काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै सत्तार...
चितवन : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबन्धित नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले गरिरहेको अशान्तिका गतिविधि छिट्टै अन्त्य हुने बताएका छन्।
भरतपुर महानगरपालिकाको चौथो नगरसभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विप्लव पनि वार्ताद्वारा नै शान्तिपूर्ण राजनीतिमा आउने विश्वास व्यक्त गरेका छन्। उनले विप्लवसँग छलफल चलिरहेको पनि जानकारी दिएका छन्।
विप्लवका बन्द, हडताल, हिंसात्मक गतिविधिले अशान्तिको वातावरण हुने हो कि भन्ने आशंका उत्पन्न भए पनि अब शान्तिपूर्ण राजनीतिको विकल्प नभएको प्रचण्डले बताए। उनले भने, ‘आजको बन्दमा पनि कहिँकतै तर्साउने वस्तु, सिलिन्डर भेटिएको भनेर सुनेँ, तर यो पार लाग्ने बाटो होइन।’
शान्ति प्रक्रियामा आएपछिका दुई वर्ष विप्लव र आफू सँगै बसेको सुनाउँदै प्रचण्डले विप्लव बिस्तारै शान्ति प्रक्रिया सही रहेछ भन्ने निष्कर्षमा पुग्न लागेको आफूलाई भान भएको बताए।
विप्लवलाई लिएर प्रचण्डले भनेको कुराको सम्पादित अंश:
कता-कता फेरि राजनीतिक स्थिरता, शान्ति र समृद्धिको यात्रा बिथोलिने हो कि भन्ने चिन्ता लाग्न थालेको छ। आज पनि बन्द थियो। कतै बम पड्किए भन्ने त सुनेको छैन। केही नक्कली बम भेटिए, प्रेसर कुकर र सिलिन्डर भेटिए भन्ने सुनेको छु। जनधनको क्षति भएको भन्ने सुन्नमा आएको छैन।
यो पार लाग्ने कुरा होइन।
विप्लवलाई असाध्यै नजिकबाट चिन्ने मान्छेमध्ये म पनि एक हो। शान्ति प्रक्रियामा आएपछि दुई वर्ष उहाँ मेरो कार्यालयको सचिव बनेकाले म राम्रोसँग चिन्छु। अहिले घटनाक्रम जसरी गएको छ त्यसले मलाई के विश्वास छ भने उहाँहरूलाई पनि बिस्तारै एउटा नयाँ सोचतिर जान प्रेरित गरेको छ। ढिलो या छिटो उहाँहरू आउनुहुन्छ। जसरी साथीहरू फर्किराख्नु भएको छ विप्लवजी पनि आउनुहुन्छ।
नेतृत्वका हिसाबले मप्रति उहाँको घृणा छैन। हामी सँगै हुँदाखेरि एउटै कमिटीमा हुँदा शान्ति प्रक्रियामा आएपछिका घटना सम्झिन्छु। शान्ति प्रक्रियामा त मैले लिएर आए। १२ बुँदे हुँदै संविधानसभा निर्वाचनपछि पार्टी एकीकृत नै रहका बेला विप्लवले भनेको कुरा सम्झिन्छु। उनी केन्द्रीय कमिटीमा नै हुनुहुन्थ्यो। त्यति बेला उहाँले एउटा मिटिङमा मेरो दिमाग पनि खलबलिने गरी भन्नुभयो कि 'कमरेड, तपाईंले काठमाडौं त हामीहरूलाई लिएर आउनुभयो तर मलाई चाहिँ अनुभूति के भयो भने नुवाकोटको एउटा तामाङकी छोरीलाई काठमाडौं ल्याएर विवाह गर्छु भनेर बम्बई पुर्याएजस्तो फिल भयो।'
यो चिज उहाँले बुझ्नुभएको थियो होला, मैले कसैलाई बम्बई लगेको छैन। अब बुझ्नुभएको छ होला। अब केही गर्नुहुन्न होला। केही गर्नुहुन्न भन्ने लाग्छ। अब धेरै गर्नुहुन्न। बम्बई लगेको रहेनछ प्रचण्डले हामी सबैलाई काठमाडौं र नेपालमा नै विवाह गराउनका लागि लगेको रहेछ भन्ने बुझ्न थाल्नुभएको छ। मैले पाएको पछिल्लो जानकारी अनुसार पछिल्लो समय बुझ्न थाल्नुभएको छ।
छिट्टै यो समस्याको समाधान हुन्छ र हुनुपर्छ भन्ने मलाई लाग्छ।
भिडियोः
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।