अर्थ

सडकले सिध्याउँदै घान्द्रुक पदमार्ग, देखिनै छाडे पर्यटक

बन्द हुँदै व्यवसाय

पुस ७, २०७६

    पर्वत : कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुक गाउँ नेपालका पर्यटकीय गन्तब्य मध्येको एक प्रमुख आकर्षण हो। घान्द्रुक पुग्न कास्कीको नयाँपुलदेखि पदयात्रा शुरु गरिन्छ। तर सडक विस्तारसँगै घान्द्रुक पुग्न सवारीसाधन प्रयोग हुन थालेपछि पदमार्ग आसपासमा सञ्चालित व्यवसाय विस्थापित हुन थालेको छ।

    केही वर्ष अघिसम्म कास्कीको नयाँपुलदेखि पर्यटकीय गन्तव्य घान्द्रुकसम्म बाटैभरि  पदयात्रीको भीडभाड हुन्थ्यो। देशभित्र र बाहिरका पर्यटकहरु पिठ्युँमा झोला भिरेर उकालो-ओह्रालो हिँडिरहेका देखिन्थ्यो। तर सडक विस्तारसँगै यो पदमार्गमा पदयात्रा र व्यवसायिक गतिविधी पातालिँदै गएको छ। अहिले पदमार्ग भएर घान्द्रुक पुग्ने पर्यटकको संख्या निकै नगन्य देखिन्छ। 

    पदमार्गलाई मोटरबाटोले उछिनेपछि ट्रेकिङमा जानेहरू निकै कम देखिने गरेको स्थानीय नागरिक बताउँछन्। केही वर्ष पहिले नयाँपुलबाट हिँडेरै घान्द्रुक पुगेका पर्वत कुस्माका अच्युत पौडेलले यो पटक यस्तै अनुभव गरेका छन्। उनले भने–‘घान्द्रुकमा यो मेरो चौथो पटकको यात्रा हो। 

    हरेक पटक आउँदा घान्द्रुकमा पर्यटकको उपस्थिति बाक्लै देखिन्छ, तर पहिले पदमार्गमा जुन राैनक थियो, अहिले मोटरबाटोले त्यसलाई खोसिसकेछ।' अहिले किम्चेसम्म धमाधम गाडी चलेको र त्यहाँबाट घान्द्रुकसम्मै पनि सवारीसाधन चल्ने गरेकाले पदमार्गको गतिविधी सुस्ताउँदै गएको पाैडेलले बताए।

    घान्द्रुक गाउँ कास्कीको अन्नपूर्ण गाउँपालिका-७ नयाँपुलबाट ११ किलोमिटरको दूरीमा छ। तीन किलोमिटर तल रहेको पहिलो बस स्टेशन किम्चेबाट सयौँको संख्यामा सानादेखि ठूला सवारीसाधन घान्द्रुकसम्मै पुग्छन्। यही कारण किम्चेदेखि नयाँपुलसम्मको पदमार्ग लगभग सुनसान त छँदैछ, त्यो भागमा रहेका धेरै होटलहरु विस्थापित भइसकेका छन्‌। 

    पदयात्री सवारीमा जाँदा पदमार्गका होटल र पसलमा व्यापार हुनै छाडेको छ। पदमार्गअन्तर्गत स्याउली बजारमा पसल गर्दै आएकी भिमकुमारी रानाले अब पदयात्रीलाई पर्खेर बसेर होटेल चल्ने अवस्था नरहेको बताइन्। स्याउली बजारकै लोकबहादुर सारु मगरले पनि गाडीले ओसार्न थालेपछि पैदलयात्रा गर्ने पर्यटक देख्न नपाउने स्थिति आएको बताए।

    ‘पर्यटक हिँडिदिए पो पसल चल्थ्यो! बाटोमा मान्छे नै नहिँडेपछि अब किन पसल चलाउनु र?’ मगरले भने-‘कच्ची बाटोमा गुड्ने गाडीले मान्छे पुरिने गरी धुलो उडाउँदा पनि पदमार्गमा पर्यटक हिँड्न छाडे।’

    करिब चार घण्टामा छिचोल्न सकिने यो पदमार्ग भएर अहिले यात्रा गर्दा किम्चेभन्दा तलका धेरै होटल तथा पसलहरु बन्द भएको, मर्मत अभावमा भत्किएको, आँगनलाई झारले पुरेको देख्न सकिन्छ। यसअघि पदमार्गमा पसल चलाएकाहरू पनि त्यहाँबाट धमाधम विस्थापित भई व्यापारका लागि अन्यत्रै गएका छन्। खुलेका पसलहरुमा पनि व्यापार निकै घटेको छ।किम्चेसम्म सवारी पुग्न थालेपछि त्यो भन्दा तल्लो भागमा पैदलयात्री भेट्टाउनै मुस्किल छ।

    तर त्यसभन्दा माथिल्लो भागमा चाहिँ पर्यटकको आगमन झनै बढेको टाढापानीका अन्नपूर्ण बाजे पनि भनेर चिनिने दङबहादुर गुरुङले जानकारी दिए। ‘पहिले धेरै हिँड्नुपर्दा यात्रा कठिन थियो’ गुरुङले भने–‘तल्लो भागमा के कसो छ कुन्नि! गाडी चलेपछि माथिल्लो भागमा त पर्यटक बढेका छन्।’ पदयात्रालाई मात्रै ध्यानमा राख्दा गाउँको विकास नहुने भएकोले मोटर बाटो गाउँमा पुग्नु खुसीको कुरा भएको उनको तर्क छ।

    यद्यपि, पर्यटन र पदमार्गमा व्यवसाय गर्दै आएकाले भने पदमार्गबाट नै मोटरबाटो निर्माण गर्नु गलत भएको बताउँछन्। समुन्द्री सतहदेखि १९ सय मिटरको उचाइमा रहेको घान्द्रुक अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने पर्यटकीय सुन्दर गाउँ हो।

    घान्द्रुकबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृंखलालाई नजिकैबाट नियाल्न पाइन्छ। साथै मेश्रमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाँडा, गुम्बा र ङयोवराह तालले पनि घान्द्रुक पुग्ने पर्यटकलाई मनोरञ्जन दिन्छन्। ग्रामीण बस्ती, फरक संस्कृति, वन जंगल, मनोरम भूगोल र ढुंगाले कुँदेर बनाइएका घर तथा चिटिक्क पारेर ढुंगा छापिएका सिँढीले पनि पर्यटकलाई तानिरहेका छन्।

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]