छ। यसैगरि वडास्तरीय कार्यक्रमका लागि १७ करोड बजेट विनियोजन भएको छ।

    सामाजिक विकास र सामाजिक सुरक्षातर्फ २६ करोड, शिक्षा, युवा तथा खेलकुद र जनस्वास्थ्य २९ करोड ३२ लाख ४२ हजार रुपैयाँ र स्वास्थ्यका लागि चार करोड ४० लाख ५० हजार रकम विनियोजन भएको छ। यस्तै स्थानीय सेवा मानव संसाधन तथा सुशासन प्रवर्द्धनतर्फ २८ करोड २६ लाख, राजस्व प्रशान सुधार, सार्वजनिक निजी साझेदारी विभाज्य तथा वित्तिय सेवा समेतका लागि सात करोड रुपैयाँ विनियोजन गरिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]