समाज

सुदूरपश्चिमका सांसदलाई २७ लाखको ल्यापटप!

एउटा बढी भएपछि कसले लिने भन्नेमा तनाव

असार ११, २०७६

    धनगढी : सुदूरपश्चिम प्रदेशसभा सचिवालयले सांसदहरूलाई ल्यापटप वितरण गर्ने भएको छ। यही असार मसान्तभित्रै प्रदेशसभा सदस्य प्रत्येकले ६० हजार रुपैयाँभन्दा बढी मूल्यका ल्यापटप पाउने भएका छन्।

    चालू आर्थिक वर्षकै बजेटमा रहेको योजना आर्थिक वर्षको अन्त्यमा कार्यान्वयन गर्न लागिएको हो। ल्यापटप खरिदको अन्तिम चरणमा पुगेको सचिवालयका एक कर्मचारीले बताए। ‘सबै काम अन्तिम चरणमा पुगेको छ ’उनले भने ‘असार २०\२२ मै सांसदहरूले ल्यापटप पाउँछन् होला।’

    प्रदेशसभा सचिवालयले ४६ वटा ल्यापटपका लागि वैशाख ३१ गते राष्ट्रिय पत्रिकामा टेन्डर प्रकाशित गरेको  थियो। २७ लाख ८३ हजारको ल्यापटपका लागि धनगढीका तीन व्यवसायीले टेन्डर हालेका थिए। उग्रतारा टेक्निकल गुड सप्लायर्स, एस कम्प्युटर सप्लायर्स, कम्पोजर ट्रेड लिंक एन्ड जनरल अडर सप्लायर्सले टेन्डर हालेको सचिवालयले जनाएको छ। 

    यीमध्ये उग्रतारा टेक्निकल गुड सप्लार्यको टेन्डर स्वीकृत भएको एक कर्मचारीले बताए। ‘न्यूनतम मूल्य ६० हजार पाँच सय आह्वान गरिएकोमा त्यो भन्दा कमको उग्रताराको मात्रै हो’ उनले भने ‘आन्तरिक रूपमा त्यही स्वीकृत भइसकेको छ।’

    उग्रतारा टेक्निकल गुड सप्लार्यकोले ६० हजार तीन सयमा ल्यापटप उपलब्ध गराउने भन्दै टेन्डर हालेको उनले बताए। वैशाख ३१ गते टेन्डर आह्वान गरिएको थियो। जेठ ३० गते भित्र तीन वटा व्यवसायिक फर्मबाट दरभाउ आएको थियो। जेठ ३१ गते मूल्यांकन समितिले टेन्डर खोलेको थियो। ‘मूल्यांकन समितिबाट सबै काम भइसकेको छ’ सचिवालय स्रोतले भन्यो, ‘अब प्राविधिक मूल्यांकन समितिको प्रतिवेदन आउन मात्रै बाँकी छ।’

    उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कम्प्युटर इन्जिजियर सञ्जय टमटा नभएका कारण अहिले काम रोकिएको छ। टेन्डर खुलेको १५ दिन भित्र प्राविधिक मूल्यांकन समितिको प्रतिवेदन आउनपर्छ। त्यसपछि सात दिनको आशयको सूचना आवश्यक पर्छ। टमटा हाजिर भए लगत्तै मूल्याङ्कन समितिको प्रतिवेदन आउने र सात दिने आशयको सूचना जारी गर्ने तयारीमा प्रदेश सभा सचिवालय लागि रहेको छ।

    आशयपत्रमा कुनै उजुरी नपरे त्यसको १५ दिन भित्रमा टेन्डर स्वीकृत भएको फर्मलाई सम्झौताका लागि बोलाइने प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सभा सचिवालयको तयारी अनुसार मध्य असार पछि प्रदेश सभा सदस्यहरूले ल्यापटप पाउने छन्।

    एउटा ल्यापटपका लागि 'लबिङ'

    आर्थिक मामिला तथा योजना मन्त्रालयले ४६ प्रदेशसभा सदस्यहरूका लागि ल्यापटप किन्न रकम उपलब्ध गराएको थियो। तत्कालीन अवस्थामा सुदूरपश्चिम प्रदेशमा मन्त्रीबाहेक सभामुख र उपसभामुख गरी ४६ जना प्रदेशसभा सदस्य रहेका थिए। 

    मुख्यमन्त्रीसहित सात मन्त्री रहेका थिए। मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभा सदस्य प्रकाश रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरेपछि अहिले प्रदेश सभामा ४५ जना प्रदेशसभा सदस्य रहेका छन्। प्रदेश सभा सचिवालयले भने ४६ वटा ल्यापटपका लागि टेन्डर आह्वान गरेको थियो।

    सोही अनुसार टेन्डर स्वीकृत भएको छ। यस्तो अवस्थामा एउटा ल्यापटप बाँकी रहने देखिएको छ। बाँकी रहेको एउटा ल्यापटप हात पार्न विभिन्न व्यक्तिबाट लबिङ सुरु भएको बताइएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक तारालामा तामाङ पनि ‘लबिङ’मा रहेको स्रोतले बताएको छ।

    ‘संसदीय दलका लागि पनि एउटा ल्यापटप चाहियो भन्नु भएको छ’ सचिवालय स्रोतले भन्यो ‘बाँकी रहेको एउटा ल्यापटप लागि उहाँको जोड छ।’ प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामी भने यस विषयमा आफूलाई धेरै जानकारी नरहेको बताउँछन्।

    विभाजित सांसद

    प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यहरूलाई महँगो ल्यापटप उपलब्ध गराउने भएपछि यसमा प्रदेश सभा सदस्यहरू विभाजित भएका छन्। कोही ल्यापटप लिनुपर्ने बताउँछन् भने कोही लिन नहुने बताउँछन्। 

    प्रदेश सभा सदस्य पूर्णा जोशी सांसदहरूलाई सीपयुक्त बनाउनु सकारात्मक भए पनि फजुल खर्च गर्नु उपयुक्त नरहेको बताउँछिन्। ‘केहीलाई यो आवश्यक्त परेको होला तर मलाई आवश्यक्ता छैन’ उनले भनिन्,‘मेरो पनि ल्यापटप छ। मेरो स्वकीय सचिवको पनि छ। मलाई ल्यापटप चाहिँदैन।’

    प्रदेश सभा सदस्यहरूलाई विलासी बनाउन नहुने अधिकांश सांसदहरूको धारणा छ। ल्यापटप दिनुभन्दा पहिले यसको ज्ञान दिनुपर्ने केही प्रदेश सभा सदस्यहरूको भनाइ छ। ‘कति सांसदहरूलाई त यो चलाउन पनि आउँदैन’ एक जना प्रदेश सभा सदस्यले भने, ‘यस्तो विलासी चिजमा बढी खर्च गर्नु उपयुक्त होइन।’ उनले यो बजेटले विकास निर्माणमा लगाउनु पर्ने बताए। 

    सत्तारुढ दलकै अर्का प्रदेश सभा सदस्य महेशदत्त जोशी भने राज्यबाट पाउने सेवा सुविधा सहज रूपमा ग्रहण गर्नुपर्ने बताउँछन्। ‘राज्यले सबै हेरेर सेवा सुविधा दिएको हुन्छ’ उनले भने, ‘लिए सबै लिनुपर्‍यो नलिने भए त तलब भत्ता पनि नलिए हुन्छ नि!’

    प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरू पनि यस विषयमा सहमत नभएको बताउँछन्। लेखा समितिका सभापति समेत रहेका नेपाली कांग्रेसका प्रदेश सभा सदस्य कुमारी नन्दा बम प्रदेश सभा सदस्यहरूलाई यस्ता सानातिना कुरा बढेर अल्झनमा पर्न नहुने बताउँछिन्। 

    ‘विषयगत समितिका कार्यालयहरू अस्तव्यस्त छन्, कर्मचारी छैनन्। यस्तोमा ध्यान दिनुपर्नेमा ल्यापटप बाँड्ने मोबाइल बाँड्ने यो गतिलो कुरा होइन’ उनले भनिन्। उनले आफ्नो कार्यालयमा आधारभूत कुराहरू पनि नभएको गुनासो गरिन्। ‘मेरो कार्यालयमा फोटोकपी मेसिन पनि छैन। मलाई ल्यापटप भन्दा त्यो चाहिएको छ। चाहिने कुरा भन्दा नचाहिने कुरा बाँडेर प्रदेशसभा बसिरहेको छ’, उनले आक्रोश व्यक्त गरिन्।

    अधिकांश प्रदेश सभा सदस्यहरू प्रदेशसभा सचिवालयले ल्यापटप वितरण गर्दैछ भन्नेबारे भने अनभिज्ञ छन्।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]