काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (बुधवार) दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २ हजार ३० दशम...
भक्तपुर : सूर्यविनायक नगरपालिका ७ र ८ को ऐतिहासिक रानीकोट गढी, घ्याम्पे डाँडा क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ। नगरकोट र धुलिखेलपछिको अर्को ठूलो पर्यटकीय क्षेत्रको रुपमा विकास भएको यो क्षेत्रमा पर्यटन व्यवसायी उत्साहित बनेपछि करोडौंको लगानीमा द ग्राण्ड गुण्डु रिसोर्ट बन्ने भएको छ।
सोमबार सूर्यविनायक नगरपालिका ७ घ्याम्पे डाँडा पाइलटबाबा आश्रमनजिकै ३७ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको द ग्राण्ड गुण्डु रिसोर्टको संघीय संसदका सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले शिलान्यास गरे। उनले भने,' स्वदेशी तथा विदेशी नागरिकका लागि नयाँ पर्यटकीय गन्तव्यको खोजी भइरहेको छ। सरकारले पर्यटकीय क्षेत्र घोषणा गरेको छ। त्यसै क्रममा यहँ रिसोर्ट खोलिनुले पर्यटन व्यवसायमा उत्साह थपिने निश्चित छ।' उनले यहाँबाट नौ वटा हिमश्रंखलादेखि काठमाडौं उपत्यकाका मनोरम दृश्यको अवलोकन गर्न सकिने बताए।
उनले घ्याम्पे डाँडा, रानीकोट, बोकाचा गढी, अनन्तलिङेश्वर लगायतका क्षेत्र पनि नयाँ पर्यटकीय आकर्षक गन्तव्य बनेको बताए। नेता बस्नेतले सूर्यविनायकदेखि गुण्डुसम्म र सूर्यविनायकदेखि गणेश मन्दिर हुँदै आउने दुईवटा ८ देखि ११ मिटरसम्मको चौडा भइसकेकाे बताए। उनले भने,'अबको दुईवर्षमा सबै सडक कालोपत्र गर्छौ। यहाँ आवश्यक खानेपानीदेखि अन्य पूर्वाधार मेरै पहलमा पूर्णता गर्छु। अब व्यवसायीले ढुक्कसँग लगानी गर्नुस्।'
यो क्षेत्र उपत्यका कै उत्कृष्ठ पर्यटक गन्तव्य बन्ने चर्चा गर्दै उनले यस क्षेत्रमा प्याराग्लाइडिङ, बन्जी जम्प, जिप लाइन संचालनमा आउने तयारी रहेको पनि बताए। सांसद बस्नेतले पर्यापर्यटन, पदमार्ग, शिवमार्ग निर्माण सुरु भएकाले यो क्षेत्रलाई धार्मिक, साँस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको पनि बताए।
कार्यक्रममा पर्यटन व्यवसायी एवं द ग्राण्ड गुण्डुका अध्यक्ष बिज्ञान राईले १८ जना व्यवसायीको सामुहिक लगानीबाट ३७ करोडको लागतमा ५२ रोपनी क्षेत्रफलमा अत्याधुकिन सुविधा सम्पन्न होटल निर्माण गर्न लागेको बताए। यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा पहिचान बनाउने लक्ष्यका साथ अबको दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सात तले भवन निर्माण गर्न लागिएको पनि बताए।
अध्यक्ष राईले भने,' सात तले भवनमा ४४ वटा सुविधासम्पन्न कोठा रहन्छन्। करिब २०० जना अट्ने क्षमताको सेमिनार हल, ५०० जनासम्म अट्ने बैंक्वैट, स्वीमिङ पुल, स्पा, व्यायम कक्ष, बाल उद्यान, शैक्षिक अनुसन्धान केन्द्र, साहसिक गेमको सपोर्ट, पिकनिक स्पोर्टस्, २०० सवारी साधन अट्ने पार्किङलगायतका संंरचना निर्माण हुन्छ।'
कुखुरा, कालिज, गाई लगायतका पुशपंक्षीको फार्म खोली उनले सतप्रतिशत अर्गानिक खानाको व्यवस्था गरिने बताए। अध्यक्ष राईले अर्गानिक तरकारी उत्पादन गर्दै स्थानीय उत्पादन र स्थानीयलाई पहिलो प्राथमिकतामा राखेर सीप अनुसारको रोजगारीको व्यवस्था गर्ने, कला संस्कृतिको प्रर्दशन गर्ने, स्थानीय तामाङ, नेवारी साँस्कृतिक प्रस्तुति दिदै विदेशी तथा स्वदेशी पर्यटकलाई आकर्षण गर्ने गरी संरचना निर्माण हुन लागेको बताए।
कार्यक्रममा सुनपा ७ का वडा अध्यक्ष रविन्द्र सापकोटा, वडा नं. ८ का वडाअध्यक्ष किरण थापा, द ग्राण्ड गुण्डुका संचालक नूतन सुब्बा, घ्याम्पे डाडा पर्यटन विकास समितिका अध्यक्ष रोमन शिलाकार लगायतको पनि उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।