समाज

काठमाडौंका सडकबाट ४ दिनमा २१५ जना बेसहाराको उद्धार

पुस ४, २०७६

    काठमाडौं : काठमाडौं महानगरपालिकाले चार दिनमा रातको समयमा सडक किनारामै सुत्ने दुई सय १५ जना व्यक्तिलाई उद्धार गरेको छ। महानगरपालिकाले घोषणा गरेको (सहयोगापेक्षी) मानवमुक्त अभियानबाट बेसहारालाई उद्धार गरिएको हो। 

    शुक्रबार राष्ट्रिय सभागृहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको ‘बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त महाअभियान घोषणा मूलव्यवस्थापन समिति’को बैठकमा मानव सेवा आश्रमका ३ नं. प्रदेश इन्चार्ज सुमन बर्तौलाले उक्त विवरण प्रस्तुत गरेका हुन्।

    उनका अनुसार उद्धार गरिएकामध्ये एक सय २९ जना पुरुष, १४ जना महिला, १ बालक र १ बालिकालाई मनोसामाजिक परामर्शपछि घर पठाइएको छ। उद्धार गरिएकामध्ये वास्तवमै सहयोग गर्नुपर्ने भनेर पहिचान गरिएका १५ जनालाई मानवसेवा आश्रममा लगिएको छ। त्यस्तै, ९ जनाको अस्पतालमा राखेर उपचार भइरहेको छ। 

    अहिलेसम्म गरिएका कामको प्रगति सुनिसकेपछि महानगरका प्रमुख एवं मूलव्यवस्थापन समितिका संयोजक विद्यासुन्दर शाक्यले व्यक्तिको बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै उद्धार गरिएका हरेक व्यक्तिको उद्धार पूर्वको अवस्थालाई तस्वीर र भिडियोसहित कागजातमा व्यवस्थित अभिलेख बनाउन निर्देशन दिए।

    ‘व्यक्तिको पुनर्सथापना गराउने सन्दर्भमा विभिन्न खालका कानुनी, सामाजिक र अधिकारसम्बन्धी सवाल आउन सक्छन्,’उनले भने,‘यी सबै सवाल सुन्ने, मनन गर्ने, अवलम्बन गर्नुपर्ने भए अवलम्बन गर्ने। श्रममा आबद्ध व्यक्तिहरू राति अबेरसम्म काम गरिरहेका हुन्छन्। बिहान चाँडै भारी बोक्ने काममा लाग्नुपर्ने भएकोले राति एकदुई घण्टाका लागि सडकमै बस्छन्। तिनीहरूलाई सामूहिक भाडाका घरमा बस्ने व्यवस्था मिलाउनुपर्छ।’ 

    बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सडकबाट मानिसलाई उठाउँदा आइपर्ने सम्भावित प्रक्रियागत तथा व्यावहारिक जटिलतालाई सहज बनाउन कार्यविधि बनाएर अघि बढ्न सुझाव दिए। उनले भने,‘महिला, बालबालिका तथा ज्‍येष्ठ नागरिक मन्त्रालयको अगुवाइमा कार्यविधि तयार पार्न सकियो भने यसले अन्य नगरलाई पनि बाटो देखाउँछ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]