फिचर

'सुन'मा 'सुगन्ध' छरे जस्‍तै वनस्पति उद्यान (फोटो फिचर)

असोज २३, २०७६

    कैलाली : २१५ प्रजातिको वनस्पति। सुन्दर, शान्त वातावरण अनि रमणीय ठाउँ। देवहरिया वनस्पति उद्यानको प्राकृतिक सुन्दरताले कसको मन आनन्दित नहोला र!

    त्यहिँ उद्यानभित्रको सिमसार, जाखोर तालले यहाँको जैविक विविधतालाई कायम राखेको छ।

     सहरीकरणसँगै ‘कंक्रिट’ बन्न लागेको धनगढीमा सुन्दरताको आभास दिलाउने काम पनि यहिँ जाखोर सिमसारले गरेको हो। अझ, यसको सिरानमै रहेको देवहरिया वनस्पति उद्यानले सुनमा सुगन्ध छरेको छ। जाखोर सिमसारले धनगढीमा सुन्दरताको रङ्ग भर्ने काम गरे पनि सिमसारमा रहेको जैविक विविधता मासिने खतरा बढ्दै गएको छ।

    त्यहिँ अनुपन सुन्दरताताले गर्दा देवहरिया वनस्पति उद्यान अवलोकन गर्न आउनेको संख्‍यामा वृद्धि भएको छ। उद्यानमा आन्तरिक पर्यटक बढेको जिल्ला वनस्पति कार्यालय कैलालीले जानकारी दिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको देवहरिया उद्यानमा २१५ प्रजातिको वनस्पति संरक्षण गरिएको छ। उद्यानलाई व्यवस्थित गरिएपछि घुम्न आउने आन्तरिक पर्यटक बढेका हुन। 


    ‘दैनिक करिब पाँच-छ सयको हाराहारीमा आन्तरिक पर्यटक आउँछनु’, जिल्ला वनस्पति कार्यालयका वैज्ञानिक अधिकृत लक्ष्मण झाले भने,‘अहिले चाडपर्व आइरहेकाले उद्यानमा धेरै चहलपहल बढेको छ।’ सहरको कोलाहलबाट आजित भएर शान्त वातावरणमा रमाउन चाहनेहरू उद्यानमा पुग्ने गरेको झाको भनाइ छ। ‘विदाको दिन अझ बढी मान्छे आउँछन्’, उनले थपे। 

    देवहरिया वनस्पति उद्यानभित्र मिनी पार्क बनाउनुका साथै, बस्ने ठाउँ, गोल घर पनि निर्माण गरिएको छ। बाटोघाटो बनाइएको छ। उद्यानभित्रै रहेको जाखोर ताल वरिपरी सुधार गरिएको छ। रमणीय जाखोर ताल पनि रहेका कारणले उद्यान घुम्न आउने बढ्दै गएको वनस्पति कार्यालयको भनाइ छ। 

    'घुम्नका लागि सबैभन्दा बढी आन्तरिक पर्यटक नै आउने गरेका छन्’, वैज्ञानिक अधिकृत झाले भने, ‘विदेशी पनि आक्कल झुक्कल आउँछन्। तर, वनस्पतिको बारेमा अध्ययन, अनुसन्धान गर्न आउनेको संख्‍या थोरै छ।’ 

    धनगढीको मुख्य पर्यटकीय स्थलको रूपमा रहेको देवहरिया उद्यान र जाखोर ताल अवलोकन गर्न आउनेले कुनै पनि शुल्क तिर्नु पर्दैन। जिल्ला वनस्पति कार्यालयले निःशुल्क रुपमा नै प्रवेश दिएको छ। तर, निश्चित शुल्क लिने व्यवस्थाका लागि वनस्पति विभागलाई अनुरोध गरिएको जनाइएको छ। 

    विभागले शुल्क लिन भनेमा निश्चित शुल्क लिने झाले बताए। ‘अहिलेसम्म कुनै पनि शुल्क लिने गरिएको छैन’, उनले भने, ‘शुल्क लिने व्यवस्था भएमा चारैतिरबाट उद्यानमा तारबार पनि गर्छौँ।’ यो उद्यानमा सुदूरपश्चिममा मात्रै पाइने दुर्लभ प्रजातिको विजय सालसहित दुर्लभ जडिबुटी पनि संरक्षण गरिएको छ। यहाँ रक्तचन्दन, सुनाखरी, श्रीखण्डसमेत रहेको छ।

    वनस्पति अनुसन्धान केन्द्रको रूपमा रहेको उद्यानमा वनस्पतिबारे सूचना दिनका लागि सूचना केन्द्र स्थापना गरिएको छ। वनस्पतिका बारेमा खोज, अनुसन्धान गर्ने वा जिज्ञासा राख्नेलाई केन्द्रले सूचना उपलब्ध गराउने गरेको छ। देवहरिया उद्यानको क्षेत्रफल १४९.५ हेक्टर क्षेत्रमा फैलिएको छ। जसमध्ये १५ हेक्टरमा वनस्पति, त्यति नै हेक्टरमा ताल र बाँकी क्षेत्रफलमा वन रहेको छ। 

    यसैगरी, धनगढीको मुख्य बजारमा रहेको दशरथ–भीम उद्यानमा भने अपेक्षाकृत पर्यटक नआउने गरेको बताइएको छ। प्रत्येक दिनमा बढीमा एक सय जनासम्म घुम्नका लागि आउने गरेको उद्यान व्यवस्थापनको जिम्मा पाएका ऋषिकेश श्रेष्ठले बताए। 

    ‘हामीले वर्षभरिको तथ्याङ्क राखेका छैनौं’, उनले भने ‘अहिले अफ सिजन चलेकाले घुम्न आउने धेरै छैनन्। दिनमा बढीमा सय जनासम्म आउँछन्।’ देवहरिया वनस्पति उद्यान घुम्नका लागि शुल्क तिर्न नपरे पनि दशरथ–भीम उद्यानमा प्रवेशका लागि भने शुल्क लाग्ने गरेको छ।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]