समाज

पर्खाल भत्काएरै निर्माण सामग्रीको गुणस्तर जाँच

पुस ४, २०७६

    म्याग्दी  : म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाटदेखि पिप्ले-भगवती हुँदै बेग जोड्ने सडक कालोपत्रेसहित स्तरोन्नति गर्ने योजनामा प्रयोग गरिएका निर्माण सामग्रीको गुणस्तर जाँच गर्न पर्खाल भत्काएर परीक्षणका लागि पोखरा पठाइएको छ।

    गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित यस आयोजनामा निर्माण कम्पनीले गुणस्तरहीन निर्माण सामाग्रीको प्रयोग गरेको गुनासो आएपछि आइतबार स्थलगत अनुगमन गरिएको हो। कार्यालयका इन्जिनियर सन्तोष अर्याल लगायतको टोलीले निर्माण स्थलमा प्रयोग गरिएका सामग्रीको गुणस्तरबारे अनुगमन गरेको हो। 

    पिप्लेस्थित स्वास्थ्यचौकी नजिकैको घुम्तीमा निर्माण गरिएको पर्खालमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएको गुनासो आएपछि अनुगमन गरी सो पर्खाललाई भत्काएर पर्खालमा प्रयोग गरिएका ढुंगा र बालुवा र सिमेन्टको मिश्रणलाई परीक्षणको लागि नमुना संकलन गरिएको इन्जिनियर अर्यालले जानकारी दिए। उनका अनुसार, पर्खालमा प्रयोग गरिएका ढुंगाहरु केहिमा माटो लागेको भेटिएको थियो।

    निर्माण कम्पनीले प्रयोग गरेका ढुंगा,बालुवा लगायतका निर्माण सामग्रीको गुणस्तर परीक्षणको लागि संकलन गरिएको नमुना पश्चिमाञ्चल इञ्जिनियर कलेजमा पठाइनेछ। एक साताभित्रै रिपोर्ट आउने जनाइएको छ। 

    पर्खाल निर्माण गर्दा माटो मिसिएको बालुवा र सिमेन्ट र गुणस्तरहीन ढुंगाको प्रयोग गरेको पाइएपछि आफूले यसबारे सम्बन्धित निर्माण कम्पनी र कार्यालयलाई समेत ध्यानकर्षण गराएको नेकपा रघुगंगा गाउँ कमिटीका अध्यक्ष दिपक कार्कीले बताए। उनले अनुगमन टोलीले मेसिनरी पर्खाल निर्माण गर्दा माटै माटो भएको ढुंगाको प्रयोग नगर्न अनुगमन टोलीले निर्देशन दिए पनि आयोजनाको कामलाई निरन्तर रुपमा अनुगमन गर्नुपर्ने समेत बताए। 

    आठ किलोमिटर दूरीको गलेश्वर–पिप्ले–भगवती–बेग सडक स्तरोन्नतिका लागि एपेक्स–खड्का कृष्ण जे.भी काठमाडौसँग १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। २०७६ जेठ २७ गते सम्झौता गरी दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित कार्यक्षेत्रमा परिचालित निर्माण कम्पनीले हालसम्म ३५ प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

    निर्माण कम्पनीले भने स्तरीय निर्माण सामग्रीको प्रयोग गरी काम गर्न प्रतिबद्ध रहेको प्रतिक्रिया दिएको छ। हाल कच्ची, उकालो, ग्रेड र मोड नमिलेको यस सडक आयोजनामार्फत ८ मिटर फराकिलो बनाउने र ५.५ मिटर कालोपत्रे गरिनेछ। आयोजना मार्फत सडक फराकिलो बनाउने, ग्यावियन जाली, ढुंगाको पर्खाल लगाउने, नाली बनाउने, ह्युम पाइप, कज्वे र बायो इञ्जिनियरीङ गरिनेछ।

    दशकअघि ट्रयाक खुलेको यो सडक कच्ची भएको कारण अहिलेसम्म बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा आवत-जावतका लागि स्थानीयलाई सास्ती भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]