फिचर

अवसर पाए महिला खेलाडीले पनि देशको इज्जत राख्‍छन्

महिला खेलाडीलाई अनेकौँ अवरोध छिचोल्नुपर्ने बाध्यता

असार १५, २०७६

    सुनसरी : तेक्वान्दो खेलाडी ममता राईले तेक्वान्दो खेल्न थालेको २२ वर्ष भयो। यो अवधिमा उनले महिला भएकै कारणले थुप्रै उतारचढावहरूको सामना गर्नुपर्‍यो।

    अहिले त खेल क्षेत्रमा परिपक्क उमेर हुँदै प्रभाव पनि छोडेकोले सम्मान छ। तर, उनलाई पहिले छोरा मान्छे जस्तो के हिँडेको, छोरा मान्छेले जस्तो के खेलेको भनेर समाजकै मान्छेले पनि हतोत्साही गरे।

    घरपरिवारमा पनि छोरीले खेल खेल्नुहुँदैन भनेर दबाब आयो। तर, उनले हरेक अवरोध छिचोल्दै खेल्न छोडिनन्। कराते खेलाडी ममताको यो भनाइ अरू महिला खेलाडीले बेहोर्नुपर्ने समस्याको कसिलो प्रतिनिधिमूलक उदाहरण हो।

    यसका बाजजुद पनि महिलाले विभिन्न समस्याहरूलाई छिचोल्दै राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा आफ्नो मात्रै नभई नेपालमै नाम राख्न पनि सफल भएका धेरै उदाहरण छन्।

    कुरा काट्नेको ओइरो

    विद्या राई सुटिङ र तेक्वान्दो खेलाडी हुन्। घरपरिवारका सदस्यहरूले एकातिर महिलाले खेल खेल्ने होइन भन्ने र अर्कोतिर खेलाडी हुँदा बाहिर खेल्न जाने अवसर हुँदा समाजका मान्छेले कुरा काट्ने लगायतका अवरोध सहँदै खेलप्रतिको रुचिलाई जीवन्तता दिइरहनुपरेको राईको भनाइ छ।

    विवाहिता हुन् वा अविवाहिता महिला उनीहरूलाई खेल खेल्न हत्तपत्त परिवारका सदस्यहरूले नदिने गरेको महिला खेलाडीहरूको गुनासो छ। थोरै मात्रामा जान्ने बुझ्नेहरूले खेल्ने स्वतन्त्रता दिएका छन्। यद्यपि घरको चुलोचौका गर्नेदेखि खेल मैदानसम्म धेरै नै चुनौतीको सामना गर्नुपर्ने कतिपय महिला खेलाडीको बाध्यता रहेको उनीहरू बताउँछन्।

    महिला खेलाडीमाथि विभेद

    एउटा घरमा महिला र पुरुष खेलाडी भएमा महिला खेलाडीमाथि विभेद गरेर अघि बढ्न नदिने परिपाटी खेल क्षेत्रको लागि झनै समस्याको रूपमा रहेको विद्या बताउँछिन्। समाज तथा परिवारले स्वीकार नगर्ने, अर्कोतिर भनेको बेला पैसा नहुने समस्याले त झन् निराश हुनुपर्ने तेक्वान्दो तथा सुटिङ खेलाडी विद्याको भनाइ छ।

    पूर्वमा हुने विभिन्न राष्ट्रिय तथा स्थानीय खेलकुद प्रतियोगितामा पनि महिला खेलाडीमाथि विभेद गरिएको विषयले बेला–बेला चर्चा पाइए पनि समस्या उस्तै रहेको खेल क्षेत्रका जानकारहरू नै बताउँछन्।

    सुनसरीका क्रिकेट प्रशिक्षक सिपी पौडेल विभिन्न ठाउँमा भएका खेलमा महिलामाथि विभेद देखिनु भनेको समग्र खेल जगतमै  महिलामाथि विभेद भएको उदाहरण भएको बताउँछन्। क्षेत्रीय तथा जिल्लास्तरीय महिला प्रतियोगिता नहुनु नै महिला र पुरुष खेलाडीबीचको विभेद भएको क्रिकेट प्रशिक्षक पौडेलको ठम्याइ छ।

    आत्मरक्षासम्बन्धी तालिमको खाँचो

    महिला खेलाडीहरू विभिन्न समस्याहरूका बाबजुद खेलमा सहभागी भइरहेका छन्। खेल क्षेत्रमा आउँदा उनीहरूले असुरक्षा महसुस पनि गर्नुपर्छ। खेल क्षेत्रका बाहेक अरू महिलाहरू पनि हिंसा तथा दुर्व्‍यवहार पर्छन्।

    यस्तो अवस्थामा महिलाहरू सुरक्षित हुन उनीहरूलाई आत्मरक्षासम्बन्धी तालिम पनि एकदम आवश्यक भएको पौडेलको भनाइ छ। खेलाडी हुन् वा अरू महिला उनीहरूलाई आत्मरक्षाको लागि मार्सल आर्टस, कराते, तेक्वान्दो, उसु, बक्सिङलगायत कला  आवश्यक रहेको र आत्मरक्षासम्बन्धी तालिम नभएकै कारणले महिलाहरू कुटपिट जस्ता हिंसा तथा आक्रमणमा पर्दा आत्मरक्षा नभएको खेल बिशेषज्ञ महिलाहरु बताउँछन्।

    महिला खेलाडीले पनि देश र परिवारकै इज्जत राख्‍न  सक्छन्

    महिलाहरूले आफूलाई अप्ठ्यारो पर्दा सुरक्षित गर्ने हो भने र आफूमा आत्मविश्वास बढाउन आत्मरक्षाको लागि मार्सल आर्टस खेल्न तथा तालिम लिन आवाश्यक रहेको महिला खेलाडी सुशीला राई बताउँछिन्।

    सामाजिक संकोचको कारण महिलालाई बाहिरी क्रियाकलापमा अझै पनि सहभागी हुन दिइँदैन। यस्तै, महिला र पुरुष खेलाडीमा हरेक पक्षमा विभेद गरिएको पनि छ। तर नेपाललाई नै चिनाउने संगिना वैद्य, सविताराज भण्डारीलगायत खेलाडी महिलाले पनि देश र परिवारकै इज्जत राख्न सक्छन् भनेर पाठ पढाएको बुझ्नुपर्ने महिला खेलाडीहरूको आग्रह रहेको छ।

    महिला खेलाडीहरूले विभिन्न समस्या तथा चुनौतीहरूसँग सामना गर्नुपरेको पाइएको छ। एकातिर पुरातन संस्कार बोकेको समाजमा महिलाहरूलाई हेर्ने नजर नै साँघुरो भएको छ। महिलालाई हरेक कुरामा अप्ठ्यारो हुन्छ। खेलाडी हुनका लागि पनि थुप्रै अवरोधहरू छिचोल्नुपर्ने महिला खेलाडीहरू बताउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]