अर्थ

ठेकेदारको बदमासीले फोहोर उठाउने कर्मचारीले पाएनन् तलब

एक सातादेखि उठेन फोहोर

पुस ५, २०७६

    म्याग्दी : म्याग्दीको एकमात्र नगरपालिका बेनी नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा दिएको मिशन फोर वेष्ट म्यानेजमेन्ट प्रालिले फोहोर उठाउने कर्मचारीलाई तलब नदिएपछि विगत एकसातादेखि नगरपालिकाको फोहोर उठन सकेको छैन।

    म्याग्दी सदरमुकाम बेनीको फोहोर व्यवस्थापनको कार्य रोकिएसँगै बजार क्षेत्रको फोहोर उठ्न नसकेको हो। फोहोर व्यवस्थापनको जिम्मा लिएको मिसन फोर वेष्ट म्यानेजमेन्ट प्रालिमार्फत फाहोर व्यवस्थापनमा कार्यरत कर्मचारीले समयमै तलब नपाएपछि उनीहरूले फोहोर संकलनको कार्य रोकेका हुन्। बेनीमा मंसिर अन्तिम सातादेखि नै फोहोर संकलन हुन सकेको छैन।

    फोहोर संकलनमा कार्यरत मनकुमारी परियार, जुना दमाईले तीन महिना र चालक चित्रबहादुर बुढाथोकीले एक महिनाको पारिश्रमिक पाउन सकेका छैनन्। फोहोर संकलन सहयोगी परियार र दमाइले मासिक १९ हजार र चालक बुढाथोकीले २५ हजार तलब पाउने गरी काम गर्दै आएका थिए।

    पटक पटक तलब माग गर्दासमेत नगरपालिका र फोहोर संकलन गर्दै आएको प्रालिबाट उपलब्ध नभएपछि आफूहरूले सवारी साधनको चाबी नै नियन्त्रणमा लिएर फोहोर संकलन कार्यलाई अबरुद्ध बनाएको फोहोर संकलन सहयोगी मनकुमारी परियारले बताइन्। फोहोर संकलन कार्यमा कार्यरत कर्मचारी तलब माग गर्दै काम रोकेपछि बेनी बजारमा फोहोर व्यवस्थापनमा अल्झन आएको छ।

    दैनिक रुपमा ट्याक्टर र कम्प्याक्टरमार्फत बजारको फोहोर संकलन गरी व्यवस्थापन गरिँदै आएको कार्य रोकिएसँगै बजार क्षेत्रका चोक र खाली ठाउँहरूमा फोहोरको समस्या बढ्न थालेको छ। बेनी बजार क्षेत्रबाट निस्कने फोहोरलाई मोहोरमा रुपान्तरण गर्ने गरि बेनी नगरपालिका र मिसन फोर वेष्ट म्यानेजमेन्ट प्रालि पोखरासँग फोहोर व्यवस्थापनको सम्झौता भएको थियो।

    सम्झौता बमोजिम बजारबासीबाट फोहोर व्यवस्थापनको लागि लिइने शुल्कमध्ये ४० प्रतिशत रकम नगरपालिका र ६० प्रतिशत रकम फोहोर व्यवस्थापन गरे बापत प्रालिले लिने र फोहोर व्यवस्थापनमा खटिने कर्मचारीको तलब र सवारी साधनको मर्मत र इन्धन खर्च प्रालिले व्योहोर्ने उल्लेख छ। कर्मचारीलाई दिनुपर्ने तलब दिन प्रालिले आनाकानी गरेको कारण कामै रोकेर तलब पाउनको लागि विभिन्न निकायमा गुहार माग्नु परेको पीडित मजदुरको भनाई छ।

    दिनभरि फोहोरमा काम गर्नुपर्ने र विहान बेलुका छाक टार्ने रकम समेत नपाउँदा आफूहरू समस्यामा परेको अर्का पीडित फोहोर व्यवस्थापन सहयोगी जुना दमाइले गुनासो गरिन्। 

    'असोज महिनादेखि तलब पाएका छैनौं। नगरपालिकामा आउँदा प्रालिले दिने र जिम्मा लिएको कम्पनीलाई माग्दा नगरपालिकाबाट शुल्क बापतको पैसा नपाएकाले तलब दिन नसकेको जबाफ मात्रै आउँछ। हामीले काम गरे बापतको पैसा माग्दा समेत यसरी गुहार माग्नुपर्ने अवस्था आयो’, उनले गुनासो गरिन्। आफूहरूले तलब नपाउँदा घरभाडा, खाद्यान्नलगायतको खर्च चलाउनै मुस्किल परेको र दैनिकी नै अस्तव्यस्त बन्ने अवस्था आएपछि काम रोक्न बाध्य भएको मजदुरको भनाई छ।

    यता बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले मजदुरको तलब नदिने प्रालिका सञ्चालक र पीडित मजदुरलाई राखेर समझदारीको प्रयास गरिएको बताए। उनकाअनुसार, प्रालिले नगरपालिकामार्फत पाउने शुल्क बापतको रकममध्ये हालसम्म ३५ हजार मात्रै बाँकी रहेको र अन्य रकम उपलब्ध गराई सकिएको जानकारी दिए।

    ‘बजारमा केही उपभोक्ताले फोहोर शुल्क नतिरेको देखिएको छ। त्यो शुल्क समेत उठाउनका लागि कार्यालयले आवश्यक कदम चालिसकेको छ। फोहोर संकलन कार्यलाई सुचारु गराउन समन्वय गरिरहेका छौँ’ उनले भने।

    उपभोक्ताबाट शुल्क नउठ्दा तलब दिन सकिनः ठेकेदार

    बेनी नगरपालिकासँग सम्झौता गरी फोहोर व्यवस्थापनको जिम्मा पाएको प्रालिका सञ्चालक यामबहादुर दमाइले सबै उपभोक्ताबाट शुल्क नउठेका कारण आफूले प्राप्त गर्नुपर्ने रकम सबै पाउन नसक्दा तलब दिन समस्या भएको जिकिर गरे। ‘म आफैँ मजदुर हो। मैले मजदुरलाई पीडा दिने कुरै हुँदैन। नगरपालिकालाई शुल्क बापतको रकम दिनुस् भनेको छु। पाउँदासाथ उनीहरूको सबै तलब उपलब्ध गराउँछु भनेको छु। तर फोहोर नै संकलन गर्न अवरोध सिर्जना गर्ने कामले समस्या निम्त्याएको छ’, उनले भने।

    कर्मचारीले सवारी साधनको चावी नै नियन्त्रणमा लिएर काम रोक्दा बजारबाट संकलन हुने फोहोर व्यवस्थापन गर्न आफू समस्यामा परेको उनको भनाई छ। यस प्रालिले बेनी बजार र गलेश्वर क्षेत्रमा संकलन हुने फोहोरलाई बेनी-गलेश्वर सडक खण्ड अन्तर्गत ठूलो पहिरोमा निर्माण गरिएको सरसफाइ केन्द्रमा प्रशोधन गरी कुहिने र नकुहिने फोहोरलाई वर्गीकरण गरी फोहोरबाट मोहोरमा रुपान्तरण गर्दै आएको छ। प्रशोधन गरी कबाडी सामग्रीको आम्दानीबाट प्रालिले नै आम्दानी गर्दै आएको छ।

    नगरपालिकाले पनि वास्ता गरेन : पीडित

    बेनी नगरपालिका ३ भकिम्लीकी मनकुमारी परियारले बेनी नगरपालिकामा फोहोर व्यवस्थापनको काम गर्न थालेको १४ वर्ष भयो। तत्कालीन अथुङ्गे गाविस रहँदा सुरुमा मासिक १ हजार ४ सय रुपैयाँ तलब पाउने गरी फोहोर संकलनको काम थालेकी परियारले नगरपालिकाले आफूहरूमाथि अन्याय गरेको गुनासो गरिन्।

    करार कर्मचारीको रुपमा रहेर वर्षौदेखि फोहोर व्यवस्थापनको काम गर्दै आए पनि पछिल्लो पटक भने नगरपालिकाले फोहोर व्यवस्थापनको नाममा आफूहरूलाई समेत जानकारी नदिइकन करार कर्मचारीबाट हटाएर ठेकेदारमार्फत तलब बुझ्ने गरी झमेला काम गरेको गुनासो गरिन्।

    ‘हामीले नगरपालिकाकै कर्मचारीको रुपमा काम गर्न चाहन्थ्यौँ। तर फोहोर व्यवस्थापनको जिम्मा लिने ठेकेदारको जिम्मा लगाएर हाम्रो रोजीरोटीलाई खोस्ने काम भएको छ’, उनले भनिन्। अहिले प्रालिले तलब नदिएपछि परियार लगायतका मजदुर आन्दोलित नै बनेका छन्। उनीहरूले तलब बापतको रकम दिलाई दिन मजदुरको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) लाई समेत गुहारेका छन्।

    ‘म सुत्केरी हुँदा समेत बजारबाट फोहोर उठाएको छु। हामी दुखीको श्रम चल्ने तर बचन नबिक्ने रहेछ। दैनिक रुपमा फोहोरको काम गर्दा पनि तलब माग्दा हारगुहार नै गर्नुपरेको छ’,उनले दुखेसो पोखिन्।

ध्रुवसागर शर्मा

शर्मा थाहा खबरका म्याग्दी समाचारदाता हुन् ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]