खेलकुद

पेनाल्टी सुटआउटमा ब्राजिलको चम्कियो भाग्य, सेमीफाइनल प्रवेश

असार १३, २०७६

    ब्राजिल संघर्षपूर्ण खेलमा पाराग्वेलाई पराजित गर्दै कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। निर्धारित समय खेल बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा ब्राजिल ४–३ ले विजयी बनेको हो।

    पेनाल्टीमा ब्राजिलका गोलरक्षक एलिसन बेकरले उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिल कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ। पाराग्वेका लागि पहिलो पेनाल्टी प्रहारमा उत्रिएका गुस्ताभो गोमेजको प्रहारलाई ब्राजिलका गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गर्दै ब्राजिललाई राम्रो सुरुवात दिलाए। ब्राजिलका लागि विलियनले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। पाराग्वेका लागि मिगुएल अल्मिरोनले दोस्रो प्रहार गोल गर्दा मार्किन्होसले पनि गोल गर्दै ब्राजिलको अग्रता कायम राखे। त्यसपछि पाराग्वेका ब्रुनो भाल्डेज र ब्राजिलका फिलिपे कोउटिन्होले पनि गोल गरे।

    पाराग्वेका लागि चौथो प्रहार गरेका रोड्रिगो रोजास सफल हुँदा ब्राजिलका रोबर्टो फिर्मिनोको प्रहार बाहिरिएको थियो। टाइब्रेकर बराबरीमा आएपछि पाराग्वेका लागि पाँचौ प्रहार गरेका डेर्लिस गोन्जालेजको प्रहार बाहिरियो। त्यसपछि निर्णायक पेनाल्टीका लागि आएका ब्राजिलियन स्टार ग्याब्रिएल जेससले कुनै गल्ती नगर्दा ब्राजिल अन्तिम चारको यात्रा तय गर्न सफल भयो।

    त्यसअघि निर्धारित समयमा ब्राजिलले खेलमा पकड बनाए पनि गोल गर्न सकेन्। २९ औं मिनेटमा पाराग्वेले गोल गर्ने अवसर प्राप्त गरे पनि गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गर्दे ब्राजिलको सम्भावित संकट टारेका थिए। डेर्लिस गोन्जालेजको पासमा पेरेजले वन भर्सेस वनको स्थितिमा ६ यार्ड बक्स नजिकबाट गरेको प्रहारलाई एलिसनले सानदार बचाउ गरे।

    दोस्रो हाफको ६० औं मिनेटमा पाराग्वे १० खेलाडीमा सीमित भयो । फाबियन बालबुएनाले पेनाल्टी क्षेत्रको ठिक बाहिर रोबर्टो फिर्मिनोलाई लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा रातो कार्ड दिएका थिए। सुरुमा रेफ्रीले ब्राजिललाई पेनाल्टी दिने निर्णय गरे पनि भिएआरको सहायतापछि बालबुएनालाई रातो कार्ड दिँदै ब्राजिललाई फ्रिकिकको मात्र मौका दिए।

    पाराग्वे १० खेलाडीमा सिमित भए पनि ब्राजिलले गोल गर्न भने सकेन। ६९ औं मिनेटमा आर्थरको लामो दूरीको प्रहारले पोस्टको दिशा लिन सकेन । ७४ औं मिनेटमा ग्याब्रिएल जेससले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार पोस्टभन्दा थोरै दुरीबाट बाहिरिंदा निर्धारित समयमा गोल गर्ने ब्राजिल सपना संकटमा परेको थियो। निर्धारित समयको तीन मिनेट बाँकी रहँदा पाराग्वेका गोलरक्षक फर्नान्डेजले कोउटिन्होको क्रसमा एलेक्स स्यान्ड्रोको आकर्षक हेडरलाई विफल पार्दा पाराग्वे भाग्यमानी बनेको थियो। तर पेनाल्टीमा पाराग्वे चुक्दा ब्राजिल अन्तिम चारमा स्थान बनाउन सफल रह्यो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]