अर्थ

यस्तो छ सुनसरीका स्थानीय तहको बजेट

असार १०, २०७६

    सुनसरी : इटहरी उपमहानगरको पाँचौ नगरसभामा आर्थिक वर्ष २०७६/२०७७ का लागि १ अर्ब ८५ करोड ५० लाखको वजेट प्रस्तुत गरिएको छ।

    उपप्रमुख लक्ष्मी गौतमले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ७९ करोड ४ लाख ५५ हजार, पूँजीगततर्फ १ अर्ब ५ करोड, ७५ लाख ५४ हजार र वित्तीय व्यवस्थातर्फ ७० लाख रहने अनुमान गरिएको छ।

    बजेटमा भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि, उद्योग ब्यापार, पर्यटन, खेलुकद र सामाजिक विकासमा प्राथमिकता रहेको छ। चालु आर्थिक वर्षमा ७ सय योजना सडक निर्माणको भएकोमा आगामी आर्थिक वर्षसमेत वडास्तरीय र नगरस्तरीय सडक निर्माणमा जोड दिइएको छ। बाह्य चक्रपथ निर्माण प्रक्रिया थालिने भएको छ।

     नगर यातायात गुरु योजना अनुरुप सडक निर्माण गरिने छ। सडकको गुणस्तर मापन गर्न गुणस्तर मापन ल्याव स्थापना गरिने छ। नीजि क्षेत्रको साझेदारीमा आधुनिक कृषि वजार स्थापना गरिने भएको छ। कृषि तथा पशुपंक्षी विकास कार्यक्रमका लागि २ करोड विनियोजन गरिएको छ।

    महिलाको उद्यमशिलताको विकासका लागि उद्यमशील विकास कोष स्थापना गरिने भएको छ। घरेलु औद्योगिक ग्राम स्थापनाका लागि ५० लाख विनियोजन गरिएको छ। इटहरी ९ को जनता क्रिकेटपार्क निर्माण सम्पन्न गर्न ५० लाख रकम छुट्याइएको छ। वडा नम्वर ५ मा काब्य वाटिका सिटीपार्क निर्माण सम्पन्न गर्ने र सवै वडामा एक एक वाल उद्यान निर्माण गरिने भएको छ।

    इटहरी अस्पतालमा २४ घण्टा सेवा प्रदान गर्ने ब्यवस्था मिलाइने भएको छ। उपप्रमुखसँग सुत्केरी भेट अभियान चलाइने भएको छ। सुत्केरी महिलालाई अस्पतालमा सुत्केरी गराउन आउँदा निःशुल्क एम्वुलेन्स सेवा संचालन गरिने बताइएको छ। खाद्य प्रयोगशाला स्थापना गर्न आवश्यक व्यवस्था मिलाइने बजेटमा उल्लेख छ। सरोकारवाला संस्थासँग समन्वय गरि इटहरी उपमहानगरवासीको मोतिया विन्दुको निःशुल्क शल्यक्रिया गरिने भएको छ। इटहरीका सवै सामुदायिक विद्यालयमा सिसि क्यामरा जडान गरि उपमहानगरवाटै निरीक्षण गर्ने व्यवस्था गरिने भएको छ। अहिले १६ वटा विद्यालयमा यो कार्यक्रम लागू छ। शिक्षा क्षेत्रको विकासमा १ करोड ४५ लाख विनियोजन गरिएको छ।

    खोला तथा ड्रेन सफाई कार्यक्रमका लागि ५० लाख छुटयाइएको छ। बजारको मुख्य भागमा सार्वजनिक शौचालय निर्माण गर्न ७२ लाख छुट्याइएको छ। हिंसापीडित महिलाका लागि सुरक्षित आवास गृह आगामी वर्षमा निर्माण गरिने भएको छ। सबै वडामा हिंसा आत्मरक्षा तालिम संचालन गरि प्रतिरक्षा समूह गठन गरिने भएको छ।

    खेलमैदान निर्माण र खेदकुद विकासका लागि १ करोड १० लाख विनियोजन गरिएको छ। वहुजातीय ग्राम निर्माण सुरु गरि तीन वर्षमा सम्पन्न गरिने भएको छ। भ्रष्टाचारमा शून्य सहनशिलताको नीति लिइएको छ।

    मेयरको संयोजकत्वमा सुशासन प्रवर्द्धन तथा उपमेयरको संयोजकत्वमा सुशासन अनुगमन समिति गठन गरिने छ। इटहरीमा पत्रकार महासंघको सहकार्यमा सञ्चारग्राम निर्माण कार्य प्रारम्भ गरिने,स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिइने,पत्रकारिता विकास कार्यक्रम सञ्चालन गरिने, पत्रकार सम्मान कार्यक्रम गरिने बजेटमा उल्लेख छ।

    धरान उपमहानगरको १ अर्ब ७८ करोड

    धरान उपमहानगरपालिकाले करिब एक अर्ब ७८ करोड रुपैयाँ बराबरको बजेट सिलिङ प्रस्तुत गरेको छ। जसमा १४ वटा गौरबको आयोजनामा १५ करोड बजेट विनियोजन गरेको छ। उपमहानगरकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुवेदीले १ अर्ब ७७ करोड ९१ लख रुपैयाँ बराबरको अनुमानित आय प्रस्तुत गरेकी हुन्।

    आन्तरिक आय तर्फ ३२ करोड २७ लाख ५ हजार रुपैयाँ, संघीय सरकारबाट संघीय समानीकरण अनुदान ३१ करोड ९४ लाख रुपैयाँ रहेको बजेट सिलिङ प्रस्तुत गरिएको हो। त्यस्तै प्रदेश समानीकरण अनुदान ९८ लाख ६८ हजार रुपैयाँ, संघीय सशर्त अनुदान ३४ करोड ८५ लाख र प्रदेश सशर्त अनुदान २ करोड रुपैयाँको अनुमान बजेट सार्वजनिक भएको छ।

    त्यस्तै संघीय समपुरक अनुदानमा १ करोड विशेष अनुदानमा १ करोड, प्रदेश समपूरक अनुदानमा ५० लाख रुपैयाँ बजेट आउने अनुमान गरिएको छ। त्यस्तै सडक बोर्ड मार्फत् १ करोड २० लाख, एकीकृत शहरी विकास आयोजनाबाट २० करोड, जनसहभागिता मार्फत् २ करोड ५० लाख, नगर विकास कोषबाट १ करोड बजेट आय हुने अनुमान गरिएको छ। धरानले कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिक पूर्वाधारमा सबैभन्दा बढी बजेट विनियोजन गरेको कार्यबाहक मेयर सुवेदीले बताइन्।

    प्रतिपक्षीको बहिस्कारले इनरुवाको नगरसभा रोकियो

    इनरुवा नगरपालिकाको कार्यालयले मंगलबार डाकेको नगरसभा प्रतिपक्षीको बहिस्कारका कारण रोकिएको छ। नगरसभाको बिषयमा कार्यपालिका सदस्य लगायतका अन्य निर्वाचित जनप्रतिनिधिलाई अग्रिम जानकारी नगराइएको भन्दै मंगलबारका लागि तय भएको नगरसभा रोकिएको हो।

    नेकपा इनरुवा नगर संसदीय दलले पत्रकार सम्मेलन गरी इनरुवा नगरपालिकाले आव्हान गरेको नगरसभा बहिस्कारको निर्णय गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै वडाध्यक्ष तथा संसदीय दलका नेता कालुराम गुरुङले नगर प्रमुख र कार्यकारी अधिकृतले एकलौटी पाराले नगरसभा सञ्चालन गर्न खोजेको आरोप लगाए।

    कार्यपालिका सदस्यलाई जानकारी नभएको, स्वयं वडाध्यक्षहरुलाई समेत अन्तिम समयमा जानकारी गराइएको र सरासरी आफूखुशी निर्णय लाद्ने प्रयास भएको महसुस गरी नगरसभा बहिस्कारको निर्णयमा पुगेको गुरुङले बताए।

    पत्रकार सम्मेलनमा उपस्थित नेकपा तर्फका निर्वाचित अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले इनरुवा नगरपालिकाको हकमा बजेटमा व्यापक अनियमितताको आरोपसमेत लगाए। नगरसभाका नाममा कार्यक्रम उद्घाटन गरी कार्यक्रम सार्ने र अन्तिम समयमा आफूखुशी निर्णय लाद्ने मेयरको प्रवृतिलाई समर्थन गर्न नसकिने उनीहरुको भनाई थियो। पत्रकार सम्मेलनमार्फत उनीहरुले नगरको हिसाबकिताब पार्दशीताको माग समेत गरेका छन्।

    उता नगर प्रमुख राजन मेहताले पूर्वनिर्धारित तालिका र निर्णय बमोजिम नगरसभा डाकिएकाले कार्यक्रम बहिस्कार गरिनुलाई व्यक्तिगत स्वार्थपरक राजनीतिको संज्ञा दिएका छन्। मेहताले कमी कमजोरी भएको भए वार्तामा बस्न तयार रहेको बताए। उनले असन्तुष्टिका विषय सम्बोधनपश्चात सर्वपक्षीय सहमति जुटाई नगरसभाको मिति तय गरिने बताए।

    भोक्राहा नरसिंहको प्राथमिकता बालबिवाह र दाइजो प्रथा न्यूनीकरण

    यस्तै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले शिक्षा,स्वास्थ्य सँगै बालबिवाह र दाइजो प्रथा न्यूनीकरण जस्ता विषयलाई प्राथमिकतामा राख्दै छैठौं गाउँसभा सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले आगामी आर्थिक वर्षमा काम बढी कुरा कमको अवधारणामा केन्द्रित रही जनअपेक्षा अनुरुपका कामलाई प्राथमिकता साथ संचालनमा ल्याइने बताए। भोक्राहा नरसिंह गाउँपालिकाले आ.व. ०७६/०७७ कालागि ३७ करोड १३ लाख ९६ हजार अनुमानित बजेट पेश गरेको छ।

    कोशी गाउँपालिकाले वर्षमा दुई पटक सामूहिक विवाह गराउने

    त्यसैगरी, कोशी गाउँपालिकाको गाउँसभाले पर्याप्त पूर्वाधार गाउँमै रोजगार, कृषि र पर्यटन समृद्धिको आधार भन्ने नारा साथ आगामी आ.व.का लागि ४६ करोड ४५ लाख २७ हजार बराबरको अनुमानित बजेट तय गरेको छ। गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीका अनुसार गाउँपालिकाले वर्षको २ पटक सामूहिक विवाहको आयोजना गर्ने छ। जसमा गरिब, विपन्न र अल्पसंख्यक समूदायहरुको हकमा सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोरेर विवाह गरिदिने छ।

    गढी गाउँपालिकाको प्राथमिकता पूर्वाधार विकास

    त्यसैगरी गढी गाउँपालिकाले आगामी आ.व.कालागि ४० करोड १३ लाख १४ हजार अनुमानित बजेट विनियोजन गरेको जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईका अनुसार गाउँपालिकाको कार्यालयले स्वास्थ्य, शिक्षा, खानेपानी, पूर्वाधार विकाससहित जनअपेक्षा अनुरुपका प्राथमिकताका विषयलाई बजेटमा समावेश गरिएको छ।

    देवानगंज गाउँपालिकामा भने स्वयं अध्यक्षको असन्तुष्टिपश्चात गाउँसभा स्थगित भएको छ। वडाध्यक्षहरुले आफू पायक बजेट बनाएको प्रति असन्तुष्टि जनाउँदै अध्यक्ष लालीप्रसाद मेहताले नोट अफ डिसेन्ट लेखेपछि असारको १५ गते बैठक डाक्ने निर्णय गरिएको छ। हरिनगर गाउँपालिका भने जनप्रतिनिधिको उपस्थितिमा सभा उद्घाटन मात्र गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]