अर्थ

बुटवलमा बुधबारदेखि औद्योगिक व्यापार मेला

पाँच लाख दर्शक र १५ करोड कारोबारको अनुमान

पुस ६, २०७६

    बुटवल : बुटवलको देवीनगरमा सञ्चालन गर्न लागिएको औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको आयोजक बुटवल उद्योग वाणिज्य संघले जनाएको छ। संघले आइतबार मेला सचिवालयमा पत्रकार सम्मेलन गरि तयारीका काम पूरा भएको जनाएको हो।

    मेलाको बुधबार सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलले उद्घाटन गर्नेछन्। नेपाल उद्योग वाणिज्य महासंघ संरक्षक, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश ५ र बुटवल उपमहानगरपालिका प्रवद्र्धक रहेको ‘औद्योगिक व्यापार मेला बुटवल-२०७६’ आगामी बुधबारदेखि बुटवल उपमहानगरपालिका-११ देवीनगरमा सञ्चालन हुँदैछ।

    मुलुकको अर्थतन्त्र सुधारका लागि औद्योगिक बिकास, रोजगारी प्रवद्र्धन तथा उद्यमशीलता बिकास गर्ने, त्यसका लागि कृषिमा आधुनिकीकरण, प्रविधिको प्रयोग र व्यावसायिक विकास तथा पर्यटन पवद्र्धन गर्ने उद्देश्यसहित २०औँ संस्करणको औद्योगिक व्यापार मेला गर्न लागिएको पत्रकार सम्मेलनमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले जानकारी गराए।

    ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नाराका साथ यहि पुसको २३ गतेसम्म सञ्चालन गरिने मेलामा तराईदेखि हिमालसम्मका कृषि, गार्मेन्ट, होटल, इलेक्ट्रोनिक्स, प्रविधी तथा परामर्श, हस्तकला, अटो, महिला उद्यमी, पर्यटनलगायतका पाँच सय स्टल सहभागि हुनेछन्। १५ दिनसम्म सञ्चालन गरिने मेलामा पाँच लाख दर्शकले मेलाको प्रत्यक्ष अवलोकन गर्ने र मेलाभित्र १५ करोडको कारोवार हुने अपेक्षा गरिएको अध्यक्ष हमालले जानकारी गराए।

    २०४१ सालमा उपत्यका बाहिर पहिलो पटक औद्योगिक व्यापार मेला गरेको बुटवल उद्योग वाणिज्य संघले ६६ वर्षको लामो संस्थागत यात्रामा १९ वटा मेला सम्पन्न गरिसकेको छ। विगतमा गरेका मेलाबाट सिकेका कुरालाई परिस्कृत गरेर २० औँ संस्करणको मेला सञ्चालनको तयारी गरिएको छ।

    उद्यमशीलता विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यवसायिक क्षेत्रहरुको खोजी गरी रोजगारीका अवसरहरु सृजना गर्न अझ परिस्कृत रुपमा मेलाको आयोजना गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यस्तै, नेपाल भ्रमण बर्ष २०२० को पूर्वसन्ध्यामा यस क्षेत्रको पर्यटनसम्बन्धी गतिविधि प्रवद्र्धन गर्ने अवसरको रूपमा समेत मेलालाई लिइएकोछ।

    यस्तो हुनेछ मेला

    मेलालाई आकर्षण बढाउनकालागि यस क्षेत्रका पर्यटकीय स्थल समेटिएको सेल्फी जोन निर्माण गरिएको छ भने पानीबाट चल्ने गाडी, हुन्डाई गाडीको सिमुलेसन सहितको प्रबिधि मेलामा राखिने छ। त्यस्तै, यस क्षेत्रको ऐतिहासिक जीतजढी किल्ला आकृतिमा प्रवेशद्वार, संघको सचिवालय आकृतिमा मेला सचिवालय निर्माण गरिएको छ।

    त्यसैगरी, नेपाली कला, सस्कृति, भेषभुषा संरक्षणका लागि विभिन्न सास्कृतिक प्रतियोगिताहरु एवं झाकीं प्रदर्शन गरिने छ। मेलाको आकर्षणको रुपमा सुरुको पाँच दिनसम्म ईन्दे्रणी समाजको दोहोरी कार्यक्रम सञ्चालन हुनेछ भने यस क्षेत्रमै पहिलो पटक रत्यौली प्रतियोगिता सञ्चालन गरिने संघले जनाएको छ।

    मेलामा बिक्रि भएको प्रत्येक टिकटबाट सामाजिक उत्तरदायित्व बहन गरि शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुदका लागि ३ रुपैयाँ छुट्याइएको छ। मेलामा प्रवेशका लागि टिकटमा ६० रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने विद्यार्थीका लागि ५० प्रतिशत छुट तथा ज्येष्ठ नागरिककालागि परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको संघका महासचिव तथा मेला सचिवालय व्यवस्थापन उपसमितिका संयोजक दिनेशप्रसाद श्रेष्ठले जानकारी गराए।

    पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले बुटवलमा हुने मेला जिल्लाकै गौरव भएकाले पत्रकारिता क्षेत्रबाट सुरुदेखि नै सहयोग रहँदै आएको र आवश्यक सहयोगका लागि प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]