काठमाडौं : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। ...
काठमाडौं : वरिष्ठ पत्रकार भैरव रिसालले ज्येष्ठ नागरिकलाई ‘स्वैच्छिक मरण’ गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
वरिष्ठ पत्रकार रिसालले धेरै विद्वान् छोराछोरीका ज्येष्ठ नागरिकले पनि कठिनका साथ जिउनु परेकाले उनीहरुले चाहेमा स्वैच्छिक मरण गर्न पाउने कानुनी व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका हुन्।
सुन्दा नमिठो लागे पनि ज्येष्ठ नागरिकहरुले स्वैच्छिक मरण गर्न चाहेको देखिएको उल्लेख गर्दै त्यस्तो कानुनी व्यवस्था गर्न गम्भिर भइदिन पनि उनको सरकारसँग विशेष अनुरोध छ।
वरिष्ठ पत्रकार रिसालले विश्वका कतिपय मुलुकमा ज्येष्ठ नागरिकहरुले चाहेमा स्वैच्छिक मरण गर्न पाउने कानुनी व्यवस्था रहेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।
शुक्रबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धी विधेयकमाथि सरोकारवालाहरूसँगको छलफलमा भाग लिँदै वरिष्ठ पत्रकार रिसालले ज्येष्ठ सासू–ससुरालाई स्याहार गर्ने बुहारीमध्येबाट उत्कृष्टलाई पुरस्कार दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए। त्यसले पनि ज्येष्ठ नागरिकहरुको हेरचाहका लागि सामाजिकरूपमै जागरण ल्याउने उनको भनाइ छ।
बैठकमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा नभई घरमानै पालनपोषण गर्ने बाध्यकारी कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। उनले ज्येष्ठ नागरिकको पालनपोषणका लागि नैतिक शिक्षाको उचित व्यवस्था गर्न पनि सरकारसँग माग गरे।
अध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य विमा गर्ने व्यवस्था गरेकोमा खुसी पनि व्यक्त गरे। विधेयकमा ज्येष्ठ नागरिकलाई पालनपोषण नगर्ने छोराछोरीलाई ३ लाख जरिवाना र ५ वर्षसम्म जेल सजाय दिने प्रावधान राखिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।