काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी ग...
प्रदेश २ मा तरङ्ग, सरकार फेरिन सक्ने
काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच गत बुधबार आगामी माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनको लागि तालमेल भयो। त्यही तालमेल पनि एउटा कारण बन्यो समाजवादी पार्टीको मंगलबार भएको सत्ता बहिर्गमन।
नेकपाको स्थायी कमिटी बैठक चलिरहेका बेला पार्टीभित्र कुनै जानकारी नदिइ राजपासँग भएको तालमेलप्रति नेताहरुले असतुष्टि जनाए। राजपासँगको चुनावी तालमेलको केही दिनमै उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकारबाट बाहिरियो।
समाजवादी दलको तर्फबाट सरकारमा नेतृत्व गरेर गएका उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री महोमद इस्तियाक राईले मंगलबार पदबाट राजीनामा दिए। सत्ताबाट बाहिरिएको संघीय समाजवादीका अर्का नेता बाबुराम भट्टराईले अब सडक आन्दोलनमा जाने बताउन थालेका छन् ।
प्रधानमन्त्री ओलीले यसअघिको मन्त्रिपरिषद् हेरफेर गर्दा सल्लाह नै नगरी यादवलाई स्वास्थ्यबाट कानुनमा आफूलाई सरुवा गरिको दिएको बताएका थिए। आफू भारतको राजधानी दिल्लीमा रहेका बेला ओलीले चालेको उक्त कदमलाई आपत्तिजनक भनेपनि यादवले अन्तत: कानुन मन्त्रालयको कुर्सी पनि सम्हालेका थिए। उनले संविधान संशोधनको सहमतिमा हस्ताक्षर गरेका ओलीले आफ्नो अपमान गरेको गुनासो गरेका छन्।
करिब ६ महिनादेखि प्रमसँग बोलचाल बन्द रहेका यादवले सोमबारको मन्त्रिपरिषद्को बैठकमा सोझै संविधान संशोधन प्रस्ताव राखेपछि उनको सत्ता यात्रा सकिएको हो। मन्त्रिपरिषद्मा ओलीले बेला न कुबेला संविधान संशोधन हुन नसक्ने भन्दै यादवलाई जवाफ दिदै उनको प्रस्ताव अस्विकार गरेका थिए। यसपछि अपमानित भएको महसुस गरेका यादवले भोलिपल्टै सरकारको कुर्सी खाली गरिदिएका छन्।
संविधान संशोधनको शर्तमा सत्तारोहण गरेका यादवको बहिर्गमन राजनीतिक उपलब्धी बिना नै भएको छ। न त उनले नेकपासँग गरेको सम्झौता अनुसार संविधान संशोधन गराउन सके न त मधेस झरेर जनतालाई दिने उत्तर नै दिने उपाय नै निकाल्न सके। यादवले संविधान संशोधन प्रस्ताव पेश गर्दा प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि समाजवादीको सत्ता यात्रा सकियो।
हुन लागेको राष्ट्रियसभाको निर्वाचनका लागि राजपासँग तालमेलबाट ओलीले समाजवादी र यादवमाथि राजनीतिक तीर हानेका थिए। राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले नेकपासँगको सहमति राष्ट्रियसभाका लागि मात्रै भने पनि त्यसको अन्तिम गन्तब्य सत्तारोहण हुनसक्ने राजनीतिक विश्लेषकहरु बताउँछन्।
हुनत शुरुका केही दिन छोडेर ओली र यादवबीच सरकारमा रहँदा कहिल्यै राम्रो सम्बन्ध रहेन। प्रधानमन्त्री ओलीले यादवलाई आफूखुसी चलेको बताइरहे भने यादवले आफ्नो मन्त्रालयमा प्रधानमन्त्रीले अनावश्यक हस्तक्षेप गरेको गुनासो पनि गरिरहे ।
राष्ट्रियसभाको निर्वाचनको संघारमा नेकपाले मधेसकेन्द्रित दलमाथि फेरि नयाँ पासा फालेको छ। जसबाट राजपा बिना एजेन्डा सत्तामा पुग्दैछ भने समाजवादी बिना उपलब्धी सत्ताबाट बाहिरिएको छ।
प्रधानमन्त्रीको सरकारी निवासमै पुगेर राजपाले नेकपासँग चुनावी तालमेल गरेको थियो। नेकपा र राजपासँग दुई बुँदे समझदारी पत्रमा समेत हस्ताक्षर भएको थियो।सहमति पत्रमा नेकपाका तर्फबाट अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र राजपाको तर्फबाट संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका छन्। राष्ट्रियसभा निर्वाचनका क्रममा प्रदेश दुईका लागि चार स्थानमा सहमति भएको छ।
प्रदेश नम्बर २ को राष्ट्रिय सभा निर्वाचनका लागि रिक्त स्थानमध्ये अन्य पुरुष समूह र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको दुई स्थानमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने सहमित भएको हो। महिला र दलित पुरुष समूहको दुई स्थानमा राजपा नेपालले नेकपालाई सहयोग गर्ने सहमति भएको छ। दुई दलबीच राष्ट्रिय राजनीतिका विषयमा नियमितरुपमा छलफल गर्ने र सहकार्यलाई अघि बढाउने अर्को सहमति पनि भएको छ।
दुई वर्षे कार्यकाल सकिन लागेका १८ सदस्यको निर्वाचन हुन लागेको छ। रिक्त हुने लागेका १९ मध्ये एक राष्ट्रपतिबाट मनोनित हुनेछन्।
नियमित छलफल र सहकार्यमा प्रश्न
नेकपा र राजपासँगको भएको सहमतिमा दुई बुँदे सहमति र सहकार्य गर्ने भन्नेमा नेताहरुले प्रश्न उठाएका छन्। पार्टीभित्र यत्रो ठूलो निर्णय गर्दासमेत कुनै जानकारी नगराइएकोमा गम्भीर रुपमा ध्यानाकर्षण भएको नेकपाका स्थायी कमिटी सदस्य भीम रावल बताउँछन्।
‘पार्टीको नेतृत्व तहबाट राजपासँग नियमित छलफल र सहकार्य रहने बुँदामा हस्ताक्षर भएको रहेछ’ उनले भने, ‘त्यस बिषयमा आफुहरुको ध्यानाकर्षण भएको छ ।’
प्रदेश २ सरकार फेरिने !
सहमतिले प्रदेश २ को सरकार परिर्वतन हुने सक्ने समेत आँकलन सुरु भएको छ। राजपासँगको सहमतिले नेकपामा मात्रै नभएर प्रदेश २ मा समेत तरङ्ग ल्याएको छ।
नेकपाले राजपालाई हातमा लिएरहेकाे बेलामा समाजवादीकाे राजीनामाले प्रदेश २ मा थप तरङ्ग पैदा भएकाे छ। राजपासँगकाे सहकार्यले प्रदेश २ काे सरकार समेत परिर्तन हुने चर्चा चलिरहेकाे छ।
समाजवादीलाई धक्का
सत्ताधारी नेकपाले राजपासँग चुनावी तालमेल गर्दा समाजवादी पार्टीलाई धक्का पुगेको छ। समाजवादी पार्टी सरकारमै रहेको बेलामा राजपासँगको तालमेलले समाजवादीलाई धक्का पुगेको थियो।
पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यहरुमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीबाट ९ जना, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट ७ जना, राजपा नेपालबाट दुईजना र समाजवादी पार्टीबाट एकजना छन्।
राजपा नेपालबाट रमेशप्रसाद यादव, वृषेशचन्द्र लाल र समाजवादी पार्टी नेपालबाट रामपृत पासवानको कार्यअवधि सकिँदैछ। नेकपाले राजपासँगको तालमेल गरेपछि समाजवादी पार्टीको राष्टियसभामा नेतृत्व गर्ने समेत रहँदैन।
नेकपाबाट युवराज खतिवडा, हरिचरण शिवाकोटी, बलराम बाँस्कोटा, मिना बुढा, राजकुमार कुँवर, कालिबहादुर मल्ल, युटोल तामाङ, खेमराज नेपाली र कमलाकुमारी ओली छन्।
यस्तै, प्रतिपक्ष दल नेपाली कांग्रेसबाट सरिता प्रसाईं, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले राना, सुरेन्द्रराज पाण्डे, दुर्गाप्रसाद उपाध्याय बद्रीप्रसाद पाण्डे बिदाइ हुँदैछन्।यसपटक कांग्रेसले पनि पहिलेको भन्दा केही संख्या गुमाउदै छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।