बाँके : बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोहलपुर ...
दमक (झापा) : झापाको गौरादहमा नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गराउन धमाधम बाल उद्यान निर्माण भइरहेको छ ।
बालबालिकालाई लक्षित गरि निर्माण शुरु गरिएको लायन्स चिल्ड्रेन पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ। गौरादह २ मा निर्माणाधीन उद्यान (पार्क)को निर्माण कार्य अन्तिम चरणमा पुगेको लायन्स क्लब अफ गौरादहले जनाएको छ। सो वडाको वडा कार्यालयबाट करिव ५० मिटर नजिकै रहेको नगरपालिकाकै स्वामित्वको ३ कठ्ठा जग्गामा पक्की पर्खाल लगाएर सो क्षेत्रभित्र विभिन्न बाल मनोरञ्जन केन्द्रित लायन्स चिल्ड्रेन पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
गौरादह २ का वडाध्यक्ष हेमन्त कार्की सो वडाका लागि मात्रै नभएर सो चिल्ड्रेन पार्क सिंगो गौरादह नगरको गहनाका रुपमा स्थापित हुन सक्ने सम्भावना औँल्याउँछन्। उनका अनुसार चिल्ड्रेन पार्क निर्माणको अवधारणालाई सरकारले समेत साथ दिइरहेको छ। गत वर्षको भदौमा प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले त्यहाँ पार्क निर्माणको शिलान्यास गरेका हुन्। लायन्स क्लब अफ गौरादहका अध्यक्ष भुपालराज कट्वालका अनुसार पार्क निर्माणका लागि स्थानीय र प्रदेश सरकारबाट समेत सकारात्मक सहयोग भइरहेको छ।
पार्क बनाउन प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटबाटै २० लाख रुपैयाँ र गौरादह नगरपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । सोसँगै लायन्स क्लब अफ गौरादहले आफ्ना सदस्यहरुबाट कूल ७ लाख रुपैयाँ जुटाएर पार्क निर्माणमा खर्च गरिरहेको छ। पार्कमा वडाले समेत १ लाख रुपैयाँ प्रदान गरेको कटुवालले जनाए। वडा नं २ का वडा सचिव बाबुराम केसीले पार्क निर्माणका लागि वडा कार्यालयबाट हुन सक्ने आवश्यक सबै किसिमको सहयोग प्रदान गरिरहेको बताए।
कूल ३८ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको सो योजनाका लागि प्रदेश र स्थानीय सरकारको बजेट निकासा हुने क्रममा छ।
पार्कभित्र बालबालिकालाई आकर्षित गर्न गुफा र विश्व शान्तिका दूत गौतम बुद्धको मूर्ति राखिनेछ। त्यसका अतिरिक्त देश विदेशमा रहेका बालबालिकालाई आकर्षित गर्ने र उनीहरूको अतिरिक्त ज्ञान बढाउने किसिमका सामग्री त्यहाँ राखिनेछ।
क्लबका अध्यक्ष कट्वालका अनुसार सो पार्कको निर्माण कार्य यसै आर्थिक बर्ष भित्र सम्पन्न गर्ने गरि काम भइरहेको छ। तर समय र बजेट समेतको अपुगका कारण तत्कालै नभए पनि केहि महिनाभित्रै पार्क निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने क्लबको योजना रहेको बताइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।