काठमाडौं : बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका ...
दार्चुला : महाकाली नगरपालिका ३ जाखका ७५ वर्षीय बिरभान महरा र ७० वर्षीया द्रोपती महराको ज्यानै लिने गरी भएको घटनाको एक महिना पुरा भएको छ।बृद्ध दम्पत्तिको हत्या र नाति लोकेश महरालाई घाइते बनाउने गरी भएको घटनाका दोषी भने अझै फेला पर्न सकेका छैनन्।
घटनाको एक महिना बिते पनि प्रहरी अपराधिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ। घटनाको अनुसन्धान गर्न डेढ दर्जन व्यक्तिलाई सोधपुछ गरी निगरानीमा राखिएकोप्रहरीले जनाएकाे छ। केही व्यक्ति भारततिर गएको देखिएकाले भारतमा समेत उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए।
डिएसपी शाहीले घटना स्थलमा बाँसको चिर्पटबाहेक अन्य कुनै वस्तु फेला नपरेकाे बताए। उनले अनुसन्धानमा समस्या भएकाले सुरुको कोणबाट थालिएको अनुसन्धानले दोषी पत्ता लाग्न नसके अर्को कोणबाट अनुसन्धान थालिने पनि बताए। ‘हामी एक कोणबाट अनुसन्धानमा छौं। शंका गरिएका व्यक्तिहरू दोषी नपाइए अनुसन्धानलाई भिन्न कोणबाट अगाडि बढाइने छ। हामी केही समयभित्रै टुंगोमा पुग्छौं ’ डिएसपी शाहीले भने।
एक महिनासम्म न किरिया खर्च न राहत
घटनाको एक महिना बित्दा पनि पीडित परिवारले न किरिया खर्च पाएका छन् न राहत नै। प्रदेशसभा सदस्य मानबहादुर धामी र प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले घाइते लोकेश महरालाई उपचार गर्न काठमाडाैं लैजान हवाइ जहाज र अस्पतालको खर्च व्योहोरे।
दार्चुलाबाट कैलालीसम्मको खर्च महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले सहयोग गरेको छ। त्यसैगरी प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रशाद बडूले पनि काठमाडाैंमा आर्थिक सहयोग गरेको उनका आफन्त नरसिंह महराले बताए।
‘लोकेशको उपचारमा सबैले सहयोग गरे तर पीडित परिवारलाई किरिया खर्च र राहत कसैले दिएनन्’ मृत बृद्ध दम्पतिका भतिजा नरसिह महराले भने। सडक छेउमा पसल गरेर बसेका बृद्ध दम्पत्तिले तीन नातिनातिनी, एक बुहारी र आफ्नो गुजारा गर्दै थिए।
छोरा शेरसिह महरा कमाउन दिल्ली थिए। संयोग के थियो भने जुन रात बृद्ध दम्पत्तिको हत्या भयो सोही रात उनको छोरा दिल्लीमा केही कमाउन नसकेर घर फर्किने क्रममा उत्तरप्रदेशको टनकपुर पुगेका थिए। आफूले दिल्लीमा बचत गर्न सकिने नोकरी नपाएर फर्किएको र घर खर्च चलाई रहेका बुबा आमाको हत्याले शेरसिह निक्कै बिचल्लीमा परे।
सुरुमा उनलाई भेट्ने सबै जनप्रतिनिधिले सहयोग गर्ने प्रतिबद्धता गरे त अझसम्म कसैले आर्थिक सहयोग गरेका छैनन्। नगरपालिकाले पीडितलाई २५ हजार किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको भए पनि कार्य विधि नबन्दा पीडितलाई उपलब्ध गराउन नसकिएको महाकाली नगरपालिका ३ का अध्यक्ष पदमसिह महराले बताए।
वर्खी छोडेर मजदुरी
आफू दिल्लीमा बचत गर्ने गरी कमाउन नसकेको र घर खर्च चलाउने बुबाआमाको हत्या भएपछि हिन्दु परम्परा अनुसार बुबाआमाको एक वर्ष गरिने बर्खी छोडेर शेरसिह मजदुरी गर्दछन्। सेतो टोटी लगाएर मजदुरी गरिरहेका शेरसिह बुबाआमाको हत्या किन भयो ? कसले,किन गरे? भन्ने बारेका बोल्नै सक्दैनन्। ‘यस्ता कुरा गरे उनी बोल्दैनन्। एकान्तमा गएर रुन्छन् मात्रै’ छिमेकी नरसिह महराले भने।
‘बाध्य भएर बर्खी छोडेर मजदुरी गर्नु परेको छ। वडा कार्यालय र नगरपालिकाले थोरै राहत उपलब्ध गराए राम्रो हुन्थ्यो’ खलंगा–काँटै–दल्लेख सडक खण्ड उपभोक्ता समिति सदस्य समेत रहेका उमेश महरा भन्छन्। शेरसिह महरा अहिले सोही सडक खण्डमा भइरहेको सडक निर्माणको काममा मजदुरी गर्दैछन्।
नातिले देख्यो एक प्रहरी तीनको खोजीमा
घटनाको दोषी पत्ता लगाउने त परै जाओस् प्रहरी उक्त घटनामा एक जना संलग्न थिए कि ३ जना भन्ने मै टुंगोमा पुगेको छैन। खलंगा–काँटै–दल्लेख सडकमा उक्त राति (जेठ ११ गते) ३ जना हिडेको देखिएको छ।
खलंगाको बांगाबडगमा सो राति करिब १० बजेतिर ३ जना उक्त सडकतिर गएको जानकारी स्थानीयले दिएको प्रहरीको भनाई छ। सोही राति महाकाली नगरपालिका २ मैखोलीको एक पसलबाट राति करिब २ बजे ३ जनाले चाउचाउ किनेको पनि बताइएको छ। तर ती ३ जनाको को थिए भन्ने बारेमा कहिँबाट जानकारी प्राप्त नभएको प्रहरीको भनाई छ।
घटना स्थलमा पनि ३ गिलास र एक बोतल भर्जिन (मदिरा) को खाली बोतल प्रहरीले फेला पारेकोबाट प्रहरी उक्त घटनामा ३ जनाको संलग्नता रहेको कोणबाट अनुसन्धान गरिरहेको डिएसपी शाहीले जानकारी दिए।
प्रहरीले ३ जनाको संलग्नता हुन सक्ने बताउँदै आएको भए पनि उक्त घटनामा घाइते भएका महरा दम्पतिका नाति लोकेश महरा भने राति एक जनाले मात्रै हजुरबुबा र हजुरआमालाई कुटेको बताउँछन्। हजुरबुबासँग झगडाको भएको सुनेर बिउझिएको बताउने १२ वर्षीया लोकेश कालो पैन्ट र सर्ट लगाएको अनुहारमा माक्स लगाएको केटाले हजुरबुबापछि हजुरआमालाई कुटेको र आफूलाई पनि कुटेको बताउँछन्।
हजुरआमा हजुरबुबा दुबैलाई कुटेर लछार्दै घरभित्र हुलेर गएको उनी बताउँछन्। आफूलाई पनि उसैले कुटेको र डरले भित्र कुनामा बसेको बताउने लोकेश उक्त केटा गएपछि आफू दुबैको बीचमा कम्मल ओडेर सुतेको बताउँछन्।
लोकेश काठमाडाैंको ट्रमा सेन्टरमा उपचार गराएर घर फर्किका छन्। घटनाबाट बाच्न सफल १२ वर्षीय बालकले एकजनामात्रै आएको बताउने र प्रहरीले ३ जनाको संलग्नता भएको हुनसक्ने बताएपछि घटनामा कति जना संलग्न थिए भन्ने एकीन नै गर्न सकिएको छैन।
अस्थायी प्रहरी चौकीको माग
स्थानीय स्तरमा मदिरा पसलहरू बढ्दै गएको, मदिरा सेवनका कारण होहल्ला बढ्दै गएको र २ जनाको ज्यानसमेत लिने घटना भएको भन्दै स्थानीयले काँटै (महाकाली नगरपालिका ३) क्षेत्रमा प्रहरी चौकी राखिनु पर्ने माग गरेका छन्। खलंगाको प्रहरीचौकी करिब ६ किलोमिटर पश्चिममा छ। पूर्वको प्रहरीचौकी करिब ९ किलोमिटर टाढा छ।
मदिरा पसल र सेवनकर्ता पनि धेरै भएकाले शान्ति सुरक्षा कायम गर्न पनि प्रहरीचौकी आवश्यक रहेको जनमोर्चा नेपालका नेतासमेत रहेका स्थानीय उमेशसिह महरा बताए। स्थानीय सरकारलाई समेत अस्थायी प्रहरीचौकी राख्न निवदेन दिएको स्थानीय नरसिह महराले पनि बताए।
द्वन्द्वकालमा सो क्षेत्रमा प्रहरी चौकी रहेको थियो। तर पछि उक्त प्रहरी चौकीलाई काँटैबाट करिब ९ किलोमिटर पूर्वमा स्थापना गरिएको छ। प्रहरीचौकी टाढा भएका कारण पनि स्थानीय स्तरमा शान्ति सुरक्षा खलबलिएको स्थानीयको बुझाइ छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।