राजनीति

'सरकारले भ्रष्टाचारमा कीर्तिमान बनायो, भारतसँग खुट्टा कमायो'

प्रधानमन्त्रीसँग जवाफ मागियो

फाइल फोटो
पुस ७, २०७६

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको अतिक्रमणमा परेको नेपाली भूभाग फिर्ता गराउने सवालमा अडान लिन नसकेको भन्दै सरकारको आलोचना गरेको छ।

    राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेले सुगौली सन्धिले निर्धारण गरेको सिमा कायम हुनुपर्ने विषयलाई सरकारले अडानका साथ राख्न नसकेकोमा आलोचना गरेका हुन्। 

    उनले सीमा सुरक्षा र अतिक्रमणमा परेको भूमि फिर्ता गर्ने सम्बन्धमा भएका प्रयासबारे सदनलाई जानकारी गराउन पनि सरकारसँग माग गरे।

    'प्रधानमन्त्रीले के गरिरहनु भएको छ ? परराष्ट मन्त्रालयले के गरिरहेको छ ? सरकारका अन्य निकायहरुले के गर्देछन् । यो समस्या कसरी समाधान हुन्छ? हामी नेपालीहरु स्पष्ट छौ । कसैको हामीले के इन्च जग्गा मिच्नु पनि छैन । र नेपालको एक इन्च जग्गा दिनु पनि छैन', उनले भने, 'यो कुरा हामीले सप्रमाण भारत समक्ष किन राख्न सक्दैनौ ? सुगौली सन्धिले निर्धारण गरेको सिमा कायम हुनुपर्छ भन्ने कुरा दृढताका साथ हामी किन राख्न सकिरहेका छैनौ । यो कुरा प्रधानमन्त्रीले सदनमा आएर पनि जवाफ दिनुपर्छ । भारतसँग पनि यो समस्या समाधानका लागि तत्काल अग्रसरता लिनुपर्छ।'

    नेपालको जमिन मिचेर भारतले राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको ४ सय वर्ग किलोमिटर भूमि मिच्ने काम भएको दाबी गर्दे सीमामाथि धावा बोल्ने काम हुँदा पनि सरकार मौन बसेकोमा आक्रोश पोखे। उनले वर्तमान सरकारले भ्रष्टाचारमा र्कीतिमान कायम गरेको दाबी पनि गरे।

    सत्तारुढ दल नेकपाका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले गोकर्ण रिसोर्ट र नारायणीहिटी जग्गामा देखिएको विवाद बारे स्पष्ट पार्न सरकारसंग माग गरे। सार्वजनिक जग्गाको संरक्षणमा सक्रिय रुपमा लागेको सरकारले यी दुई जग्गाको बारेमा उत्पन्‍न विवादलाई पनि सम्बोधन गर्नुपर्ने तर्क उनले गरे।

    'खास गरी गोकर्ण रिसोर्ट र नारायणहिटी संग्राहलय अगाडि दरबारमार्गमा रहेको जग्गाको भोगाधिकारसम्बन्धी विषय आलोचनाको रुपमा बाहिर आएको छ । आलोचना र विवाद बाहिर आइसकेपछि स्पष्ट पार्नु सरकारको कर्तव्य हुन्छ । तसर्थ यी विषयमा सदनलाई जानकारी गराईयोस्', उनले भने। 

    विगतमा पनि राजनीतिक मुद्दाको रुपमा लिपुलेक र लिम्पियाधुराको विषय धेरै उठ्ने गरेको भन्दै उनले सीमाको विषयमा स्पष्ट अडान लिएको भन्दै सरकारको बचाऊ गरे।

    अपराध मुक्तको बाटोमा मुलुक अघि बढेको दाबी गर्दै उनले पैसाले कानून र न्यायलाई किनेर उम्कने अवस्था नरहेकाले उच्च ओहदामा बस्नेहरुले पनि नैतिक मुल्यमा आधारित भएर राजनीतिलाई अघि बढाउनुपर्नेमा जोड दिए।

    समाजवादी पार्टी नेपालका राष्ट्रियसभा सदस्य रामपृत पासवानले व्यवस्था परिर्वतन भएपनि सर्वसाधरणले परिर्वतनको अनुभूति गर्न नसकेको बताए। सर्वहाराका नेता भन्न रुचाउनेहरुमा मात्रै परिर्वतन आएको भन्दै उनले विभेदरहित समाज भाषण मा नभई व्यवहारमा देखाउन सरकारलाई चुनौति दिए।

    'आफूलाई सर्वहाराका नेता भन्नेहरु आज धनाड्य बन्न पुगेका छन् । त्यो मात्रै परिर्वतन भएको छ । नेपाली जनता जनताहरुको घरमा आज गरिबी त्यत्तिकै छ', उनले भने,  महंगीकोको सिकार जनता त्यत्तिकै छन् । आज जनताले आलु सकिरहेका छैनन्। दैनिक उपभोग्य बस्तु किन्न नसकेर जनताहरु त्राहिमाम छन्। जनता त्रसित छन् । अनि केमा सरकारले स्वाङ्ग गर्दैछ । सरकारले नाक फुलाउने अवस्था त म देख्दै देख्दिन।'

    विभेद र भ्रष्ट्राचारको अन्त्य भएर युवाहरुले स्वदेशमै रोजगारी नपाएसम्म मुलुक सम्मृद्ध हुन नसक्ने भन्दै वर्तमान सरकारको समयमा एनसेल, गोकर्ण रिसोर्ट लगायत ठूला ठूला भ्रष्टाचारको काण्डै काण्ड भएको दाबी गरे। उनले प्रत्यक्ष र समानुपातिक सांसदलाई विभेद गरिएकोमा पनि आपत्ति जनाए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]