स्वास्थ्य

चिसो पानीमा टाउको थापेर नुहाउँदा पनि हुन सक्छ मस्तिष्कघात

पुस ७, २०७६

    काठमाडौं : अक्सर अन्य मौसममा भन्दा चिसो मौसममा धेरै जनालाई नशासम्बन्धी समस्याले सताउने गर्छ। चिसोले गर्दा हाम्रो शरीरमा रगत सञ्चालनमा समस्या हुने र नशासम्बन्धी सामान्यदेखि मस्तिष्कघात जस्तो  जटिल प्रकारको स्वास्थ्य समस्या देखिने गर्छ।

    अन्य मौसममा भन्दा चिसो मौसममा मस्तिष्कघात हुने जोखिम धेरै हुने चिकित्सकहरू बताउँछन्। मानव शरीरको सबैभन्दा संवेदनशील अंग हो, मस्तिष्क। यसले हाम्रो सम्पूर्ण शरीरको सञ्चालन गर्ने गर्छ। गर्ने कामलाई नियन्त्रण र सञ्‍चालन गरिरहेको हुन्छ। मस्तिष्कको सही सञ्‍चालनका लागि  मुटुले अक्सिजन रगतसहित पठाइरहेको हुन्छ। तर, विभिन्न कारणले कहिलेकाहीँ मस्तिष्कमा रगत सञ्‍चार नहुँदा मस्तिष्कले काम गर्न नसक्ने अवस्थामा पुग्छ, जसलाई मस्तिष्कघात भनिन्छ।

    फेरिएको जीवनशैलीको कारण मानिसहरूमा कम उमेरमै उच्चरक्तचाप जस्ता दीर्घरोगहरू देखा पर्न थालेका छन्। अझै चिसो मौसममा झन् उच्चरक्तचाप जस्ता समस्याहरू धेरै देखिने गर्छन्।

    उच्चरक्तचाप देखिएपछि बिरामीले औषधि सुरु गर्ने र बीचमा छाड्ने, पानी कम पिउने बानीका कारण तथा मस्तिष्कघातको जोखिममा रहेकाहरू उच्चरक्तचाप तथा कोलेस्ट्रोल धेरै भएकाहरूमा चिसो मौसममा मस्तिष्कघात हुने उच्च जोखिम हुने त्रिवि शिक्षण अस्पतालका स्‍नायुरोग विशेषज्ञ डा मोहन शर्मा बताउँछन्। उनले भने, ‘उच्चरक्तचाप, धुम्रपान र अत्यधिक मदिरा सेवन गर्ने र एक्सरसाइज कम गर्ने धेरैमा चिसो मौसममा मस्तिष्कघात हुने जोखिम धेरै हुन्छ।'

    जाडोको समयमा अरू समयमा भन्दा रक्तचाप बढी भई अचानक बान्ता हुने टाउको दुख्ने समस्या भएका बिरामीको संख्या बढेको उनका अनुसार जाडोमा पानी पनि कम पिउने गर्नाले पनि स्ट्रोक हुने गर्छ।

    यस्तै, चिसोले गर्दा नशा बन्द हुने हुँदा धेरै स्ट्रोकको समस्या चिसो मौसममा हुने गर्छ। चिसो मौसममा मस्तिष्कमा रगत जाने सानोसानो नशा बन्द हुने भएकाले मस्तिष्कघात हुने गर्छ।

    यसरी बच्‍न सकिन्छ

    डा शर्मा (मस्तिष्कघात) स्ट्रोक अन्य मौसममा पनि  हुने भए पनि जाडोमा स्ट्रोकका बिरामी बढी हुनुको प्रमुख कारण बिहानै चिसोमा काम गर्ने, चिसो धाराको पानीमा टाउको थापेर नुहाउने, बिहानको घुमफिरमा, टाउकोमा चोट लाग्दा, रगतसम्बन्धी औषधिको लापरबाही तथा उच्चरक्तचाप, मुटुको समस्या तथा कोलेस्ट्रोल, मधुमेह जस्ता समस्याका कारण पनि मस्तिष्कघात हुनसक्ने बताउँछन्।

    यस्तै, यो मौसममा मष्तिष्कमा नशा फुटेर रक्तश्राव भएका बिरामी अझ बढी आउनेसमेत उनले बताए। मस्तिष्क हाम्रो शरीर सञ्‍चालन गर्ने एक महत्त्वपूर्ण अंग भएकाले मस्तिष्कमा समस्या देखिँदा ज्यानै जाने सम्‍भावना हुने हुँदा यसबाट बच्नुपर्छ।

    विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हरेक वर्ष डेढ करोड बढी मानिसहरू मस्तिष्कघातको सिकार हुने गरेका छन्। तीमध्ये ५८ लाख बढीको मृत्यु हुन्छ। विश्वभर प्रत्येक ६ मानिसमध्ये एक जनालाई मस्तिष्कघात हुने गरेको पाइएको छ, जसमा धेरैलाई चिसो मौसममा मस्तिष्कघात भएको पाइएको छ। स्ट्रोकको समस्याबाट पुरुषलाई भन्दा महिलालाई बढी हुने गरेको पाइएको छ। महिलामा हर्मोनका कारण बढी रक्तचाप घटबढ भइरहने हुनाले महिलामा स्ट्रोक धेरै हुने गरेको पाइएको छ।

     मस्तिष्कघातको लक्षण

     यदि आकस्मिक रूपमा अनुहार बांगो देखिएन, बोली लरखरायो, हात सिधा भएन तथा मुटुको चाल गडबड भयो वा धेरै रिङटा लाग्यो वा वान्ता भयो भने वा टाउको धेरै दुख्यो, हातखुट्टा झम्मझमाउने जस्तो देखियो भने मस्तिष्कघातको लक्षण हुने हुँदा समयमै चिकित्सकलाई देखाउनुपर्ने डा शर्माले बताए।

    स्ट्रोक भइसकेपछि जतिसक्दो चाँडो उपचार गरियो, त्यति नै उपचार सफल हुने सम्‍भावना हुन्छ। स्ट्रोक भएको चार घण्टाभित्र अस्पताल लगियो भने बिरामीलाई छिटो निको बनाउन सकिने हुँदा जतिसक्दो चाढै सम्बन्धित चिकित्सककोमा पुग्‍नुपर्ने हुन्छ।

    चिकित्सकका अनुसार मस्तिष्कघात भएको चार घन्टाभित्र अस्पताल पुगेका ९० प्रतिशत बिरामीले उपचारपछि आफ्नो काम आफैँ गर्न सक्ने हुन्छन्।

    बच्‍ने उपाय

    स्ट्रोकबाट अन्य मौसममा भन्दा चिसो मौसममा स्ट्रोकको सम्‍भावना धेरै हुन्छ। चिसोको कारण शरीरमा रक्तसञ्‍चारमा अवरोध आउने हुन्छ, फलस्वरूप स्ट्रोक हुने गर्छ। यसले गर्दा स्ट्रोको उच्च जोखिममा रहेकाहरू उच्चरक्तचाप, उच्चकोलेस्ट्रोल, मोटोपन जस्ता बिरामीहरूले विशेष सावधानी अपनाउनुपर्छ।

    यस्तै, चिसो मौसममा बिहान मर्निङ वाकमा नहिँड्ने, खाली खुट्टा नहिँड्ने, पानी धेरै पिउने, सकेसम्म धुम्रपान तथा मद्यपान नगर्ने र चिसोमा बिहानै हुस्सु लागेको समयमा घरबाट ननिस्कने गर्नुपर्छ। यस्तै, चिसो मौसममा सकेसम्म मोटरसाइकलमा बिहानै नहिँड्ने, चिसोमा अचानक बेस्सरी टाउको दुखेमा, बान्ता भएमा वा रक्तचाप उच्च भएमा तुरुन्त चिकित्सककहाँ गई उपचार गराइहाल्नुपर्छ।

    चिसो मौसममा स्ट्रोकबाट बच्न सकेसम्म धेरै चिसो पानी नचलाउने तथा चिसो पानीमा नुहाउनुहुँदैन। तातो पानीमा नुहाउँदा पनि सकेसम्म बिहानको समयमा भन्दा दिउँसो नुहाउने गर्नुपर्छ।

    त्रिवि शिक्षण अस्पतालका स्‍नायुरोग विशेषज्ञ डा मोहन शर्मासँगको कुराकानीमा आधारित

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]