कहाँबाट सुरु हुन्छ कहानी, कहाँबाट अन्त्य। ठ्याक्कै यो कहानीको आदि र अन्त्य छैन। यो कुनै सुनौलो बिहानको एउटा कहानी हो। बिहान एक्कासि ५ बजे निद्राबाट ब्युम्झिएँ म।
मोबाइलमा बिहानको संकेत स्वरूप अलार्म बज्न बाँकी नै थियो। बिहानको ड्युटीले सवेरै उठ्नुको विकल्प पनि थिएन। यो ब्युझाइमा खास अर्थ थियो। सपनामा कोहीसँग म जाँदै थिएँ,कुनै अपरिचित ठाउँ। बाटो परिचित थियो। किनभने बिग्रेको बाटो हिँड्नु मेरो दैनिकी बनेको थियो। भने सपनामा बिग्रेको बाटो हिँड्नु मेरा लागि खास नौलो रहेन।
बाइकमा कोही थियो। लगातार बाइक चलाइरहेँ। म चाहन्थे अफ्ठ्यारो गल्लीमा कुनै दुर्घटना नहोस्। लगातार बाइक एक्सिलेटर बटारिरहँदा पछाडि ध्यान दिन छोडेँ। खै कुन मोडमा मैले पछाडि फर्केर हेरेँ। तर उनलाई देखिनँ जो मेरो बाइकमा बसेकी थिइन्। सोचेँ, 'लडी कि क्या हो!'
उनलाई बोलाएँ। आवाज आएन। छ त केवल छेउमै सिरानी।
ब्युझेपछि पुन सम्झिन खोजेँ अघिकै घटना। धमिलो मात्र परिवेश याद आयो। दायाँबायाँ जंगल थियो। घना जंगलमा सपनाकी राजकुमारीलाई कसैले अपहरण गर्यो होला। सोचेर खिस्स हासेँ।
एकाबिहानै सम्झना आयो, अचेल साथी सर्कलको चिया गफमा अनेक विषयमा गफ भइरहन्छन्।
राजनीतिका, समाजका, देशका विषयमा हाम्रा गफ धारावाहिक रूपमा जान्छन्। तर, अचेल आफ्ना छिमलका साथीहरूले विवाह गरेपछि मलाई पनि पहिलो प्रश्न बिहे कहिले गर्ने भन्ने ओइरो लाग्ने गरेको छ।
दुई दिनको जीवन बाँच्दा किन चाहिएको होला विवाह। जीवनसाथी। सात फेर लगाएर, सँगै बाँच्ने, सँगै मर्ने वाचा गरे पनि यथार्थ त्यस्तो केही हुँदैन। एक्लै जन्मेको हो। एक्लै मर्ने हो। कोही कसेको सति जाने वाला छैनन्। आफू शहीद हुनेबितिक्कै ज्युदो मान्छेलाई शहीद बनाउने सपना नदेख साथीहरू भन्दै विषयान्तर गर्न खोज्छु।
पढाइ जागिरले गर्दागर्दै समय बितेको पत्तै नहुँदो रहेछ। कहिलेकाहीँ ऐना हेर्दा आफ्नै आकृतीले जिस्काउँछ। खिस्स हास्छ एउटा छुसे अनुहार। कहिलेकाहीँ अत्यधिक खुसी हुँदा अथवा दु:खी हुँदा सम्झन्छु साथीलाई।
दुखसुखमा साथ दिने साथीले समेत सधैँ मलाई ल्याङ नगर भनेर बिहेको लागि अघोषित दबाब दिन्छ। जीवनमा घटना र पात्र यात्राका क्रममा भेटिन्छन्। अथवा क्याफेमा चिया पिउँदा पिउँदै पनि विशेष पात्रको आगमन हुन सक्छ।
फिल्म हल अथवा फुटपाथमा सपनामा कोही न कोही पात्र भेटिन सक्छ। जो जीवनको कुनै कालखण्डमा आफ्नो बन्न सक्छ। यसैपनि विवाह र केटी भाग्यको खेल हो।
युवा बेलामा देखेको सपना पूरा हुने सम्भावना रहन्छ। हररात सपनामा फरकफरक पात्रहरू मसँगै यात्रा गर्छन्। सँगै बाँच्ने वाचा गर्छन्। अनी हराउँछन्। ती पात्रको अनुहार चाहेर पनि म याद गर्न सक्दिनँ।
सपनामा पनि स्वर्णिम पल बिताउने सपना देख्ने कोही मसँगै बसको सिटमा बसेको पनि हुन् सक्छ।
जेब्राक्रशको बाटो हिँड्दै गरेकी पनि हुन सक्छे। जसलाई म कुनै मतलव नगरी हिँडेको पनि हुन सक्छु। अथवा भिडले भरिएको गाडीमा झुक्किएर शरीर छोएको भन्दै गाली गरेर हिँडेकी पनि हुन् सक्छे। सुदूर गाउँमा घाँसपात गरिरहेकी पनि हुन सक्छे।
बिहान भाले बास्छ। बिहानबिहान आफ्नो सोचाइको धरातल सम्झन्छु। यताउता हेर्छु। भित्ता र ह्याङगरमा टाँगिएका कपडा देख्छु। फिस्स हास्छु।
अर्को सोचाइ आउँछ। त्यो अपरिचित अनुहार जब परिचित बनेर मेरो जिन्दगीमा आउछिन्, तब खुसीसँग खुसी साट्छिन कि साट्दिनन् होला?
मनको कुरा बुझ्छिन् कि बुझ्दिनन् होला? म जिन्दगीको यात्रामा दौडिरहँदा शक्ति दिन्छिन् कि पछाडि तानेर लडाउँछिन् होला?
म हास्न भुलेको बेला रुवाउँछिन् कि हसाउँछिन होला? हास्दाहास्दै रुवाउँछिन् कि रुँदारुँदै हसाउँछिन् होला? हरेक कुरालाई सकारात्मक देख्छिन् कि नकारात्मक देख्छिन् होला?
साथीलाई मैले यो लेख देखाएपछि भन्दै थियो। 'कहीँ कतै यो आर्टिकल प्रकाशन गरेपछि पढ्नेवाली पो तेरो जीवनसाथी हुनसक्छे। किनभने विवाहितहरू पिँजण्डामा थुनिएका सुँगा हुन्। जसले बाहिरी दुनियाँ आफ्नो आँखाले देखेजति मात्र हो भनि ठान्छ। तर, अविवाहित भने खुला आकाशमा उड्ने गिद्ध हुन जसले संसार जो सुकैलाई पनि आफ्नो बनाउन सक्छ।'
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।