राजनीति

'प्रदेश ३ को हिउँदे अधिवेशन माघ १५ अघि नै'

प्रदेशको राजधानी र नाम तोकिने

फाइल फोटो
पुस ३, २०७६

    हेटौँडा : प्रदेश ३ को राजधानी र नामकरण विषयले पछिल्लो समय सरकारलाई आलोचित बनाउँदै लगेको छ। प्रदेश सरकारले नामकारण राजधानीको विषय तोक्न नसकेको भन्दै सत्ता पक्ष र प्रतिपक्षको सांसदले समेत औपचारिक र अनौपचारिक रूपमा सरकारको आलोचना गर्दै आइरहेका छन्।

    यसै क्रममा प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने प्रदेश ३ को हिउँदे अधिवेशन माघ १५ वा त्यो समयभित्र हुने दाबी गरेका छन्। थाहाखबरसँगको कुराकानीमा मुख्यमन्त्री पौडेलले राजधानीको विषय र नामकरणको विषय पनि हिउँदे अधिवेशन सुरु भएलगत्तै आउने बताएका हुन्।

    'हिउँदे अधिवेशन माघको दोस्रो हप्ता वा धेरै पर गए छ भने माघको १५ गते बस्छ,' उनले भने 'जहिले बस्छ, त्यहिले नै नाम र राजधानी टुँगो लाग्छ। यसमा कुनै शंका गरिरहनु पर्ने छैन।'  

    मुख्यमन्त्री पौडेलले माघको १५ भित्र हिउँदे अधिवेशनको दाबी गरेता पनि मन्त्रिपरिषद्को निर्णयले प्रदेश प्रमुखलाई आह्वानको लागि सिफारिस नगरेसम्म आधिकारिता नहुने प्रदेश-३ का सभामुख सानुकुमार श्रेष्ठले बताए। उनले अब बैठक बस्दा सरकारले हालसम्म विधेयक दर्ता नगरेकोले केही विशेष समय, शून्य समयबाहेक अरू विजनेश नभएकोले राजधानी र नामकरण विषय प्रवेश हुनेमा आशंका गर्न नपर्ने बताए।

    कमजोरी नदेखाउ : प्रतिपक्ष

    यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई पटकपटक प्रदेशसभाको बैठक राख्न आग्रह गरेता पनि बेवास्ता गरेको भन्दै कडा शब्दमा विरोध गरेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सरकारमाथि आक्रोश पोख्दै भने, 'कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले संसदमा रहँदा र बाहिर रहँदा शालिन ढंगले विरोध गरेकोमा सरकारले टेरेन तर कांग्रेसले माइक हान्ने, रोष्टम फुटाउने नगरे पनि विरोध गरिरहेको छ। यसलाई सरकारले बेवास्ता गरे समय आएपछि थाहा पाउँछ।' उनले सरकारले आफ्नो र सत्तारूढ दलको कमजोरी लुकाउन आलटाल गरिरहेको बताए। 

    चारवटा अधिवेशनमा प्रदेशसभामा १२७ वटा बैठक बसेको छ। प्रदेशसभाले हालसम्म ४५ वटा विधेयक पास गरिसकेको छ भने ४४ वटा प्रमाणीकरण भइसकेको प्रदेशसभा सचिव रामशरण घिमिरेले जानकारी दिए। यस्तै, प्रदेशसभा नियमावली पनि संशोधन भइसकेको छ। प्रदेशसभामा ५ वटा विषयगत समिति रहेका छन्। हाल प्रदेशमा सरकारले कुनै पनि विधेयक दर्ता गर्न सकेको छैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]