समाज

पाँच महिनामा उपत्यकामा ५ हजार ३४३ सडक दुर्घटना, ७६ को मृत्यु

बढ्दो सवारी दुर्घटनाले प्रधानमन्त्री चिन्तित

पुस ४, २०७६

    काठमाडौं : सवारी दुर्घटना न्यूनीकरण गर्न आवश्यक पहल कदम नचाल्दा दुर्घटना बढ्दै गएको तथ्यांकले देखाएको छ।

    महानगरीय ट्राफिक प्रहरी परिसरले दिएको जानकारीअनुसार आव २०७६/७७ को मंसिरभित्र (साउनदेखि मंसिरसम्म) ५ हजार ३४३ वटा सवारी दुर्घटना भएका छन्। जसमा ७६ जनाको मृत्यु भएको छ। गम्भीर घाइतेको संख्या १३२ र सामान्य घाइतेको ‍३ हजार ६९२ रहेको छ।

    यस वर्षको मंसिरसम्ममा उपत्यकाभित्र ३ हजार ७३९ वटा  मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका छन्। ९२२ वटा ट्रक/टिपर, १ हजार २४१ वटा बस, १५६ वटा माइक्रोबस, ३ हजार ४७० वटा कार भ्यान र जीप, ७३ वटा ट्याम्पो/ट्याक्टर र ६७ वटा शारीरिक शक्तिबाट चल्ने साधन दुर्घटना भएका छन्। जसमा मृत्यु हुने पुरुषको संख्या ६० रहेको छ भने महिलाको संख्या १६ रहेको छ। आर्थिक वर्षको अन्त्यसम्म यो संख्या बढ्न सक्नेछ।

    महाशाखाले दिएको १० वर्षको तथ्यांकमा सबैभन्दा धेरै दुर्घटना आव २०७५/७६ मा भएको देखिन्छ। गत वर्ष ८ हजार ५११ वटा सवारी दुर्घटना भएका थिए। जसमा २५४ को मृत्यु भएको थियो भने गम्भीर घाइतेको संख्या ३१७ रहेको थियो। ज्यान गुमाउने पुरुषको संख्या १९६ र महिलाको संख्या ५८ रहेको छ।

    सवारी दुर्घटनाको कारण

    महाशाखाले दिएको जानकारीअनुसार चालकको लापर्बाही, तीव्र गति, मादक पदार्थ सेवन, यान्त्रिक गडबडी, ओभरटेक, पैदलयात्रुको लापरबाही, तोडफोडको कारण सवारी साधनको क्षति, सडकको अवस्था, अन्य(मौसम र चौपाया) का कारण सवारी दुर्घटना बढेको देखिएको छ।

    यस वर्ष उपत्यकामा चालकको लापर्बाहीले ४ हजार ८०२, तीब्र गतिका कारण २२९, मादक पदार्थ सेवनले २३७, यान्त्रिक गडबडीले २५, ओभरटेकले ३८, पैदलयात्रुको लापरबाहीले १, सडकको अवस्था १० र अन्य(मौसम चौपाया)का कारण १ वटा सवारी दुर्घटना भएका छन्।

    सवारी चालकको क्षमतालाई पनि सवारी दुर्घटनाको कारण मान्ने हो भने यस वर्ष २० वर्षभन्दा तल उमेर समूहका चालकले २ हजार ८६७ वटा दुर्घटना गरेका छन्। २१ देखि ४० वर्ष उमेर समूहका चालकले ४ हजार ८८२ र ४१ वर्षदेखि माथि उमेर समूहका चालकले १ हजार ९४९ वटा दुर्घटना गराएको देखिन्छ।  

    देशका अन्य दुर्घटनाको विकराल अवस्था

    भिरालो सडक, साघुरो बाटो, ओभरटेक जस्ता कैयौँ कारणले सवारी दुर्घटना हुने गरेका उदाहरणहरू छन्।

    गत मंसिरमा देशका विभिन्न क्षेत्रमा ठूला तथा साना सडक दुर्घटना भए। मंसिर २९ गते भक्तपुरबाट कालिन्चोक रिजर्भ गएर फर्किँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको  थियो।  बा. ४ ख ४४६८ नम्बरको बस कालिन्चोक दर्शन गरेर फर्किने क्रममा पाँच किलो भन्ने स्थानमा  दुर्घटनामा परेको हो। दुर्घटनामा १६ जनाको मृत्यु भयो।

    यस्तै, मंसिर ११ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही जाँदै गरेको लु. २ ख २१४८ नम्बरको यात्रुबाहक बस सन्धिखर्क नगरपालिका ६ नरपानी नजिकै सल्लेरीमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो। छानबिन टोलीले बुझाएको प्रतिवेदनमा तीव्र गतिका कारण दुर्घटना भएको भनिएको छ।   

    यी त केही उदाहरण मात्र हुन्। दैनिक रूपमा देशका विभिन्न क्षेत्रमा दुर्घटना भइरहन्छ। दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या पनि बढ्दै गएको छ।

    सवारी दुर्घटनाका कारण प्रधानमन्त्री चिन्तित

    केही दिनअघि मूलुकमा दुर्घटनाका बढेका समाचारहरू आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटना हुँदै नहुने उपाय निकाल्न निर्देशनसमेत दिएका छन्।  प्रधानमन्त्री ओलीले निजी सवारी साधनको तुलनामा सार्वजनिक यातायात दुर्घटना हुँदा ठूलो जनधनको क्षति हुने औँल्याउँदै सार्वजनिक यातायातका चालकहरूलाई तालिम, लाइसेन्सको पुनर्परीक्षण, सडक पूर्वाधार प्रयोगको अनूमतिमा गम्भीर परीक्षण गर्न निर्देशन दिएका हुन्।

    प्रधानमन्त्री ओलीले सिटभन्दा बढी यात्रु राख्न नदिने, छतमा यात्रु राख्न नदिने, निर्माण पूरा नभएका वा यातायात सञ्चालनका लागि योग्य नभएका सडकमा सञ्चालन अनुमति नदिने, चालकको क्षमता परीक्षण गर्नेजस्ता काम तत्काल गरिहाल्न पनि निर्देशन दिए।

    सडक पूर्वाधारको स्वीकृति गर्दा डबल लेन घटीको संरचना स्वीकृत नगर्न, सडकको डिलमा ग्रास व्यारियार अनिवार्य निर्माण गर्ने व्यवस्था गर्न, सडकमा स्पिड ब्रेकरको अनिवार्य व्यवस्था गर्न, बस चालकको कक्षमा ध्यान अन्तै मोड्ने मानिस तथा सामग्री छन् भने हटाउने स्पष्ट नियम बनाइ तत्काल अगाडि बढाउन  गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरूलाई निर्देशन दिएका थिए।

    महाशाखा प्रमुख भीमप्रसाद ढकालले सवारी दुर्घटना कम गर्न आवश्यक कार्यायोजना बन्दै गरेको जानकारी दिए। उनीले सवारी दुर्घटना न्यूनीकरण गर्न आफूहरू गम्भीर भएर लागेको बताए।

    'सवारी दुर्घटनाले निम्त्याउको भयावह अवस्थाबाट प्रधानमन्त्रीसमेत चिन्तित हुनुहुन्छ। हामी पनि चिन्तित छौँ। दुर्घटना रोक्न आवश्यक पहल गरिरहेका छौं', प्रमुख ढकाले भने। 'यहाँ हरेक सवारी चालकले पनि आफूलाई बिनाबर्दीको ट्राफिक हुँ भन्ने कुरा सोच्न सके दुर्घटना न्यूनीकरण हुनु सक्छ।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]