राजनीति

केही नेताले 'चमडी' जोगाउन खोजे, विप्लवसँग अब वार्ता हुँदैन : प्रधानमन्त्री

'बहस गर्ने ल्याकत नभएर कांग्रेस संसद अवरोधमा उत्रियो'

असार ११, २०७६

    काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताको सम्भावना नरहेको बताएका छन्।

    पछिल्लो समय नेकपाका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेताले विप्लवसँग वार्ता भइरहेको संकेतसहितका अभिव्यक्ति दिएका बेला प्रधानमन्त्रीले ती कुरा ‘व्यक्तिगत’ भएको बताएका हुन्।

    नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा बुधबार साँझ बोल्दै प्रधानमन्त्रीले विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका क्रियाकलाप ‘विकास र देश विरोधी’ भएकाले वार्ताको सम्भावना नरहेको बताएका हुन्।

    मुलुकका सबै समस्या वार्ताबाट समाधान गर्ने सरकारको नीति भए पनि वार्तामा बोलाउँदा ‘गालीगलौज र ठुला’ कुरा भएकाले विप्लवसँग वार्ताको सम्भावना नरहेको प्रधानमन्त्रीले बताएका हुन्।

    प्रधानमन्त्री ओलीले भने, ‘पार्टीले पनि भनेको छ, मानेको (विप्लवका गतिविधि आतंककारी) छ। डरका कारणले चमडी जोगाउन कोही वार्ता भन्दैछन्। सरकारले वार्ता नगरेको हो र? वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्छ भन्ने सरकारको मुख्य नीति नै हो। वार्तामा बोलाउँदा गालीगलौज हुन्छ, ठुला कुरा हुन्छन्।‘

    पछिल्लो समय विप्लवका नेताहरूलाई पक्राउ गर्ने र मुठभेडमा मार्ने क्रम बढेका बेला प्रधानमन्त्रीले भने, ‘शान्ति सुरक्षा कायम गर्ने सरकारको नीति हो। काम हो। कसले के बोल्यो भन्ने अर्थ राख्दैन । (विप्लवका गतिविधि आतंककारी हुन् भन्नेमा तथा सुरक्षा व्यवस्था कायम गर्नेमा) नेकपा एकजुट छ र सरकार दृढ छ। कसैले व्यक्तिगत तवरमा कसैले केही भन्यो भने के बाध्यताले भन्यो या के कारणले भन्यो के स्वार्थले भन्यो त्यो उसको कुरा होला।’

    व्यक्तिले भन्ने कुरा पार्टीका र सरकारका नहुने प्रधानमन्त्रीको भनाइ थियो। उनले सरकारले आतंककारी र विध्वंसात्मक गतिविधिलाई मान्यता नदिने बताए। विप्लवका गतिविधि सरकारले अस्वीकार गर्ने र नसहने उनले बताए। विप्लवमाथि लगाएको प्रतिबन्धको विरोध गर्नेहरूलाई प्रधानमन्त्रीले भने, ‘त्यो प्रतिबन्ध चित्त नबुझ्नेले भन्नुपर्‍यो लुट्न, मान्छे मार्न, जन्तीका बसमा आगो लगाउन, सभामा बम पड्काएर मान्छे मार्न पाउनुपर्छ।’

    मंगलबार विप्लवको प्रतिबन्धित नेकपाले ‘नेपाल बन्द’ आयोजना गरेको थियो। उक्त बन्दमा मुलुकका विभिन्न भागमा नक्कली बम राखेर आतंक सिर्जना गरिएको थियो। विद्यालय बन्द भएका थिए।

    यसबारेमा प्रधानमन्त्री ओलीको प्रतिक्रिया थियो, ‘पटक पटकको बन्द हडताल, शैक्षिक संस्थान बन्दले पठनपाठन, अर्थतन्त्रमा प्रभाव परेको छ। बन्द अनावश्यक, अनुचित र हानिकारक कुरा हो। लोकतन्त्र आएको छ। जनता सार्वभौमसत्ता सम्पन्न हुन पाएको छ। जनतामा गएर निर्वाचित भएर आफ्ना कार्यक्रम लागू गर्न पाइन्छ। जनता सार्वभौमसत्ता सम्पन्न भइसकेपछि त्योभन्दा माथिल्लो व्यवस्था कुनै पनि हुँदैन। क्रान्तिका नाउँमा, परिवर्तनका नाउँका कुनै पनि कुरा भनेका जनता अलमल्याउने र आफ्नो दुनो सोझ्याउने कुरा हुन्।’

    यस्ता गतिविधिप्रति प्रधानमन्त्रीले आक्रोशको भावमा भने, ‘यो गरेर नेपाललाई, राष्ट्रलाई र जनतालाई नाफा केही हुने होइन। औचित्यहीन छ। नगरी नहुने केही परेकै छैन। यो हानिकारक छ। पर्यटन, उद्योग, वैदेशिक लगानी आउनेमा प्रभाव परेको छ। नबुझेर गरेको हो भने रोक्नुपर्‍यो। जानिबुझी गरेको हो भने देशका विरुद्ध अपराध हो। विकास विरुद्ध अपराध हो।’

    ‘कति बेला कहाँ कुन आतंककारी क्रियाकलाप हुने हो भन्ने थाहा हुँदैन’, विप्लव नेतृत्वले गरेको क्रियाकलापबारे प्रधानमन्त्रीको भनाइ थियो, ‘चन्दाका लागि आतंक उचित हुँदैन। यस्तो कार्यमा जनताको कहिले पनि साथ हुँदैन। उहाँले रोक्नुपर्छ। उहाँले रोक्नुहुन्न भने सरकारले कानुनबमोजिम सरकारले रोक्छ।’

    मन्त्रिपरिषद् पुनर्गठनको सोच छैन

    मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलिरहेको छ, तयारी के भइरहेको छ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘मन्त्रिमण्डल भनेको पुनर्गठन गर्दा हुनसक्ने चिज हो। तर, अहिले पुनर्गठनसम्बन्धी कुनै सोच मैले बनाएको छैन।’

    प्रधानमन्त्री ओली पछिल्लो समय मन्त्रिपरिषद् पुनर्गठन तयारीमा रहेको समाचार सार्वजनिक भएका थिए। केही मन्त्रीहरूले परिणाम दिन नसकेकाले परिवर्तन गर्ने खोजेको र पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय पनि आफैँले सम्हालिरहेको अवस्थामा नयाँ सदस्यलाई मन्त्रिपरिषदमा नियुक्त गर्ने तयारी भएको बताइएको थियो।

    सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन पहिले पोखरा भ्रमणका क्रममा प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन तयारी गरेको जानकारी दिएका थिए।

    कांग्रेस गणतन्त्र विरोधी

    प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आलोचना गरेका छन्। उनले लोकतान्त्रिक भनिने पार्टीका नेतालाई गुठी विधेयक मन नपरेको बताउँदै बहस गर्ने ठाउँ या ल्याकत नभएर कांग्रेस संसद अवरोधमा उत्रिएको आरोप लगाए।

    ‘झुटो प्रचार गरेर कांग्रेसले जनतालाई भिडाउन खोज्यो, अशान्ति मच्चाउन खोज्यो’, प्रधानमन्त्रीले भने, ‘नाम गुठी विधेयक तर भ्रम अनेक बाँडियो। असन्तुष्टिसँग मिसिएर अचम्मका तत्त्व आए, घुसपैठ गरे। गणतन्त्रलाई असफल बनाउने दुष्प्रयास भए।’

    नेपाली टेलिभिजन क्षेत्रमा क्लिन फिड लागू भएर छाड्ने ओलीले बताए। उनले केबुल अपरेटरले सेवा बन्द गरेको पृष्ठभूमिमा राष्ट्रिय गौरव, स्वाभिमान र राष्ट्रिय हित हेरेर सरकारले कदम चालेको जानकारी दिए।

    अब कुनै हालतमा नेपालमा लोकतन्त्र नखोसिने ओलीले बताए। ‘जनताको नेतृत्व नेकपाले गरेको छ’, उनले भने, ‘अनि जनपक्षीय सरकार छ। लोकतन्त्रविरुद्धको षडयन्लाई सरकारले सफल हुन दिँदैन।’

    भिडियो

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]