समाज

विद्यालयको जग्गा कब्जा गर्ने प्रयास, विद्यार्थी आन्दोलित

असार १५, २०७६

    जनकपुरधाम : धनुषाको धारापानीस्थित माध्यमिक विद्यालय मुलाबारी भिमानको ७ कट्ठा जग्गा कब्जा गर्ने प्रयास भएको छ। विद्यालयलाई बिक्री गरेको जग्गा करोडौं मूल्य बराबरको भएपछि कब्जाको प्रयास भएको हो।

    स्थानीय स्वर्गीय करणबहादुर स्याङ्बोले २०३३ सालमै विद्यालयबाट १ हजार रुपैयाँ लिएर ७ कट्ठा जग्गा बिक्री गरेका थिए। बिक्री गरेको भपाइ अहिले पनि विद्यालयमा सुरक्षित छ। तर, पछि जग्गाको भाउ बढेपछि उनका छोरीले प्रशासन र केही भू-माफियाको आडमा कब्जाको प्रयास गरेको प्रधानाध्यापक प्रदीपकुमार साह बताए।

    जग्गा विद्यालयलाई बेचे पनि मर्ने बेलामा स्याङ्बोले छोरी श्यामकुमारी लामाको नाममा नामसारी गरिदिएका थिए। पछिल्लो समय श्याम कुमारीले पनि उक्त जग्गा आफ्नी छोरी पशुपति लामाको नाममा पास गरेकी छन्। अहिले आमा र छोरी जग्गा कब्जा गर्न दिनरात दौडिहरेकी छन्। अहिले त्यो जग्गा करिब ७ करोड मूल्य बारबारको भइसकेको छ। त्यसैले उनी २ करोड खर्च गरेर भए पनि जग्गा कब्जा गर्ने धम्की शिक्षकलाई दिइरहेकी छन्।

    हुन त जग्गा फिर्ता लिने प्रयास २०५२ सालमै श्यामले गरेकी थिइन्। विद्यालयमा गएर जग्गा फिर्ता गर्न भनेकी थिइन्। तर विद्यालयले जग्गा खरिद गरेको भन्दै फिर्ता गर्न नसकिने बताएपछि उनी अदालतमा पुनरावेदन गरिन्। अदालतले ०५५ सालमा निषेधाज्ञा जारी गर्‍यो। पछि पुनरावेदन अदालत जनकपुरले मुद्दा खारेज गर्‍यो।

    लगत्तै श्यामले सर्वोच्च गुहारिन्। तर सर्वोच्चले पनि ०५९ सालमा पुनरावेदनकै आदेश सदर गरी विद्यालयकै पक्षमा फैसला सुनायो। त्यसपछि मौन बसेकी श्याम कुमारी अहिले फेरि भू-माफिया र प्रशासनको सहयोग लिएर जग्गा कब्जाको प्रयास थालेकी हुन्।

    जग्गा नापी गर्न खोज्दा विवाद

    श्यामकुमारीले प्रशासन र केही भू-माफियाको सहयोग लिएर शनिबार जग्गा नापी गर्न पुगेपछि विवाद भएको छ। शिक्षकहरू थाहा पाएपछि नापी नगर्न आग्रह गरे। तर विद्यालयको कमपाउण्डको पर्खाल भत्काउने प्रयास गर्दा केहिबेर अवस्था तनावगस्त बनेको थियो। सुरुमा इलाका प्रहरी कार्यालय धारापानीको प्रहरी नापीमा सहयोग गर्न पुगे।

    अवस्था बिग्रेपछि इलाका प्रहरी कार्यालय ढल्केबरबाट समेत थप प्रहरी पुग्यो। प्रहरीले जग्गा नापी कार्यमा सहयोग गर्न जिल्ला प्रहरी कार्यालयबाट पत्र आएको भन्दै भू-माफिया र श्याम कुमारीलाई सहयोग गरिरहेका थिए।

    शिक्षकहरूसँगै ठूलो संख्यामा स्थानीय पुगेपछि नापी गर्न पुगेका अधिकारीहरू फिर्ता भएको थियो। विद्यालयका प्रधानाध्यापक साहले जानकारीसमेत नदिई शनिबारको दिन गुपचुप तरिकाले जग्गा नापी गर्ने प्रयास गर्दा दुःख लागेको बताए। उनले नापी भइरहेको जानकारी पाएपछि त्यहाँ पुगेर छलफल गरेर मात्र नापी गर्नभन्दा प्रहरीले जबरजस्ती गरेको उनले सुनाए। उनले भने, ‘शनिबारको दिन गुपचुप तरिकाले जग्गा नापी गर्ने प्रयास हुँदा ठूलो रकमको चलखेल भएको शंका छ।’

    विद्यार्थी आन्दोलित

    विद्यालयको जग्गा कब्जा गर्ने प्रयास भएको भन्दै विद्यार्थी आन्दोलित भएका छन्। आइतबार धारापानीमा विद्यार्थीले प्रदर्शन गरी जग्गा कब्जा गर्ने चलखेल रोक्न स्थानीय प्रशासनसँग माग गरे। उनीहरूले केहिबेर पूर्वपश्चिम राजमार्गसमेत अबरुद्ध गरेका थिए। ‘विद्यालयलाई सबै साझा सम्पत्ति ठानौं’ भन्दै उनीहरूले प्रहरीविरुद्ध नाराबाजी समेत गरेका थिए। उक्त विद्यालयमा १३ सय ४५ विद्यार्थी अध्ययनरत छन्।

    जग्गा विवादबारे एसपी र सिडिओ अनभिज्ञ

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख (एसपी) शेखर खनालले उक्त विद्यालयको जग्गा विवादित रहेको कुरा आफूलाई जानकारी नरहेको बताए। उनले जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षाका लागि निवेदन दिएका कारण मात्र प्रहरी पठाएको प्रतिक्रिया दिए।

    उनले भने, ‘नापी कार्यालयको टोली त्यहाँ पुगेर जग्गा नापी गर्ने भएकोले शान्ति सुरक्षाका लागि प्रहरी पठाउन जिल्ला प्रशासन कार्यालयले भन्यो। त्यहीअनुसार प्रहरी पठाएको हो। प्रहरीले जर्वजस्ती जग्गा नापी गर्न लगाएको होइन्।'

    यता, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप राजराज कणेलले जग्गा विवाद सम्बन्धित मेयरको रोहबरमा छलफल गरी मिलाउन दुवै पक्षलाई भनेको प्रतिक्रिया दिए। उनले भने, ‘जग्गा नापी गर्नका लागि शान्ति सुरक्षा मागेपछि सुरक्षा त दिनुपर्‍यो। शान्ति सुरक्षा माग्ने र पाउने अधिकार त सबैको हो। त्यसबाहेक विवादको कुरा मलाई थाहा छैन।’ छलफलबाट विवाद नमिलेपछि अदालत जान भनिसकेको उनको भनाई छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]