फिचर

पौरखमा रमाएका राजबहादुर : आरन पेसाबाटै जीविकोपार्जन

पुस ३, २०७६

    डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका-३ डोटी घटालको बीच खेतमा सानो झुप्रो। झुप्रोभित्र सोही ठाउँका राजबहादुर टमटाको आरान। उक्त आरनमा राजबहादुरको जीविकोपार्जनको मेसो एकाबिहानैदेखि साँझसम्म सुरु हुन्छ।

    आरनभन्दा ५/१० मिनेटमा हिँडेर उनको घर हाटिगाउँमा पुग्न सकिन्छ। विगत १०-१२ वर्षदेखि उनी आरनको काम गर्दछन्। उनको यो पेसा परम्परादेखि नै चल्दै आएको छ। परम्पराग तरिकामा कोइला बाल्ने हाते मेसिनबाट उनी दिनभरी काम गरिरहेका छन्। ५० वर्षका राजबहादुरले १८ वर्षको उमेरदेखि नै पूख्यौली पेशा अँगालेका थिए। अहिले आरनलाई जीविकोपार्जनको माध्यम बनाएर काम गरिरहेका छन्।

    हलो, कोदालो, बञ्चरो, हसियालगायतका औजारको मर्मत गर्नेदेखि लिएर विभिन्न फलामका भाँडाकुडा बनाएर उनले छोराछोरीको पढाइ खर्चदेखि लिएर साँझ बिहानको छाक टार्देछन्। दैनिक औषत १ हजारदेखि १५ सय रुपैयाँसम्म कमाइ हुने गरेको राजबहादुर बताउँछन्।

    हलो बनाएको २ सय, हसिया बनाएको ३०, कोदालो बनाएको ५० रुपैयाँ उनको दर (रेट) छ। गाउँघरको काम भएका थुप्रैले खलो (धान, गहुँ) दिने गरेको उनी बताउँछन्। अरू सिजनभन्दा पनि धान गहुँ पाक्ने र खेत जोत्ने समयमा राम्रो कमाइ हुने गरेको उनको भनाइ छ।

    सामग्री चोरी हुने चिन्ता

    सामग्री चोरी हुने चिन्ता उनमा छ। ‘अहिले एउटा खेतको बीचमा झुप्रो बनाएर आरन पेसा गरिरहेको छु। समानहरू सबै घर लैजान र ल्याउन समस्या हुने भएकाले समान यतै राखेर जान्छु’ उनले भने, ‘झुप्रोमा राखेका समानहरू चोरी हुने गरेको छ। यसै झुप्रोबाट रोजिरोटी चल्छ। स्थानीय सरकारले यसको मर्मतमा ध्यान दिए केही राहात हुन्थ्यो।’

    ‘काम गर्दा गर्दै ५० वर्ष भयो। यो पेसाबाट आम्दानी राम्रो हुन्छ तर लगानी चाहिन्छ मसँग लगानी गर्ने पैसा छैन् कहाँबाट लगानी गर्ने निकै समस्या  हुने गरेको छ’ उनले सुनाए।

    बिजुली पनि छैन् त्यही भएर दिउँसो मात्र काम गर्छु यदि कसैले बिजुलीको व्यवस्था गरिदियो भने राति पनि काम गर्ने सजिलो हुने उनको भनाइ छ।

    पुर्ख्यौली पेशा हराउने चिन्ता

    आरन पेसा दलितले मात्र गर्ने भएकाले परम्परागत आरन व्यवसाय लोप हुन थालेको छ। धेरै मेहेनत, थोरै आम्दानी, त्यसमाथि समाजले हेप्ने गरेका कारण यो पेसा संकटमा पर्दै गएको उनी बताउँछन्।

    राजबहादुरलाई आफ्नै छोराले समेत यो पेसा नअपनाउने थाहा छ। ‘आफूले आरनको काम जानेको त छु, तर अब छोरो गर्छ जस्तो लाग्दैन ’उनले भने। बजारमा नयाँनयाँ तयार सामान फालाफाल पाइनू, मानिसहरूले गाउँमा समेत खेतीकिसानी छाड्नूलगायतका कारणले आरनको महत्व घटेको उनि बताउँछन्।

    यदि आरन पेसाको संरक्षण गर्ने हो भने आरन पेसा गर्नेहरूलाई सरकारले पुरुस्कारको व्यवस्था गर्नुपर्छ। अहिले आरन व्यावसायमा लागेकाहरूलाई पनि सम्मान गर्नुपर्ने उनको भनाइ छ।

    सरकारसँग आग्रह

    देशमै केही गर्ने उद्देश्यले काम गरिरहे पनि अहिलेसम्म आफ्नो पेसा–व्यवसायलाई प्रवर्द्धन गर्न सरकारबाट सहयोग नपाएको उनको गुनासो छ।

    ‘अहिलेसम्म कुनै ठाउँबाट पनि सहयोग पाइएको छैन’, उनले भने, ‘यो पेसा–व्यवसाय बढाउनका लागि केही आर्थिक सहयोग पाए राम्रो हुन्थ्यो।’ सरकारले सहयोग गरेमा आफ्नो व्यवसायलाई विस्तार गर्ने उनको योजना छ।

    गाउँघरको सरकारका रूपमा रहेको स्थानीय सरकारले पनि आफूलाई नहेरेको उनको आरोप छ। लोप हुँदै गइरहेको आरन पेसाको सम्वर्द्धनका लागि स्थानीय सरकारले विभिन्न किसिमका तालिमहरू दिनुपर्ने उनको सुझाव छ। अहिले आरन पेसा संकटमा परिसकेको बताउँदै उनले त्यस पेसालाई संरक्षण गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए।

    स्थानीय सरकारले झुप्रो अलि व्यवस्थित गरिदिए केही मात्रामा राहात हुने उनको भनाइ छ। ‘वर्षातको समयमा झुप्रो चुहिन्छ। त्यो समयमा काम गर्ने निकै समस्या हन्छ’ उनले भने।

    युवालाई सुझाव

    रोगजारीका लागि लाखौँ लगानी गरेर विदेश जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सके आम्दानीका साथै गर्वका साथ बाँच्न सकिने उनको भनाइ छ।

    ‘आधुनिक तरिकाले विभिन्न व्यवसाय गरेमा युवा विदेश पलायन हुनुपर्दैन’, उनले भने, ‘आफूले गर्न लागेको पेसाबारे ज्ञान हुनुपर्छ। लगनशील भएर लाग्नुपर्छ।’

    सरकारले बेरोजगार तथा गरिब युवालाई सीपमूलक तालिमको व्यवस्था गरे युवाले रोजगारीको खोजीमा विदेशिनु नपर्ने टमटा बताउँछन्। हरेक स्थानीय तहले युवाका लागि सीपमूलक तालिमको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ।

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]