समाज

पैसा लुट्न आफ्नै साथीलाई गोली,  राष्ट्रपतिबाट माफी :  यस्तो छ कहानी

असार २२, २०७३

    बुटवल : तीन वर्षदेखि थुनामा रहेका अर्घाखाँची सन्धिखर्कका रुद्र पराजुली जेलबाट छुट्ने कुरा थाहा पाएसँगै छिमेकी ताराबहादुर सुनारको परिवार चिन्तामा छ। ३ वर्ष पहिले आफुलाई गोली हान्ने पराजुली राजनीतिक पहुँचका आधारमा जेलमुक्त हुन लागेपछि आफ्नो भोक निद्रा हराएको ताराबहादुर बताउँछन्।

    ‘निक्कै मिल्ने साथी छँदा त झुक्याएर मार्न खोज्ने, रुद्र जेलबाट छुटेर आउँदै छन् रे, खै मलाई त अब सजिलो गरी बाँच्न पाइएला भन्ने नै लाग्न छोड्यो', सुनारले भने ‘शक्ति हुने मान्छे कानुन भन्दा पनि ठूलो हुने रहेछ। बरु उति नै बेला प्राण गएको भए हुन्थ्यो।’

    २०६९ फागुन ७ गते अड्गुरीको रिग्दी एक्लेभीरमा ताराबहादुरमाथि गोली प्रहार गर्ने पराजुलीलाई जिल्ला अदालतले १० वर्ष कैद सजायँ सुनाएको थियो। पछि पुनरावेदन अदालतले ३ वर्ष कटौती गरी ७ बर्षको कैद आदेश तोकेको थियो। पराजुली सरकारले ४ बर्षको कैद मिनाहा गरेपछि १–२ दिनमा जेलबाट छुट्दै छन्।

    यस्तो थियो ३ वर्षअघिको घटना

    ताराबहादुरसन्धिखर्क १ मिडिया चोकमा एउटै घरको सटरमा पसल गर्थे रुद्र र ताराबहादुर (फोटोमा)। रुद्रको सरिता अडियो भिडियो पसल र ताराको महालक्ष्मी गहना पसल। उनीहरु अधिकांश काममा लेनदेन र सरसहयोग गर्थे। २०६९ फागुन ७ गते रुद्रले कपिलवस्तुको ४ नम्बरमा सस्तोमा सुन पाइएको छ भएभरका पैसा लिएर हिंड भनेपछि दिउँसो दुई जना मोटरसाइकलमा कपिलवस्तुतर्फ गएका थिए। ताराबहादुरले त्यतिबेलाको घटना सुनाए ‘उनले मलाई त्यसरी लिएर गएर लुट्ने र मार्ने योजना बनाएका रहेछन्।’

    सन्धिखर्कबाट २ किलोमिटर अगाडि आँटिकापाटा पुगेपछि रुद्रले सुन व्यापारीलाई अर्घाखाँचीको चाक्लामा बोलाएर त्यहीं भेटेका थिए। ‘चाक्लामा एकैछिन कुरा गर्‍यौं, अनि जाडो भयो भनेर फर्किएर हामी ४ जनाले नरपानीमा पुगेर चिया खायौं, चिया खाएर अघि बढेपछि अड्गुरीको रिग्दीको एक्लेभीरमा पुगेपछि रुद्रले फोन आयो भनेर मोटरसाइक रोक', सुनारले घटनाक्रम सम्झिए ‘त्यसपछि त मलाई पछाडिबाट आएर गोली हाने, मेरो पेट छेँडेर गोली गयो, म गुहार माग्दै भीरबाट तल झरेँछु।’

    तीन दिनपछि मात्रै सुनारको होस खुलेको थियो। उनीसँग रहेको ५ लाख ४३ हजार रुपैयाँ लुटिएको थियो। अरु रकम प्रहरीले बरामद गरेर फिर्ता दिएपनि १ लाख ५० हजार रुपैयाँ भने नपाएको उनले बताए। ‘मेरो त्यो रकम पनि कहाँ गयो थाहा भएन', उनले थाहाखबरसँग भने ‘उपचार गराउँदा ६ लाख रुपैयाँ खर्च भयो, तर मैले केही पनि पाइन।’

    खर्च भएको रकम नपाएपनि दोषीले सजायँ पाएको भन्दै ताराबहादुरले चित्त बुझाएका थिए। तर एकाएक राष्ट्रपतिको कार्यालयले रुद्रलाई आममाफी दिएको भन्दै चिठी पठाएपछि उनी थप चिन्तामा परेका छन्। प्रहरीका अनुसार अर्घाखाँचीको सन्धिखर्कका सुन व्यापारी ताराबहादुर सुनारलाई पराजुली सहितको समूहले लुटपाटका लागि हत्या गर्ने उद्देश्यले गोली प्रहार गरेका थिए।

    प्रहरीले घटनाको अर्को दिन पराजुलीसहित अर्घाखाँची पोखराथोकका विमल भन्ने लक्ष्मण सुनार र राजु आचार्यलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

    घटनामा घाइते ताराको बायाँ छातीको तल्लो भागमा गोली लागेको थियो। प्रहरीले घटनास्थलबाट इटालियन पेस्तोल, एक गोली, २ मिसफायर गोली र एक खोका, नगद ४ लाख ६५ हजारसहित सुन तौलने मेसिन र धातु काट्ने औजार बरामद गरी सबुत प्रमाणसहित अदालतलाई बुझाएको थियो।

    प्रहरी प्रतिवेदनमा धनमाल लुटपाटका लागि पूर्व योजना अनुसार ताराबहादुर सुनारलाई गोली प्रहार भएको र घटनाका मुख्य योजनाकार पराजुली रहेको उल्लेख छ।

    रुद्रलाई छुटाउन राष्ट्रपतिको चिठी

    ज्यान मुद्दामा दोषी ठहर भएर कैद सजायँ भोगिरहेका रुद्रलाई छुटाउन असार २० मा राष्ट्रपतिको पत्र सार्वजनिक भयो। जसमा लेखिएको छ ‘हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा ७ वर्ष कैद फैसला भई ३ वर्ष ३ महिना ७ दिन सजायँ भुक्तान गरी हाल कारागार कार्यालय, अर्घाखाँचीमा कैद सजायमा रहेको बन्दी रुद्रप्रसाद पराजुलीको बाँकी कैदको सजायँ मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ।'  संविधानको धारा २७६ अनुसार राष्ट्रपतिले माफी दिन पाउने व्यवस्था छ।

    घटना हुँदाको समयमा रुद्र र तारा दुवै एमाले अर्घाखाँचीका कार्यकर्ता थिए। रुद्र क्षेत्रीय कमिटी सदस्य थिए भने तारा सामान्य कार्यकर्ता थिए। घटनापछि ताराले माले छाडे। तारा अहिले माओवादी केन्द्र निकट उद्योगीको संस्था नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन अर्घाखाँचीका महासचिव हुन्। 

    रुद्रलाई छुटाउन एमालेको डेलिगेशन

    रुद्र घटनामा मुछिएपछि एमालेले उनलाई जोगाउन अनेक प्रयास गर्‍यो। तर समातिएका अरु दुवैले उनलाई मुख्य योजनाकार बताएपछि उनी जेल परे। जेल परेपछि पनि एमालेले उनलाई छुटाउनका लागि जिल्ला कमिटीकै नेतृत्वमा प्रधानमन्त्रीसमक्ष पटक पटक डेलिगेसन गएको थियो। प्रधानमन्त्रीलाई उनी निर्दोष रहेको र उनलाई आममाफी दिन सिफारिस गर्न पटक पटक एमाले जिल्ला कमिटिले अनुरोध गर्दै आएको थियो। तर एमाले अर्घाखाँचीका अध्यक्ष जीवनारायण कोइरालाले पार्टीले निर्णय गरेर आममाफीका लागि सिफारिस नगरेको बताए। ‘हामीले पार्टीकै तर्फबाट त त्यस्तो गरेनौं' उनले भने 'व्यक्तिगत हिसाबले कोही साथीले सहयोग गरेको हुनसक्छ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]