काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा बुधबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान म...
पर्वत : कृषिमा आधुनिकरणका उपकरणहरुको माग बढ्दै जाँदा पर्वतका एक युवाले कृषि क्षेत्रमा सहयोग पुग्ने गरी मसिनरी कृषि औजार तयार पारेका छन्।
कुस्मा नगरपालिका १२ ठूलीपोखरीको टुटुंगा घर भएका बाबुराम विश्वकर्माले कोदो झार्न उपयोगी हुने मसिन तयार पारेका हुन्। घरको आर्थिक अवस्था कमजोर भएकोले जसोतसो जीवन चलाइरहेका उनले झन्डै ५० हजारको लगानीमा मेसिन तयार पारेका हुन्।
‘गरे सम्भव हुने रहेछ, बनाउन सक्छु भन्ने आँट बोकेर प्रयास गरेको थिएँ। मैले बनाएको मेसिनले कोदो झारेको छ।’ बावुरामले भने, ‘मेरो परीक्षण सफल भएको छ। यसलाई परिमार्जन गर्दै अझै विकसित रूप दिन सक्ने हो भने कृषि क्षेत्रका लागि यो मेसिन महत्वपूर्ण औजार बन्न सक्छ।’
उमेरले २८ वर्ष पुगेका बाबुरामको योग्यता भने एसएलसी सम्म मात्रै हो। उच्च शिक्षा अध्ययन गर्ने चाहना भए पनि घरको कमजोर आर्थिक अवस्थाका कारण दैनिकी चलाउन समेत मुस्किल भएकाले उनले अध्ययनलाई अगाडि बढाउन सकेनन्।
मेसिनरी तथा इलेक्ट्रोनिक्स औजारहरूमा बढी चासो राख्ने तथा सानै उमेरदेखि हाउस वायरिङ, घडी रेडियोको मर्मत लगायतका कामहरू पनि गर्दै आएका विश्वकर्मा त्यसैमा तल्लीन रहे र कोदो झार्ने मसिनको सफल परीक्षण पनि गरे।
झन्डै एक महिनासम्म लगातार गरेको मिहिनेतबाट मसिन तयार पार्न सकेको र त्यसमा स्थानीय ठाउँमा पाइने काठ तथा फलामका सामग्रीहरू जोडेर विद्युतीय मोटरको प्रयोग भएको विश्वकर्मा बताउँछन्। विद्युतबाट चल्ने उक्त मेसिनले १ घण्टामा ६ मुरीसम्म कोदो झार्न सक्ने कार्यक्षमता रहेको छ। ‘सम्बन्धित निकायहरूले सहयोग गरेमा यसलाई माथिल्लो स्तरसम्म पनि पु¥याउन सकिन्छ।‘ बाबुराम भन्छन्, ‘मेरो अनुरोधको सुनुवाइ भयो भने यो मेसिन कृषि क्षेत्रमा उपयोगी बन्न सक्छ।’ अहिले कोदो झार्ने मसिन बनाएको भए पनि अबको आप्mनो प्रयास कोदोको दाना र भुसलाई छुट्टाउन सक्ने मसिन निर्माण गर्नु रहेको उनको भनाई छ।
धान खेती हुँदै आएको क्षेत्रमा यो मसिनको महत्व नभएको भए पनि जिल्लाका ग्रामीण क्षेत्रमा गरिँदै आएको कोदो खेतीको प्रोत्साहनका लागि मसिनको उपयोगिता महत्त्वपूर्ण हुन सक्ने कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख, वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मी बताउँछन्। ‘मैले त्यही ठाउँमा पुगेर बाबुरामले बनाएको मेसिन त हेरेको छैन। तर थाहा पाए अनुसार उपयोगी बनेको छ।’ उनले भने, ‘कोदो झार्नका लागि अपनाइने गरेको परम्परागत शैलीलाई परिवर्तन गरेर मेसिनले काम गर्ने हो भने कोदो खेती गर्नेहरूको सङ्ख्या बढाउन पनि सघाउ पुग्छ।’
जिल्लामा धान लगाउन मिनी टिलर र धान झाँट्नको लागि थ्रेसर मसिनको प्रयोग बढ्दै गएको भए पनि अन्य बालीका लागि उपयोगी हुने मसिनरी औजारहरू खासै भित्रिएका छैनन्। यो परिवेशमा कोदो झार्न सकिने मसिन तयार हुनुले राम्रो भएको कृषिसँग सरोकार राख्नेहरू बताउँछन्।
अहिलेसम्म कोदो झार्नका लागि ४/५ दिनसम्म घाममा सुकाउने र लौराले हानेर झार्ने गरिएको थियो। परम्परागत शैलीले धान झाँट्न भन्दा कोदो झार्न बढी सकस हुने गरेको कृषकहरू बताउँछन्।
भिडियो :
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।