समाज

राय र महतोको परिवारबीच चार दिनपछि शव बुझ्ने सहमति

file Photo
असार १८, २०७६

    सर्लाही : प्रहरीसँगको झडपमा गोली लागेर युवकको मृत्यु भएपछि सर्लाहीको ईश्वरपुरमा जारी विवाद चार दिनपछि सहमति भएपछि मृतक राय र महतोको परिवारले शव बुझ्ने भएको छ। 

    घटनापछि आन्दोलित गौरीशंकरका स्थानीयबासीसँग बुधबार ईश्वरपुर नगरपालिकामा छलफलमाग विभिन्न सहमति गरिएको छ। ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाको संयोजकत्वमा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, प्रदेशसभा सदस्य उप्रेन्द्र महतो, नगरभित्रका प्रमुख राजनीतिक दलका प्रतिनिधि र मृतकका आफन्तबीच सहमति भएको हो।

    गोली लागेर मृत्यु भएका सरोजनारायण महतोलाई शहीद घोषणा गर्न स्थानीय सरकारमार्फत पहल गर्ने, डुबेर मृत्यु भएका बालकका परिवारलाई राहत स्वरुप पाँच लाख रुपैयाँ उपलब्ध गराउन नगरपालिकामार्फत पहल गर्ने, दूवै मृतकका परिवारलाई क्रिया खर्चबापत २५–२५ हजार रुपैयाँ प्रदान गर्ने, गोली लागेर घाईते राजकुमार महरालाई औषधोपचार खर्च उपलब्ध गराउन पहल गर्ने, गोली लागेर मृत्यु भएका सरोजनारायणको श्रीमतीलाई स्थानीय स्तरमा रोजगारीका लागि प्राथमिकता दिने, बालकको डुबेर मृत्यु भएको खोलाको खाल्डो पुर्ने, बाँके खोलाको सीमा विवाद समाधान गर्न प्रदेश सरकारसँग पहल गर्नेलगायतका सहमति भएका छन्।

    सहमतिसँगै मृतकका परिवारले चार दिनदेखि जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम गरी राखिएको शव बुझ्ने इश्वरपुर नगरपालिकाका प्रमुख देवकाटाले बताए।

    गत शनिबार दिउँसो सर्लाही र महोत्तरीको सीमामा पर्ने बाँके खोलामा बालुवा गिट्टी निकाल्दा बनेको खाल्डोमा जमेको पानीमा डुबेर बेपत्ता भएका ईश्वरपुर नगरपालिका–११ गौरीशंकरका १२ वर्षीय अमित राय आइतबार बिहान मृत फेला परेपछि स्थानीय आक्रोशित भएका थिए। आक्रोशित स्थानीयले आइतबार दिउँसो बालकलाई शहीद घोषणा गर्नुपर्ने, खोलाको खाल्डो पुर्नुपर्ने लगायतको माग राख्दै पूर्व–पश्चिम राजमार्गको बाँके चोकमा प्रदर्शन गर्नेक्रममा सडक बन्द गर्न उत्रिएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो।

    झडपमा प्रहरीले चलाएको गोली लागेर गौरीशंकरका २७ वर्षीय देवन भन्ने सरोजनारायण महतोको घटनास्थलमै मृत्यु भएको थियो। गोली लागेर अर्का स्थानीय २१ वर्षीय राजकुमार महरा गम्भीर घाइते भएका थिए। उनको जनकपुरमा उपचार भइरहेको परिवारले बताएका छन्।

    झडपमा प्रदर्शनकारीले ढुंगामुढा प्रहार हुँदा ११ जना नेपाल प्रहरी र छ जना सशस्त्र प्रहरी समेत घाइते भएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]