खेलकुद

१३ औं सागमा पदक जित्ने खेलाडीलाई बर्दियामा सम्मान

पुस ७, २०७६

    बर्दिया : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग २०७६) मा पदक विजेता प्रशिक्षक तथा खेलडीलाई ठाकुरबाबा नगरपालिकाले सम्मान गरेको छ। सोमबार ठाकुरबाबा नगरपालिकाले नगरपालिका हलमा एक कार्यक्रमको आयोजना गर्दै खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको हो।

    ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठसहित शिक्षा शाखा प्रमुख रामहरी रिजाल, बर्दिया खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र खनाल, विभिन्न विद्यालयका प्रमुख लगायतको सहभागितामा खेलाडीलाई सम्मान गरेको हो।

    ठाकुरबाबा नगरपालिकाले पदक विजेता ठाकुरबाबा नगरबासी खेलाडी तथा खेल प्रशिक्षकको स्वागत, सम्मान र नगर परिक्रमा गरिएको थियो।ठाकुरबाबा नगरपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उदघाटन गर्दै खेलाडीलाई नगद पुरस्कार समेत प्रदान गरिएको छ। 

    ठाकुरबाबा नगरपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा खोखोमा रजत पदक दिलाउने ५ जना महिला खेलाडीलाई प्रतिव्यक्ति २० हजार तथा कास्य पदक ल्याउने २ जना पुरुष खेलाडीलाई १५/ १५ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको हो। यस्तै प्रमुख प्रशिक्षकलाई ७ हजार ५ सय तथा सहायक प्रशिक्षकलाई ५ हजार रुपैयाँको पुरस्कार वितरण गरिएको जनाइएको छ।

    काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता २०७६ मा नेपालको महिला टोलीले रजत पदक प्राप्त गरेको थियो भने पुरुष टोलीले कास्य पदक हात पार्न सफल भएको थियो। नेपाललाई रजत तथा कास्य पदक ठाकुरबाबा नगरपालिकाका ७ जना बर्दियाबाटै सहभागी भएका थिए। सागमा सहभागी महिला खेलाडीहरू करिश्मा बोगटी, पुनम थारु, निर्मला गिरी, आशा थारु र दिपा विकलाई सम्मान गरिएको हो। यस्तै पुरुष तर्फ गोपीप्रसाद तिमिल्सेना र गौरव रोकायलाई सम्मान गरिएको छ भने १३ औं सागअन्तर्गत नै ट्याथोलन खेलमा नेपाललाई रजत पदक दिलाउन सफल दिपेश चौधरीलाई समेत सम्मान गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए। 

    यसैबीच खोखो खेलमा महत्वपूर्ण योगदान पुर्‍याउने प्रशिक्षकहरू छत्रबहादुर शाही, बलिराम चौधरी, खगेन्द्रबहादुर शाही र नवराज न्यौपानेलाई समेत सम्मान गरिएको नगरपालिकाले जनाइएको छ। ठाकुरबाबा नगरपालिकाका सम्पूर्ण वडाहरूले खेलाडीलाई सम्मान पत्रसहित सम्मान गरेका छन्। 

    खोखोको हब बन्दै ठाकुरबाबा

    पछिल्लो समय ठाकुरबाबा नगरपालिका खोखोको हब बन्दै गएको छ। खोखो खेलले बर्दियालाई देशविदेशमा चिनाउन सफल भएको बर्दिया खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र खनालले बताए।

    ठाकुरबाबा नगरपालिकामा अहिले खोखोका २५ जना राष्ट्रिय खेलाडी तथा ७ जना अन्तर्राष्ट्रिय खेलाडी रहेको खोखो प्रशिक्षक खगेन्द्र शाहीले जानकारी दिए। उनले ठाकुरबाबा नगरपालिकाका ७ जना शाखमा सहभागी खेलाडीले नेपाललाई पदक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। नगरपालिका स्थापना भइसकेपछि खेलकुदलाई सकारात्मक ढंगबाट सहयोग गरिरहेको जनाइएको छ। बर्दिया खेलकुद विकास समितिका अध्यक्ष तथा खोखो संघका अध्यक्ष ठाकुर बाबाकै भएका कारण ठाकुरबाबा खोखोमा अघि बढेको समेत बताउन थालिएको छ।

    नेपालकै एकमात्र खोखो एकाडेमी बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्थापना गरिएको छ। उक्त खोखो एकाडेमीमा ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भइसकेको छ। यस्तै १३ औं साग प्रतियोगिताका लागि खोखोको बन्द प्रशिक्षण समेत उक्त एकेडेमीमै सञ्चालन गरिएको थियो। यसअघि शहर केन्द्रीत मात्रै हुने खेलहरू अब भने गाउँस्तरमा समेत चल्न थालेका छन्। गाउँस्तरमा लुकेर रहेका खेलाडीले अहिले अगाडि आउने तथा आफ्नो प्रतिभा देखाउने अवसर पाइरहेको खोखो संघका अध्यक्ष छत्रबहादुर शाहीले बताए।

    राष्ट्रपति रनिङ शिल्डमा खोखो समाबेस

    ठाकुरबाबा नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डमा खोखो खेललाई समेत समावेस गरेको छ। नगरपालिकाले २०७५ देखी नै रनिङ शिल्डमा खोखोलाई समावेस गरिएको नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए। नेपालमा रनिङ शिल्डको कार्यविधिमा खोखोलाई समाबेस नगरिएको छैन। तर ठाकुरबाबा नगरपालिकाले भने खोखो खेल ठाकुरबाबाको पहिचान भएकाले रनिङ शिल्डमा समाबेस गरिएको जनाइएको छ। 

    अहिले ठाकुरबाबा नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइरहेको छ। ठाकुरबाबा नगरपालिकाका २४ सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी सहभागी भएर खोखो खेल खेलिरहेका छन्। ठाकुरबाबा नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डमा खोखो खेललाई समाबेस गरेर खेलाडीलाई अझै खेल्ने हौसला प्रदान गरेको बर्दिया खोखो संघका अध्यक्ष्य छत्रबहादुर शाहीको भनाई छ। 

    हरेक शनिबार खोखो प्रशिक्षण

    ठाकुरबाबा नगरपालिकामा अहिले हरेक शनिबार खोखो प्रशिक्षण समेत दिइन्छ। प्रशिक्षणमा ठाकुरबाबा नगरपालिकासँगै छिमेकी नगरपालिकाका समेत खेलाडी आउने गरेका छन्। पछिल्लो समय बालबालिकाको समेत खोखोमा रुची बढ्दै गएको छ। 

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खोखो खेलमा सहभागी भइसकेका खेलाडीले अन्य इच्छुक खेलाडीलाई खोखो सिकाउन समेत थालेका छन्। ठाकुरबाबा नगरपालिकाको रानीपुरमा अवस्थित खोखो एकाडेमीमा खोखोको प्रशिक्षण दिइन्छ। प्रशिक्षकहरू छत्रबहादुर शाही, खगेन्द्रबहादुर शाही नवराज न्यौपानेलगायतले खोखो प्रशिक्षण दिने गरेका छन्। ठाकुरबाबा क्षेत्रका स्थानीयमा समेत खोखोप्रति रुचि बढ्न थालेको छ।

    खोखोलाई ठाकुरबाबा नगरपालिकासहित बर्दिया जिल्लामै अघि बढाउनका लागि स्थानीय तथा प्रदेश सरकारले विशेष ध्यान पुर्‍याउन जरुरी आवाज समेत उठ्न थालेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]