फिचर

अधुरै रह्‍यो सृष्टिसँग भेट्ने वाचा

उपचार गर्नुको बदला अस्पतालले आफन्त खोज्यो

मृतक सृष्टि पन्त
पुस ७, २०७६

    काठमाडौं : ‘हिजो सृष्टिसँग पशुपति कलेजमा भेट भएको थियो। हासखेल गर्दै छुट्टियौँ। आज बिहान करिब ४ बजे मात्रै भेट्ने कुरा फोनमा भएको थियो। यही हाम्रो कुरा अन्तिम रहेछ। सदाका लागि हामीलाई छोडेर गई,’ यी शब्दमा चावहिलस्थित ओम अस्पतालमा भक्कानिएर बरबराउँदै थिइन् सृष्टि पन्तकी एक विद्यार्थी साथी। दुवैले कलेजमा भेट्ने सपना बुनेका थिए तर त्यो सपना बा४ख ५९२० नम्बरको बसले अधुरै बनाइदियो। 

    गोरखा घर भएकी २२ वर्षीय पन्तको बिहान ५ बजे सुकेधारा चोकनजिक बाटो पार गर्ने क्रममा उक्त बसले ठक्कर दिएपछि ओम अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । 
    पन्तकी साथीले सुनाइन्,‘पन्त राम्रो स्वभावकी साथी थिइन्। दैनिक कलेजमा भेट भइरहन्थ्यो। अब त कहिल्‍यै हाम्रो भेट नहुने भयो।’

    ओम अस्पतालमा पुग्दा पन्तको सबै कक्षाका सहपाठीहरू भेला भएका थिए। प्राय सबैका आँखामा आँसु देखिन्थ्यो भने कोही निराश देखिन्थे। पन्तको शव अहिले उक्त अस्पतालमा राखिएको छ। उनी पशुपति कलेजको व्यवस्थापन संकायका चौथौ वर्षमा अध्ययनरत थिइन्। 

    सशत्र प्रहरी बल नेपालका अनुसार आफन्त आएपछि सबै घटनाको विवरण पेस गरी पोष्टपार्टम गरिनेछ। बसका चालक शम्भु बम्जनलाई प्रहरीले पक्राउ गरेको छ। 
    पन्तको मृत्यु भएपछि पशुपति क्याम्पसका विद्यार्थी आक्रोशित भएर मित्रपार्कमा गुडिरहेको एक बसमा आगजनी गरेका थिए भने,भक्तपुर सेवा समितिका अन्य तीनवटा बस तोडफोड गरेका थिए। मित्रपार्कका स्थानीय शीतल केसीले विद्यार्थीले बसमा आगो लगाउनाले नजिकको घरमा समेत क्षति पुगेको बताइन्। उनले भनिन्,‘विद्यार्थीले बस जलाएको आगोले गर्दा घरको सिसा फुटेको छ। सबै तार जलेर नष्ट भएको छ।’ उनका अनुसार घरको सटरमा समेत क्षति पुगेको छ।
    कसरी भयो घट्ना? 
    पशुपति कलेजको विद्यार्थीका अनुसार पन्त टयु्सन पढ्ने गर्थिन्। दैनिक टु्यसन पढ्नकै लागि उनी बिहानै ४ः४५ बजे घरबाट हिँड्ने  गर्थिन्। बिहान त्यही समयमा निस्केर सुकेधारा चोकनजिक बाटो पार गर्ने क्रममा बसले ठक्कर दियो। त्यसपछि उनलाई चिनजान नभएका एक व्यक्तिले ट्याक्सीमा उपचारका लागि ओम अस्पताललमा ल्याए। 
    एक विद्यार्थीले भने,‘पन्तलाई ल्याउने को हो? अहिलेसम्म हामीलाई थाहा छैन। साथीले मलाई फोन गरेपछि अरू साथीलाई लिएर आयौँ।’ उक्त दुर्घटनाले बाटो पार गर्नमा त्रसित भएको भन्दै उनले बस चालकलाई हदैसम्मको सजाय दिलाउनुपर्ने बताए। 

    अस्पतालले उपचार गर्नमा ढिलाइ नगरेको भए पन्त बाँच्‍न सक्ने सम्भावना रहेको उनको भनाइ छ। ‘घटना भएको जानकारी पाएपछि अस्पतालमा आयौँ,’उनले भने,‘हामी आउँदा ओम अस्पतालले प्राथमिक उपचार गरिरहेको थियो। त्यसपछि बिरामीको आफन्त चाहिन्छ भनेपछि बिरामीको माइजूलाई फोन गर्‍यौँ। माइजू आइपुग्दा केही ढिला भयो। आकस्मिक उपचार त अस्पतालले तुरुन्तै गराउनुपर्थ्‍यो।’ उनका अनुसार बिरामीको प्राथमिक उपचार गर्दासम्म बोल्नसक्ने अवस्थामा थिइन्। पछि उपचार गर्दागर्दै उनको मृत्यु भयो। 

श्याम राई

राई शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]