समाज

मेलम्चीको पानी असारभित्र सुन्दरीजलमा

पुस ४, २०७६

    नारायण ढुङ्गाना 

    सिन्धुपाल्चोक :  मेलम्ची खोला आफ्नै तालमा छङछङ् बगिरहेको छ। समीपमा केही मजदुर रड बुुन्दै छन्। कोही ड्रिल गरेर पहरा फोर्दैछन्। स्काभेटर खोला खोलेर ढुंगा निकाल्न प्रयोग भइरहेको छ। टिपरहरू बालुवा–गिट्टी बोकिरहेका छन्। अन्य मजदुरहरू फलाम काट्ने, रड मिलाउँदै छन्।

    शुक्रबार अपराह्न बहुचर्चित र बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित आम्बाथानमा यस्तैयस्तै दृश्य देखिन्थ्यो।यहाँ इन्जिनियरहरू पहेँलो ज्याकेट र प्लाष्टिक ह्याट लगाएर मजदुरलाई निर्देशन दिइरहेका थिए।

    चाइनिज कामदार पनि आ-आफ्नै जिम्मेवारीमा व्यस्त थिए। कामको तीव्रता देख्दा सम्झौताको समयअघि नै काठमाडौँमा पानी झर्ने आश गर्न सकिन्थ्यो। चालु आर्थिक वर्षको असार मसान्तभित्रैमा सुन्दरीजल पानी झार्ने योजनाका साथ अहिले यहाँ कामलाई तीव्रता दिइएको छ।

    आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने, 'आगामी असारभित्रैमा अस्थायी बाँध बाँधेरै भए पनि सुन्दरीजलमा पानी झार्ने तयारी भइरहेको छ।' तेस्रो पटक नियुक्त भएको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले पूर्ण क्षमतामा कामदार र मेशिनरी औजार परिचालन गरेकाले असारमा पानी पुर्‍याउने लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै आएको छ। 

    शुक्रबार आयोजनाको मुहान क्षेत्र पुग्दा कार्यकारी निर्देशक खत्री फिल्डमा आफैँ खटेका थिए। यहाँ अहिले  हेडवक्र्स (इन्टेक) को काम तीव्र रुपमा भइरहेको छ। त्यही हेडवक्र्समार्फत पानी टनेलमा पठाइन्छ। टनेलको गेट बनाउने कामसमेत जारी छ। उक्त कम्पनीसँग भएको सम्झौतामा ३२ वटा गेट बनाइने उल्लेख छ। 

    दश प्रतिशत बोनसको व्यवस्था भएकाले चिनियाँ निर्माण कम्पनीले काम तदारुकताका साथ गरिरहेको खत्रीले बताए। ढिला गरेमा भने जरिवाना लाग्नेछ। अहिले कामको प्रगति देख्दा असारमा पानी झार्ने सकिने उनले दाबी गरे। उनले सुरुङभित्रको काम ‘फिनिसिङ’ को चरणमा पुगेकाले १० प्रतिशत मात्रै बाँकी रहेको बताए।

    आयोजनाको सबै गरेर ९५ प्रतिशत काम सकिएको उनको भनाइ छ। टनेलको मात्रै ९० र मुहान क्षेत्रको काम ६० प्रतिशत सकिएको जनाइएको छ। यही असोजमा १५ महिने ठेक्का सम्झौता भएको सिनोले एक महिनादेखि आयोजनाको बाँकी कामलाई तीव्रता दिइरहेको छ।

    दैनिक तीन सय कामदार र आवश्यक मात्रामा मेशिनरी औजार परिचालन गरिएको छ। आयोजनाको मुख्य संरचना साढे २६ किलोमिटर लामो सुरुङमार्ग छेडेको इटालियन ठेकेदार कम्पनी सिएमसीले ठेक्का तोडेपछि बाँकी काम सिनोले गरिरहेको छ। सिनोले मुहानस्थलमा हेडवक्र्स, अस्थायी संरचना, कफर्ड ड्यामको काम गरिरहेको छ। कार्यकारी निर्देशक खत्रीले सुरुङ ढलान गर्ने काम साढे दुई किलोमिटर बाँकी रहेको बताए। सुरुङमा २८ वटा गेट राख्नु पर्नेछ। 

    मुहानमा स्थायी संरचना हेडवक्र्स (इन्टेक) बन्न अझै एक वर्ष लाग्ने भएकाले तत्काल अस्थायी ड्याम बनाएर पानी पठाउन लागिएको छ। सिनोले सुरुङको बाँकी काम गर्न ८५ करोड र एक अर्ब दुई करोडमा हेडवक्र्सको ठेक्का पाएको आयोजनाले जनाएको छ। असोजमा गरिएको सम्झौताअनुसार १५ महिनाभित्र दुवै काम सक्नुपर्ने छ। 

    मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना हो। सरकारले २०५५ बाट मेलम्चीको काम अघि बढाएको थियो। साढे २६ किलोमिटर सुरुङ खन्नुपर्नेमा झण्डै ६ किमीमात्र खनेर सन् २००९ मा चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वेले ठेक्का तोडेको थियो।

    बाँकी काम गर्न ठेक्का पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीले आफ्नै कारणले गत वर्षको पुसमा आयोजना छोडेकाले सरकारले ठेक्का तोडेको थियो। यहाँ २०७४ चैतमा सुरुङमार्ग छेडिएको थियो। अहिले मुहान क्षेत्रमा चिनियाँ २० र नेपाली १२० कामदारले काम गरिरहेका छन्।

    कूल गरेर ३०० कामदार परिचालन छन्। जसमा ७० जना चाइनिज रहेको जनाइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]