काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी ग...
सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले कर्णाली बासीका समस्या निराकरणका उपायहरुको खोजी गरिरहेको बताएका छन्।
जनताले यी समस्याको समाधान खोजिरहेको र जनता अभावै अभाव बीच बाँचिरहेको सरकारलाई थाहा भएको भन्दै समस्या समाधानको दिर्घकालीन उपायको खोजी भइरहेको मुख्यमन्त्री शाहीले बताए। वीरेन्द्रनगरमा शुक्रवारदेखि शुरू भएको प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकार गठनको दुई वर्षमा जनअपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गरे।
कानुन निर्माण गर्नुपर्ने, नयाँ संरचना निर्माण गर्नुपर्ने र कर्मचारी अभाव भएको अवस्थामा जनअपेक्षा अनुसार काम गर्न नसकेको उनले स्वीकार गरेका हुन्।सरकारले देखिने गरी काम गरेन भन्ने जनताको गुनासो स्वाभाविक भएको उनको भनाइ छ।
जनताले तीव्र विकास, आर्थिक समृद्धि र सुशासन खोजिरहेको भन्दै शाहीले जनताको गुनासो स्वाभाविक रहेको बताए। विकासका भोका जनताले धुलाम्मे सडक, अस्तव्यस्त शहर, सडक सञ्जाल सबै स्थानमा पुग्न नसकेको र खानेपानी नपाएको लगायतका कारण पनि जनताले सरकारले केही गर्न नसकेको भनी गुनासो गरेको स्वाभाविक रहेको उनको भनाई छ।
‘गाउँगाउँमा भ्रष्टाचार बढेको छ। हिंसा कम भएको छैन। जनताले असुरक्षित महसुस गरिरहेका छन्’, उनले भने, ‘यद्यपि सरकार भने आफ्ना काम कारवाही व्यवस्थापनमा तीव्रताका साथ लागिरहेका छौं। हामी कानुन बनाइरहेका छौं। प्रशासनिक संरचना बनाइसकेका छौं।’ मुख्यमन्त्री शाहीले राजनीतिक नेतृत्वले सोचेजस्तो र भनेजस्तो कर्णालीको विकास गर्न चुनौती थपिएको बताए।
‘अहिले पनि कर्णालीका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र लेखापाल छैनन्। काम ठप्प भएको छ’, उनले भने, ‘प्रदेशमा पनि उही अवस्था छ। कार्यान्वयन गर्ने कर्मचारी अभाव भएका छन्।’ प्रदेश सरकार आन्तरिक समस्याको समाधान गर्दै अघि बढिरहेको उनको भनाइ छ।
‘कर्णालीमा भौगोलिक विकटता छ। सडकको अवस्था दयनीय छ। राजमार्गहरू मृत्यु मार्गको रूपमा स्थापित भइरहेका छन्। जसबाट हरेक वर्ष धेरै जनताले ज्यान गुमाउनु परिरहेको छ’, मुख्यमन्त्री शाहीले भने,‘अहिलेसम्म कर्णालीका अधिकांश जिल्लामा बिजुली पुगेको छैन। अँध्यारो नै छ। यो समस्या समाधानका लागि संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय हुन आवश्यक छ।’
यस्तो अवस्था भए मात्र कर्णालीले विकासमा फड्को मार्ने शाहीले बताए। यसैबीच, प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सव २०७६ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारबाट सुरु भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।