छापा

त्रिवि सेवा आयोगका अध्यक्ष शर्मासहित १० जनाविरुद्ध मुद्दा

असार १९, २०७६

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारी तथा सदस्यले लिखित परीक्षाको प्राप्तांकलाई फेरबदल गरी उत्तीर्णलाई अनुत्तीर्ण गराएको खुलेको छ। 

    सोही आधारमा आयोगले त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मालगायत १० जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ। 

    गोरखापत्र दैनिकमा समाचार छ, मुद्दा दायर गरिएका अन्यमा सेवा आयोग सदस्य चिन्तामणि पोखरेल, प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी, प्राध्यापकहरू टेकनाथ ढकाल, गोविन्द ढकाल, सहप्राध्यापक राजेश्वर न्यौपाने, तारा पौडेल, रामबहादुर पाण्डे छन्। 

    आयोगमा त्रिवि सेवा आयोगका पदाधिकारीले लिखित परीक्षामा अनियमितता गरी आफ्नो नातेदारलाई भर्ना गरेको उजुरी परेपछि आयोगले छानबिन सुरु गरेको थियो। 

    त्रिवि सेवा आयोगले २०७३ साल फागुन २८ गते विज्ञापन प्रकाशित गरी १६ किसिमका प्रशासनिक तथा प्राविधिक पदका लागि विज्ञापन गरी परीक्षा सञ्चालन गरेको थियो। आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी छवटा पदको लिखित परीक्षा सञ्चालनका क्रममा उत्तरपुस्तिका परीक्षणमा अनियमितता खुलेको जानकारी दिए। उनका अनुसार उत्तीर्ण भएका सबैजसो परीक्षार्थीको उत्तरपुस्तिकामा अंक फेरबदल गरी सच्याइएको छ। 

    परीक्षकलाई दिइने नियुक्तिपत्रमा कुल प्राप्ताङ्क केरमेट नगरी उत्तरपुस्तिकामा लेख्नुपर्ने, केरमेट गर्नुपर्ने भएमा सुरु अ‌ंक बुझिने गरी एक पटक मात्र काटेर अक्षरमा समेत लेखेर दस्तखत गर्नुपर्ने प्रष्ट उल्लेख गरिएको हुन्छ । 

    आयोगका अनुसार शाखा अधिकृतको २४ पदका लागि भएको लिखित परीक्षामा परीक्षार्थीमध्ये छ जनाको उत्तरपुस्तिकामा शङ्कास्पद किसिमले केरमेट गरी अङ्क थपिएको र घटाइएको छ। उत्तरपुस्तिकाको प्रथम पत्रमा १७ र तृतीय पत्रमा १६ अंक थपेर एक परीक्षार्थीलाई उत्तीर्ण गराइएको आयोगले जनाएको छ। 

    उत्तीर्ण भएका परीक्षार्थीको प्रथम पत्रमा नौ र तृतीय पत्रमा १४ अङ्क घटाएर अनुत्तीर्ण गराइएको आयोगको अनुसन्धानबाट खुलेको हो। उक्त कार्यमा उत्तरपुस्तिका परीक्षक गोविन्द ढकाल र टेकनाथ ढकालको संलग्नता देखिएको आयोगले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]