समाज

शंशाकको स्वास्थ्य अपडेटः ओम अस्पतालमा ८ घण्टा

रिपोर्टरको डायरी

असार २२, २०७३

    काठमाडौं : मंगलबार राति खाना खाएर बसेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला एक्कासी बेहोस भएपछि अस्पताल कुदाइयो। रातिदेखि नै कोइरालालाई ओम अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

    अस्पतालमा कोइरालालाई भेट्ने कांग्रेस नेता कार्यकर्ताको भीड छ। अस्पतालको आँगनमा नेता कार्यकर्ता झुण्ड झुण्ड बनेर कोइरालाको स्वास्थ्य अवस्था र आफ्ना कुरा गरिरहेका छन्।

    बुधबार बिहानै सभापति शेरबहादुर देउवा अस्पताल पुगेका थिए। उनले आइसियु कक्षमै पुगेर महामन्त्री कोइरालालाई हेरे। उनले उपचारमा संलग्न डाक्टरहरुसँग कोइरालालाई एयर एम्बुलेन्सबाट दिल्ली लैजान प्रस्ताव गरेका थिए तर स्वास्थ्य अवस्था स्थिर भएकाले बाहिर लैजान सक्ने अवस्था नरहेको जवाफ दिएको उपचारमा संलग्न डाक्टर लवनरसिंह जोशीले  बताए।

    लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल आइपुगे। प्रम ओली कोइरालालाई राखिएको कक्षमा प्रवेश गरे। उनी केहीछिन भित्र बसे, कोइरालालाई उपचार गरिरहेको भेन्टिलेटरतिर हेरे, उपचारमा संलग्न डाक्टर र कांग्रेस नेताहरुसँग कुराकानी गरे र फर्किए। उनले सँगै रहेका नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीसँग उपचार प्रबन्धबारे जानकारी लिएका थिए। प्रम ओलीले उपचारमा सरकारले आवश्यक सबै सहयोग गर्ने बताए। 

    लगत्तै आए, नेपालका लागि भारतका राजदूत रणजित राय। उनले शशांकको अवस्था बुझ्नुका साथै कांग्रेस नेताहरुसँग पनि कुरा गरेर फर्किए।

    कोइरालाको स्वास्थ्यअवस्था बुझ्न नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायत नेता अस्पताल आए। उनीहरुले स्वास्थ्यअवस्था बुझ्नुका अलवा डाक्टरहरुसँग जानकारी लिएका थिए।

    कोइरालाकी एकमात्र सन्तान सुप्रिया कोइराला निराश मुद्रामा थिइन्। नातामा भाइ पर्ने शशांकलाई भेटेर फर्किँदा कांग्रेस नेतृ सुजाता कोइरालाका गहमा आसुका धारा बगिरहेका थिए। उनको रुवाइले वरपरको वातावरण नै स्तब्ध बनाइदियो।

    साढे १० बजे बिहान अस्पतालले पत्रकार सम्मेलन गर्‍यो जसमा कोइराला अस्पताल भर्ना हुँदादेखि हालसम्मको अवस्थाबारे जानकारी गराइयो। पत्रकार सम्मेलनमा कोइरालाको स्वस्थ्य अवस्था स्थिर र गम्भीर भएको अस्पतालका निर्देशक समेत रहेका डा. हरिकिशोर श्रेष्ठले बताए।

    एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल भियतनामको भ्रमण सकेर एयरपोर्टबाट सिधै अस्पताल आइपुगे। उनले कांग्रेस नेताहरु बालकृष्ण खाँण र पूर्णबहादुर खड्कासँग कोइरालाको स्वास्थ्य अवस्थाबारे छलफल गरे। भीडभाड भएको भन्दै भित्र जान नमाने पनि उनलाई भेट्न लगियो।

    अन्य दलका नेता र सरकारका मन्त्रीहरु आउने क्रम जारी रह्यो। उपप्रधानमन्त्रीद्वय कमल थापा र विजयकुमार गच्छदार लगायत अन्य मन्त्रीहरु कोइरालालाई भेट्न आए। कोइरालाको स्वास्थ्य अवस्था बुझ्न माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पनि आएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की पनि कोइरालाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल आएका थिए।

    सशस्त्र प्रहरीका महानिरीक्षक दुर्जकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल सँगसँगै अस्पताल आएका थिए। नेता कार्यकर्ता आउने क्रम जारी छ। शुभचिन्तकहरु अस्पतालको गेटमा राखिएको रजिस्टरमा कोइरालाको शिघ्र स्वास्थ्यलाभको कामनाका शब्दहरु लेखिरहेका छन्।

    अस्पतालमा पत्रकारको पनि भीड उस्तै छ। के खबर आउला? कस्तो सूचना आउला? भन्ने कौतुहलता सबैका अनुहारमा पढ्न सकिन्छ। अस्पतालले सवा ३ बजे कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्‍यो।

    पत्रकार सम्मेलनमा कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको र २४ घण्टासम्म केही भन्न नसकिने डा. लवनरसिंह जोशीले बताए। लगत्तै पत्रकार बाहिर निस्के र न्युजरुममा समाचार टिपाउन थालिहाले। अस्पताल हातामा कुरिरहेका नेता कार्यकर्ता चिन्तित मुद्रामा ‘डाक्टरले के भने’ भनेर जान्न खोजिरहेका थिए। मलिन अनुहारमा रहेका सबैको चाहना देखिन्थ्यो- शशांकलाई स्वास्थ्य लाभ होस्।

    सम्बन्धित समाचारः

जयसिंह महरा

महरा २०७६ मंसिर १५ सम्म थाहा खबरमा कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]