राजनीति

मध्यपुर थिमीको नगरसभा अनिश्चित

फाइल फोटो
असार १२, २०७६

    भक्तपुर : राजनीतिक असमझदारीका कारण मध्यपुर थिमी नगरपालिकाको नगरसभा बैठक अनिश्चित बनेको छ। तत्कालीन नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख मदनसुन्दर श्रेष्ठ र उपप्रमुखसहित बहुमत सदस्य जितेको नेपाली कांग्रेसका जनप्रतिनिधिहरूबीचको असमझदारीले मध्यपुर थिमी नगरपालिकाको नगरसभा बैठक अनिश्चित बनेको हो।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ को उपदफा ३ मा ‘स्थानीय तहले प्रत्येक असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व तथा व्यय सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्ने छ’ भन्ने व्यवस्था छ। त्यसैगरी सोही ऐनको दफा २७ मा ‘नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले सञ्चित कोषमा व्ययभार हुने रकम बाहेकका अन्य रकम आफ्नो बजेटमा व्यवस्था गरी सम्बन्धीत व्यवस्थापिकाबाट त्यस्तो बजेट स्वीकृत भएपछि मात्र खर्च गर्नुपर्ने छ’ भन्ने कानुनी व्यवस्था रहेको छ। 

    असार मसान्तभित्र नीति तथा कार्यक्रम र बजेट नगरसभाबाट पारित नभए साउन १ गतेदेखि कर संकलन तथा खर्चमा कानुनी अड्चन आउन सक्छ। तर मध्यपुर थिमीमा वडा वडामा योजना संकलनको काम बाहेक नगरसभाको अन्य तयारी शून्य रहेको छ। 

    जिल्लाका अन्य तीन स्थानीय निकाय सूर्यविनायक, चाँगुनारायण र भक्तपुर नगरपालिकाले भने तोकिएको मिति असार १० गते नै आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेको छ।

    नगरसभाको आन्तरिक तयारी भइरहेपनि कहिले गर्ने भन्नेमा अन्योल रहेको नगरपालिकाका प्रवक्ता एव‌ं वडा नं. २ का अध्यक्ष राम थापामगरले बताए। वडावडामा योजना संकलनको काम भइरहेको उनले जानकारी दिए। थापामगरले भने ‘हामीले विशेष नगरसभाको पनि माग गरेका छौं। नगरप्रमुखसँग त्यो विषयमा पनि छलफल भइरहेको छ। मितिमा समस्या नभएपनि जेण्डामा सहमति नहुँदा नगरसभा कहिले गर्ने भन्ने अन्योल नै छ।’

    उपप्रमुख मधिकर्मीसहित नेपाली कांग्रेसबाट निर्वाचित ३५ जना जनप्रतिनिधिहरुले गत जेठ १६ नगरका विभिन्न ५ वटा विषयमा छलफल गर्न आवश्यक भएको भन्दै विशेष नगरसभा बोलाउन माग गरेका थिए। सो सम्बन्धमा जेठ २० गते दबाबपूर्ण धर्ना दिएपछि नगरप्रमुख श्रेष्ठले विशेष नगरसभा बस्ने मागपत्र दर्ता गरेका थिए।

    सो मागपत्रमा करको दर समसामयिक बनाई पुनरावलोकन गर्ने, भौतिक पूर्वाधार विकासको (मापदण्ड) संशोधन गर्ने, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा १६ को उपदफा ‘क’ मा भएका नगरप्रमुखको काम, कर्तव्य र अधिकार भन्दा बाहिर गएर नगरप्रमुख  श्रेष्ठले गरेको आर्थिक कारोबार, तोक, आदेश र टिप्पणीका आधारमा फाइल उठाई सञ्चालन गरेका योजनाको स्वीकृति सम्बन्धमा नगरसभाबाट छानविन गरी प्रतिवेदन पेश गर्ने, प्रचलित ऐन नियम र अन्य कानुन विपरीत नगरप्रमुख श्रेष्ठले कमेरोटार जग्गा एकीकरण आयोजनामा आयोजना प्रमुख नियुक्त गरेको सम्बन्धमा र मध्यपुर थिमी नगरपालिकाका लागि आवश्यक ऐन नियम र कानुन निर्माण सम्बन्धमा आवश्यक छलफल गर्नुपर्ने उल्लेख छ।

    सोही मागका सम्बन्धमा नेपाली कांग्रेस मध्यपुर थिमी नगरसमितिले पनि जेठ २३ गते नगरप्रमुख श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका थिए। सोही दिन नगरप्रमुखको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पनि ज्ञापनपत्र बुझाउँदैं कर संशोधनको माग गरेको थियो। 

    नगरप्रमुख श्रेष्ठले विशेष नगरसभाको माग भएको अवस्थामा पहिला विशेष नगरसभा बस्ने तयारी भइरहेको जानकारी दिए। उनले भने, ‘विशेष नगरसभा माग भएको अवस्थामा पहिला कानुनी र राजनीतिकरूपमा त्यसको निराकरण गरिनेछ। त्यसपछि नियमित नगरसभा असार मसान्तभित्र सक्ने तयारी छ।’

    मध्यपुर थिमीमा नगरप्रमुख र उपप्रमुखको समूहबीचको असमझदारी कै कारण  नगरकार्यपालिका बैठक समेत विगत पाँच महिना यता बस्न सकेको छैन। बैठक बस्न नसक्दा नगरको विकास निर्माणलगायतका काम प्रभावित बनेको छ। विशेषगरी केही वस्तुको दरभाउ नहुँदा उपभोक्ता समिति मार्फत भए गरेका विकास निर्माण लगायतका कार्यको भुक्तानीमा समस्या आएको नगरपालिका स्रोतले जनाएको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]