मनोरञ्जन

शान्ति ठटालको धुन र मुना-मदनले भावुक बने दर्शक

असार १४, २०७६

    काठमाडौं : नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’ मा संगीतकार शान्ति ठटालले धुन भरेको मुना-मदन प्रस्तुत भएको छ। कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको मुना-मदनले प्रेक्षायलमा उपस्थित श्रोता, दर्शक भावुक बनेका थिए। गायक, गायिका र वाद्यवादकका बीच हार्मोनियमका साथ उपस्थित शान्ति ठटालको मुहारमा पनि भावुकताको झलक पाइन्थ्यो। 

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुना-मदनमा शान्ति ठटालले सन् ७७ ताका संगीत भरेकी थिइन्। उनकै अगुवाइमा गान्तोकमा यसको प्रदर्शन पनि भएको थियो। गीति-नाटककै स्वरुपमा प्रदर्शित भएको सो कृतिका धुनको अभिलेख भने थिएन। नेपालयको अनुरोधमा शान्ति ठटालले मुना-मदनका पुराना धुनलाई परिमार्जन गर्दै पलेँटी टीमका साथ प्रस्तुत गरेकी हुन्।

    यसपालीको पलेँटीलाई शान्ति ठटालको लामो सांगीतिक जीवनको उत्सवको रुपमा प्रस्तुत गर्ने उद्घोष गरिएको कार्यक्रमलाई दुई भागमा विभाजन गरिएको थियो। कार्यक्रमको पहिलो चरणमा ठटालको गायन(यात्राको चर्चा गर्दै उनका चारवटा गीत प्रस्तुत भएका थिए। पलेँटीबाटै आफ्नो सांगीतिक जीवनलाई सक्रिय बनाएकी मीना निरौलाले ठटालका पुराना गीत सुनाएकी थिइन्।

    कार्यक्रमको दोस्रो गीत कवि बैरागी काइँलाले रचेको मधुर गीत थियो। कवि काइँला दार्जिलिङमै विद्यार्थी छँदा अम्बर गुरुङले नै संगीत भरेको ‘मेरो दुखी मन’ रेडियो नेपालमा एक्कै दिन रेकर्ड भएका थिए। शान्ति ठटालको गायन यात्राको चर्चासँगै प्रस्तुत भएको तेस्रो गीत ‘आकाश झुक्यो, धरती उठ्यो, खेल हो कि मेल हो, तृष्णा मेट्ने पानी पाए, पिउने हो कि भेल हो’ ले ‘आर’शाला गुञ्जायमान भयो ।

    कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत भएको थियो मुना-मदन। महाकवि लक्ष्मीप्रसाद देवकोटाको गीति नाटक मुना-मदनलाई ठटालले आफूले पहिले रचेको धुनलाई सम्झँदै परिमार्जन गरेकी हुन्। सिक्किममा बसेर परिमार्जन गरेको यो धुनमा मुना-मदनको झ्याउरे भाकाको लोकप्रिय शैलीकै झलक रहेको छ। नारायण गोपालले आफैँले धुन भरेर गाएको मुना-मदनमा पनि झ्याउरे भाकाको उही लोक शैलीको रङ्ग समेटिएको पाइन्छ।

    पलेँटीमा ठटालको धुनमार्फत् प्रस्तुत भएको मुना-मदन कथा वाचन शैलीमा प्रस्तुत भएको थियो। त्यसैले मुनामदनलाई चरित्र केन्द्रीत नगरी कथा वाचनको रुप प्रदान गरिएको थियो। प्रस्तुति र कथालाई एकसाथ समेट्नका निम्ति भूषिता वशिस्ठले सूत्रधारको भूमिका निभाएकी थिइन्। मुना-मदनका धुन भरिएका हरफहरूलाई विमला सेञ्चुरि प्रधान, मीना निरौला, बलराम समाल र आभासले स्वर दिएका थिए। झण्डै ४५ मिनेटमा समेटिएको कथालाई प्रस्तुत गर्ने क्रममा मुना-मदनको वियोगान्त कथाले सबैलाई भावुक बनाएको देखिन्थ्यो। सूत्रधारकै आँखाका गहसमेत टिलपिल देखिन्थे।

    पलेँटीको वाद्यवादनतर्फ कीबोर्डमा दिनेश रेग्मी, बाँसुरीमा बलराम समाल, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान र प्रकसनमा सुन्दर कुमार महर्जन रहेका छन्। शुरुमा अंग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम केही महिनादेखि महिनाको अन्तिम सप्तान्त-शुक्रवार, शनिवार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]