समाज : सुरक्षा/अपराध

सीमावर्ती बजारमा चिट्ठा आतंक, भारतीय युवा रंगेहात पक्राउ

नेपालीको लाखौँ रुपैयाँ बाहिरिँदै

असार १३, २०७६

    भद्रपुर (झापा) : नेपाली सीमावर्ती बजार क्षेत्रमा भारतीय चिट्ठा (लट्री) बेचबिखन गर्ने कारोबारीको बिगबिगी बढ्न थालेको छ। नेपालमा प्रतिबन्धित मानिएको भारतीय चिट्ठाको कारोबार बढेसँगै नेपाली जनताका लाखौँ रुपैयाँ भारत गइरहेको छ।

    भारतीय चिट्ठा कारोबारीको बिगबिगी बढेसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले बल्ल सक्रियता बढाएको देखाएको छ। दिनहुँ भारतको पश्चिम बङ्गलाबाट आउने चिट्ठा भारतीय तथा नेपाली कारोबारीको सेटिङमा बिक्री वितरण हुँदै आइरहेको पाइएको छ। विशेष गरी झापाको भद्रपुर र काँकडभिट्टा नाकामा चिट्ठा कारोबारी गर्ने गिरोह सक्रिय रहेको छ।

    भारतको पश्चिम बङ्गाल, सिक्किम, नागालैण्डमा चिट्ठा खुलेआम खेल्ने र खेलाइने गर्दै आइरहेको छ। यसको लतमा लागेर नेपाली नागरिक घरबारविहीन तथा बेरोजगारीसमेत हुन थालेको जनमासमा गुनासो बढेको छ।

    पछिल्लो समयमा भारतबाट दैनिक ज्याला मजदुरीको काम गर्न नेपाल आउनेदेखि कवाडीका सामान खोज्न आउने, लागू औषध बिक्री गर्न आउने, पोका तस्करीमा संलग्न हुनेलगायत व्यक्तिले भारतीय चिट्ठा नेपाल भित्र्याउने र यहाँका केही उचन्ते पेसामा संलग्न व्यक्तिहरूले खरिद गरी समूह बनाएर वा एक्लै दैनिक चिट्ठा बिक्री वितरण गर्न गरेको पाइएको छ।

    चिट्ठासहित एक भारतीय युवक पक्राउ

    भद्रपुरमा भारतीय चिट्ठा बेचबिखन गर्ने कारोबारी बढेसँगै वडा प्रहरी कार्यालय भद्रपुरले एक भारतीय युवकलाई ठूलो परिणामको चिट्ठासहित रंगेहात पक्राउ गरेको छ। 

    पक्राउ पर्नेमा भारत पश्चिम बङ्गला दार्जिलिङ जिल्ला डेङगुजोत बस्ने २० वर्षीय मोहमद एनसउललाई रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए।

    प्रहरीका अनुसार विशेष सूचनाको आधारमा भद्रपुर ६ स्थित भानुनगर नजिकै डब्लुबि ७४ एभि ५२९६ नम्बरको भारतीय मोटरसाइकलमा सवार एनसउललाई शंका लागि चेकजाँच गर्दा उनले बोकेको प्यालिष्टको झोलाबाट भारतीय चिट्ठा बरामद गरिएको हो। उनको साथबाट प्रहरीले पश्चिम बङ्गाल र नागालैण्ड स्टेट कम्पनीको १२० ठेली चिट्ठा (लट्री) बरामद गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

    युवक एनसउलले भारतबाट चिट्ठा ल्याएर भद्रपुरका व्यक्तिहरूलाई बिक्री वितरण गर्दै आइरहेको अनुसन्धानको क्रममा खुलेको उनले बताए। यता पक्राउ परेका एनसउललाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइसकेको जनाइएको छ।

    यस्तो छ चिट्ठासम्बन्धी कानुन

    चिट्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारको अनुमति दिएकोमा बाहेक कसैले चिट्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन पाउँदैन। 'कुनै चिट्ठा खोल्न, छाप्न वा प्रकाशित गर्न, कुनै चिट्ठा बिक्री वितरण गर्ने वा बिक्री वितरण वा विज्ञापनको लागि दिने, कुनै चिट्ठासम्बन्धी विज्ञापन छाप्ने, प्रकाशित वा बिक्री वितरण गर्ने वा सो

    कामको लागि आफू साथ राख्ने, नेपाल सरकारले तोकी दिएकोमा बाहेक विदेशी मुलुकबाट कुनै चिट्ठा वा त्यस्तो विज्ञापन नेपाल अधिराज्यभित्र बिक्री वितरणको लागि ल्याउने वा झिकाउने वा बिक्री वितरण गर्ने वा त्यसरी ल्याई बिक्री वितरण भएको चिट्ठाबाट प्राप्त भएको आम्दानी वा त्यस्तो चिट्ठाको बिक्री वितरणसम्बन्धी कुनै

    लगत नेपाल अधिराज्य बाहिर पठाउने वा चिट्ठासम्बन्धी काम गर्नको लागि कुनै घर जग्गा प्रयोग गर्ने वा प्रयोगमा दिनेलाई निजको बिगो जफत भई बिगोबमोजिम जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुनेछ।' भन्ने चिट्ठा ऐनमा प्रस्ट व्यवस्था छ।

पार्थ मण्डल

मण्डल थाहा खबरका झापा (भद्रपुर) समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]