राजनीति

नीति तथा कार्यक्रम र बजेटविना मध्यपुर नगरको नगरसभा शुरू

साउन १९, २०७६

    भक्तपुर : विवादकाबीच मध्यपुर थिमि नगरपालिकाको तेस्रो नगरसभा आइतबार शुरु भएको छ। तर नगरसभामा नीति तथा कार्यक्रम र बजेट भने पेश भएन।

    उपप्रमुख अञ्जनादेवी मधिकर्मी लगायतका नगरसभा सदस्यहरूले बहिष्कार गरेपछि तेस्रो नगरसभा बैठकको पहिलो दिन उद्घाटन समारोहमा सीमित भएको हो। स्रोतका अनुसार नगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयार भएको छैन। उद्घाटन समारोहमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमिका केही वडाअध्यक्षहरू मेयर बन्न खोजेको आरोप लगाए। उनले भने, ‘हाम्रा केही वडाअध्यक्षहरू मेयर बन्न खोजेकाले नगरमा समस्या आएको हो।’

    तेस्रो नगरसभाले राजनीतिक मौनता भंग गरेको टिप्पणी गर्दै नगरप्रमुख श्रेष्ठले कांग्रेसका जनप्रतिनिधिहरू संस्थागत भन्दा पनि व्यक्तिवादी चरित्रले चलेकाले नगरपालिकाभित्र राजनीतिक गतिरोध आउने गरेको बताए।

    नगरपालिकालाई बहुमत र अल्पमतको अंक गणितीय जोड घटाउले भन्दा समग्र नगरको विकासको उद्देश्य राखेर जनतालाई केन्द्रविन्दुमा राखेर जनप्रतिनिधिहरू अघि बढ्नु पर्नेमा उनले जोड दिए। तेस्रो नगरसभाको उद्घाटन समारोहसम्म आइपुग्न धेरै मेहनत र कसरत गर्नुपरेको चर्चा गर्दै उनले विवाद टुंग्याउनुपर्छ। झगडा गर्नुहुन्न भन्ने मान्यताका साथ आफूले काम गरेको दावी गरे। उनले भने, ‘आजको दिनसम्म आइपुग्न धेरै पापड पेल्नु परेको छ।’ उनले आगामी दिनमा थप गम्भीर छलफल गरी समयमा नै उचित निकास निकाल्ने प्रतिवद्धता व्यक्त गरे।

    दुईवर्षे कार्यकालमा नगरको समग्र विकाससँगै शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, खेलकुदलगायतका क्षेत्रमा उल्लेख्य कार्य भएको दावी गर्दै उनले आगामी दिनमा थप योजनाका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

    कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति गणेशमान चक्रधरले मध्यपुर थिमिको विकासका लागि दलिय सहकार्य आवश्यक भएको बताए। उनले विगतमा दलीय सहकार्य नहुँदा समस्या आएको बताउँदै अहिले कांग्रेस र नेकपाबीच भएको सहमति र सहकार्यलाई संस्थागत गर्दै लैजानु पर्नेमा जोड दिए।

    नेपाली कांग्रेस मध्यपुर थिमि नगरसमितिका सभापति सुरेन्द्र श्रेष्ठले जनप्रतिनिधिहरू दलीय संस्थागत निर्णय अनुसार चल्नुपर्ने बताए। कांग्रेसभित्र निर्वाचन लगत्तै केही जनप्रतिनिधिहरू दलको संस्थागत निर्णयविरुद्ध जाने प्रवृत्ति देखा परेको चर्चा गर्दै उनले यही प्रवित्ति अहिले पनि हावी हुन खोजेको बताए। उनले भने, ‘नगरपालिका भित्रको गतिरोध अझै सकिएको छैन। नगरसभा सम्पन्न गर्न ठूलो चुनौती रहेको छ।’

    कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष वच्चन देउजा, मध्यपुर थिमि नगरपालिकाका पूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठ, नेकपा जिल्ला नेता सुचित्रा श्रेष्ठ, वडाअध्यक्ष इन्द्रबहादुर प्रजापति, वडा सदस्य रमेश थापा, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलगायतले नगरसभाको सफलताको कामना गरेका थिए।

    उपप्रमुखलगायत नगरसभा सदस्यको बहिष्कार

    मध्यपुर थिमि नगरपालिकाको तेस्रो नगरसभा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं. २ का वडाअध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता राम थापामगर, वडा नं. ३का वडाअध्यक्ष प्रेमबहादुर कुटुसहितका नगरसभा सदस्यहरूले बहिष्कार गरेका छन।

    गत असार १८ गते सम्पन्न विशेष नगरसभाले पारित प्रस्तावलाई गत साउन १५ गते बसेको नगरकार्यपालिका बैठकले तोडमोड गरी पारित गरेको भन्दै उपप्रमुख मधिकर्मीलगायतका नगरसभा सदस्यहरुले तेस्रो नगरसभा बैठकको उद्घाटन समारोह बहिष्कार गरेका हुन।

    उपप्रमुखसहित दुई तिहाई बहुमत सदस्य रहेको नेपाली कांग्रेसले एकिकृत सम्पत्ति कर खारेज गरी सम्पत्ति कर मा लिने, दोस्रो नगरसभा बैठकले पारित गरेको कर तथा दस्तुरको दर संशोधन गर्ने, भवन निर्माणसम्बन्धी मापदण्ड संशोधन गरी सडक अधिकार क्षेत्र (राइटअफ वे) कायम भएका सडकमा सेड व्याकको रुपमा छोडिएको ५ फिट जग्गा बाटोका लागि छाडेर मात्र कम्पाउण्ड वाल लगाउनुपर्ने व्यवस्था तत्कालको लागि लागु नगर्ने, नगरपालिकाका लागि आवश्यक ऐन निर्माण गर्ने, कमेरोटार जग्गा एकिकरण आयोजनाका आयोजना प्रमुखलाई फिर्ता बोलाउने लगायतका प्रस्तावमा छलफल गर्न गत जेठ २० गते विशेष नगरसभा बैठकको माग दर्ता गराएका थिए।

    सो अनुसार नगरप्रमुख श्रेष्ठले गत असार २० गते विशेष नगरसभा बैठकको आव्हान गरेको थियो। तर सो बैठकमा छलफलका लागि प्रस्ताव गरेका ऐजेण्डाहरूमा सहमति नभएपछि नगरप्रमुख श्रेष्ठले बैठकै नबसी स्थगित गर्ने र नेपाली कांग्रेसले उपप्रमुख मधिकर्मीको अध्यक्षतामा बैठक सञ्चालन गरी प्रस्तावहरू सर्वसम्मतले पारित गरेपछि विवाद उत्पन्न भएको थियो।

    सो विवाद समाधान गर्ने सम्बन्धमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीचको दर्जनाै पटकको छलफलपछि विशेष नगरसभा बैठकलाई कार्यपालिकाले सम्बोधन गर्ने र सो अनुसार प्रस्ताव पारित गरी आइतवार तेस्रो नगरसभा बैठक गर्ने सहमति भएको थियो। 

    उपप्रमुख मधिकर्मीले पार्टीको निर्देशनमा विशेष नगरसभा बैठकको माग गरेको र पार्टी कै निर्देशनमा आफ्नो अध्यक्षतामा विशेष नगरसभा बैठकबसी प्रस्तावहरू सर्वसम्मत पारित गरेको विषयलाई कार्यपालिका बैठकको निर्णयमा ‘विशेष नगरसभा बैठकमा पेश भएका प्रस्तावहरू सम्बन्धमा’ भन्ने भाषा प्रयोग गरेर विशेष नगरसभा बैठकको औचित्य समाप्त गरेकाले आफूहरूले कार्यपालिका बैठकमा लिखित असहमति राख्नुका साथै तेस्रो नगरसभा बैठक बहिष्कार गरेको बताए।

    उनले आफूहरू सहमतिको बाधक नभएको बताए। उनले पार्टीको नीति भन्दा बाहिर जान नचाहेको स्पष्ट पारे। उनले भने, ‘हामी पार्टीको निर्देशन विपरित जान खोजेका होइनौं। पार्टीले एउटै विषयमा फरक फरक नीति लिएका कारण आजको उद्घाटन समारोहमा जान नसकिएको हो।’ उनले छलफलको माध्यमबाट सहमतिका साथ अघि बढ्न तयार भएको बताए।

    बहुमत जुटाउन दौडधुप

    मध्यपुर थिमि नगरपालिकाको तेस्रो नगरसभा बैठकको उद्घाटनसँगै दुवै पक्ष बहुमत जुटाउने कसरतमा लागेका छन्। लामो समयपछि एक ठाउँमा उभिएका नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूबीच फेरि फाटो आएपछि नगरप्रमुख श्रेष्ठसहित नेपाली कांग्रेसको संस्थापन पक्ष र उपप्रमुख मधिकर्मी दुवै पक्ष आ–आफ्नो पक्षमा बहुमत पुर्‍याउने कसरतमा लागेका हुन।

    स्रोतका अनुसार नगरसभा उद्घाटन भएपनि प्रमुखलगायत कांग्रेस संस्थापन पक्षले बहुमत पुर्‍याउन सकेको छैन। बहुमत विना नगरको नीति तथा कार्यक्रम र बजेट पारित नहुने भएपछि दुवै पक्ष नगरसभा सदस्यहरूलाई विभिन्न सुत्र प्रयोग गरी आफ्नो पक्षमा ल्याउने कसरतमा जुटेको स्रोतको दावी छ। 

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]