राजनीति

कर्णालीमा कुलमानले गरे कार्यसम्पादन सम्झौता

कर्णाली तीन वर्षमा उज्यालो हुन्छ : मुख्यमन्त्री शाही

पुस ५, २०७६

    सुर्खेत : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुर्खेतमा कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

    शनिबार नेपाल विद्युत प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई कर्णाली प्रदेश डिभिजन कार्यालयअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँग कार्य सम्पादन सम्झौता गरिएको हो।

    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग डिभिजन कार्यालय प्रमुख सुरेन्द्रप्रसाद अग्रहरीले कार्यसम्पादन सम्झौता गरेका छन् भने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखले सम्झौता गरेका छन्।

    कार्यसम्पादन सम्झौतामा विद्युत् चुहावट नियन्त्रणलाई उच्च प्राथमितामा राखिएको छ। जसमा अंकभार ५० राखिएको छ। कार्यसम्पादनमा राखिएका सूचकहरूको वस्तुनिष्ट मूल्याकंन गरी केन्द्र प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको छ।

    औद्योगिक क्षेत्रको निरीक्षण

    शनिबार नै कार्यकारी निर्देशक घिसिङले सुर्खेतको औद्योगिक क्षेत्रको अवलोकन निरीक्षण गरेका छन्। ९० रोपनी जग्गा फैलिएको औद्योगिक क्षेत्रमा रहेका उद्योगीहरूले विद्युत्‍को सेप्रेट डेडिकेटेड फिडर लाइन ल्याउन माग गरेका छन्। देशका अन्य औद्योगिक क्षेत्रमा विद्युतको सेप्रेट डेडिकेटेड फिडर लाइन भए पनि सुर्खेतमा बजार र औद्यागिक क्षेत्रको लागि एउटै विद्युतीय लाइन रहेको छ।

    घिसिङले प्रादेशिक कार्यालयका प्रमुख अग्रहरीलाई डेडिकेटेड लाइनको लागि स्टेमेट सहित छिटो काम अगाडी बढाउन निर्देशन दिएको औद्योगिक क्षेत्र सुर्खेतका प्रमुख जीव नारायण बन्जाडेले जानकारी दिए।

    २०३८ सालमा स्थापना भएको सुर्खेतको औद्योगिक क्षेत्रमा विभिन्न प्रकृतिका २७ वटा उद्योगहरू रहेका छन्। सेप्रेट डेडिकेटेड फिडर लाइन नभएको कारण उद्योगीहरूले समस्या व्यहोरिरहेका  छन्। विद्युत् अनियमित हुँदा लाखौँको नोक्सानी भइरहेको उद्योगीहरूको गुनासो छ।

    कर्णालीमा तीन वर्षमा उज्यालो हुन्छ : मुख्यमन्त्री शाही

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका सबै जिल्लामा छिटोभन्दा छिटो राष्ट्रिय प्रसारण लाइन पुर्‍याउन पहल भइरहेको बताए। शाहीले कर्णालीवासीको उज्यालो सपनानिकट भविष्यमै पूरा हुने बताए।

    कर्णालीको विद्युतीकरणको विषयमा छलफल गर्न कर्णाली प्रदेश राजधानी सुर्खेत पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगको छलफलमा उनले छिटोभन्दा छिटो कर्णालीमा विद्युत् आपूर्ति गर्ने व्यवस्था गर्न आग्रहसमेत गरेका छन्।

    ‘अहिले राष्ट्रिय प्रसारण लाइन कालिकोट जिल्ला सम्म जडान गर्ने काम भइरहेको छ, कालिकोट हुँदै जुम्ला जोड्ने कार्य छिटो अघि बढाउने विषयमा छलफल केन्द्रीत भएको छ’ शाहीले भने।  तत्काल कर्णाली राजमार्ग हुँदै राष्ट्रिय विद्युत प्रसारण लाइन विस्तार हुने शाहीले बताए।

    विद्युतीकरणका लागि काम गर्दा आइपर्ने समस्या समाधान गर्न कर्णाली सरकारले सहजीकरण गर्ने मुख्यमन्त्रीको भनाई छ। अहिले कर्णालीलाई गफ होइन, काम चाहिएको भन्दै कर्णालीलाई अध्याँरोबाट उज्यालोमा ल्याउनुपर्नेमा शाहीले जोड दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]