समाज : मिडिया

अम्बर गुरुङको परिवारसँग माफी माग्न ईकान्तिपुरलाई निर्देशन

असार २१, २०७३

    काठमाडौं : प्रेस काउन्सिल नेपालले झुटो समाचार छापेको विषयमा वरिष्ठ संगीतकार अम्बर गुरुङका परिवारलाई क्षमायाचना सहित पत्राचार गर्न ईकान्तिपुरलाई निर्देशन दिएको छ।

    जिउँदो मानिसलाई मरेको भनी ईकान्तिपुरले समाचार प्रकाशित गरेको ठहर गर्दै काउन्सिलले परिवारलाई क्षमायाचनासहित पत्राचार गर्न र सोको प्रतिलिपी काउन्सिलमा पठाउन  निर्देशन दिएको हो।

    प्रेस काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको गत असार ८ गतेको बैठकले ईकान्तिपुरलाई कारवाही गर्ने निर्णय गरेको हो। ‘वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन सम्बन्धि समाचारको सन्दर्भमा गल्ती स्वीकार गरी क्षमायाचना समेत गरेको पाइएको हुँदा अब उप्रान्त यस्ता संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा बढी सचेत र जिम्मेवार रहन निर्देशन दिने’, काउन्सिलको पहिलो निर्णयमा भनिएको छ।

    ईकान्तिपुरले जेठ २४ गते ग्रान्डी अस्पतालमा उपचार गराइरहेका वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन भएको समाचार प्रकाशित गरेको थियो। तर पछि उक्त समाचार गलत ठहरिएपछि केही घण्टामै समाचार हटाएर माफी मागेको थियो। गम्भीर अवस्थामा उपचार गराइरहेका गुरुङलाई जेठ २५ गतेमात्र अस्पतालले मृत घोषित गरेको थियो।

    ‘जिउँदो मानिसको मृत्यु भइसकेको समाचारबाट अम्बर गुरुङको परिवार र शुभचिन्तकमा गम्भीर चोट पुग्न गएको देखिँदा समाचारमा त्रुटी हुनुको कारण खोली निजका परिवारजनलाई क्षमायाचना सहित पत्राचार गर्ने र सो को प्रतिलिपी काउन्सिलमा पेश गर्न निर्देशन दिने’, काउन्सिलको दोस्रो निर्णयमा भनिएको छ।

    कान्तिपुरका प्रधानसम्पादकद्वारा काउन्सिललाई चेतावनी!

    ईकान्तिपुरसँग जवाफ माग्दा ‘कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले अब आइन्दा बद्नियतपूर्वक अनावश्यक झमेला या झन्झट दिने उद्देश्य प्रेरित स्पष्टीकरण नसोध्न चेतावनी प्रेस काउन्सिललाई दिएको’ प्रेस काउन्सिलले जनाएको छ।

    ‘उक्त समाचार आचारसंहिता विपरीत भएको भनी काउन्सिलबाट ईकान्तिपुर डटकमलाई गरिएको पत्राचारको जवाफमा काउन्सिलको अधिकार क्षेत्रमा प्रश्न उठाउँदै काउन्सिलप्रति लाञ्छित गरिएको व्यहोरा जिम्मेवार र उत्तरदायीपूर्ण नदेखिएको हुँदा विषयवस्तु बाहिर गएर यस्ता टिप्पणी नगर्न ईकान्तिपुर डटकम (कान्तिपुर पब्लिकेसन प्रा.लि.) लाई सचेत गराउने’, काउन्सिलको तेस्रो निर्णयमा भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]