समाज

संसद विकास कोषको लगानी आधा खोलामा, आधा झोलामा

असार २३, २०७३

    भूपाल थापा

    कपिलवस्तु : जिल्लाको भृकुटी नगरपालिका ९ नयाँबस्तीको घोराही नाला सिञ्चाईं प्रणाली अन्तर्गत दशवरिया बाँध निर्माण पूरा नहुँदै भत्किएको छ। गएको जेठदेखि निर्माण सुरु भएको बाँध असार १५ मै भत्किएर लथालिंग भइसकेको छ।

    कमसल निर्माण सामग्री र प्राविधिक गल्तीका कारण निर्माण पूरा नहुँदै भत्किएको स्थानीय वासिन्दाले बताएका छन्। बाँधमा १५ मिटरको पर्खाल इन्जिनियरको स्टिमेट अनुसार लगाएको भएपनि नयाँ माटो पटानमा पर्खाल लगाउँदा भत्किएको स्थानीय गोपाल सुनारले बताए।

    खेती लगाउने बेलामा बाँध भत्किएपछि किसानहरुलाई समस्या भएको छ। यस योजनाबाट धनकौली गाबिसको धनकौली, मलवा, गगनी, बिजगौरी र राजपुरको पक्रेहटा मोहम्मदनगर लगायतका १२ गाउँको जमिनमा सिंचाइ गर्ने योजना थियो।

    २०४३ सालमा करिब ५ लाखको लागतमा तत्कालिन प्रधानपञ्च केदारप्रसाद चौधरीको अगुवाइमा शुरु भएको दशवरिया बाँध हालसम्म पनि अलपत्र अवस्थामा रहेको छ। ३० बर्षयता धनकौली र राजपुर गाविसमा आउने वजेट र जनश्रमदान खर्च भइसकेको यो नहरबाट यसवर्ष पनि स्थानीयको खेतमा पानी जाने सम्भावना कम नै छ।

    यसवर्ष यस योजनाका लागि संसद विकास कोष अन्तर्गत जिल्लाको क्षेत्र नं. ३ का सांसद बृजेशकुमार गुप्ताले ३० लाख रुपैयाँ बाँधका लागि विनियोजन गरेका थिए।

    स्थानीय वासिन्दाले उपभोक्ता समितिका अध्यक्ष अब्दुल कलाम मुसलमान र  सिञ्चाई कार्यालयका इन्जिनियर सत्यदेव मण्डलको मिलेमतोमा बजेट आधा पनि खर्च नगरी कमसल काम गरेको आरोप लगाएका छन्। स्वीकृत बजेटको आधा पनि खर्च नभएको स्थानीय बुद्धभगवान चौधरी (कुर्मी)ले दावी गरे।

    उनले सिञ्चाई डिभिजन कार्यालय कपिलवस्तुका इन्जिनियर मण्डल र अध्यक्ष कलामको मिलेमतोमा कम गुणस्तरको सामान प्रयोग गरी बनाइएको संरचना भत्किएको आरोप लगाए। काम नै कमसल गरेका कारण खोलामा सामान्य बाढी आउँदा पनि बाँध भत्किएको स्थानीयको आरोप छ।

    उपभोक्ता समितिका अध्यक्ष भन्छन् : अब ५ लाख आफ्नै लगाउँछु

    उपभोक्ता समितिका अध्यक्ष कलामले संसद विकास कोषबाट प्राप्त ३० लाख खर्च भइसकेको तर बाँध भत्किएकाले बाँकी संरचना निर्माणका लागि ५ लाख रुपैयाँ आफै लगानी गर्ने बताए। बाँध निर्माण काम लगभग सकिन लाग्दा अचानक आएको बाढीले नयाँ संरचना भत्काएको दावी गरे।

    इन्जिनियरको स्टिमेट अनुसार नै काम गरेको भएपनि स्थानीय सामुदायिक वनले समयमा माटो नदिएका कारण पर्खाल वरपर माटो राख्न नसक्दा भत्किएको अध्यक्ष कलामले बताए। स्थानीयले इन्जिनियरसंग समस्या राख्न खोज्दा भागेको समेत उनले बताएका छन्। अध्यक्ष कलामले निर्माण कार्यमा कुनै किसिमको अनियमितता र घोटाला नभएको दावी गरेका छन्।

    सिञ्चाई डिभिजन कार्यालयका इन्जिनियर सत्यदेव मण्डलले दशवरिया बाँधको संरक्षणमा स्थानी वासिन्दाले चासो नदिँदा भत्किएको दावी गरे। उपभोक्ता समिति निरिह भएकै कारण यो स्थिति आएको उनले दावी गरे।

    दशवरिया बाँध नजिकै वनदेवी सामुदायिक वन समितिका अध्यक्ष मोतीलाल यादवले सांसद गुप्ता र वन अधिकृत राकेश कर्ण लगायतसंग छलफल गरेर सामुदायिक वनबाट माटो निकाल्न सहमति दिएको बताए। उनले वन संरक्षणका लागि आफुले २ क्वीन्टल तार माग्दा उपभोक्ता समितिले नदिएको गुनासो गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]