समाज : सुरक्षा/अपराध

३५ जना अट्ने जेलमा १४८ जना कोचाकोच

पुस ८, २०७६

    तनहुँ : तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला कारागार परिसरमा निर्माण गरिएको बन्दीगृह बजेट अभावका कारण हस्तान्तरणमा ढिलाइ भएको छ। उक्त भवनको जिम्मा ऋषि शक्ति बिल्र्डस एण्ड इञ्जिनीर्यस प्रालि डुम्रेले सम्झौताअनुरुप मङ्सिर १५ गते निर्माण सम्पन्न गरे पनि भुक्तानी हुन नसकेका कारण भवन हस्तान्तरण गर्न नसकिएको हो।

    हस्तान्तरण नहुँदा ३५ क्षमताको कारागारमा हाल १४८ जना कैदीबन्दी बस्न बाध्य रहेका छन्।  उनीहरुलाई सुत्न र शौचालय जान समस्या भएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए। उक्त भवनको कारागार व्यवस्था विभागबाट समेत अनुगमन भइसकेको छ। उनले भने, 'भुक्तानी प्रक्रिया लम्बिएका कारण बन्दीगृह सञ्चालनमा ढिलाइ भएको हो।'

    कार्यालय भवन, सुरक्षा ब्यारेक र महिला बन्दीगृह गरी तीन भवन मूल्य अभिवृद्धि कर बाहेक रु छ करोड ४४ लाख लागतमा निर्माण गरिएको हो। असी जना क्षमताको उक्त बन्दीगृह सुविधासम्पन्न रहेको छ। दुई तलाको उक्त भवनमा पुस्तकालय, भान्छाघर, डाइनिङहल, सोलारको व्यवस्था, एक गोलघर, चिसोतातो पानीले नुहाउने व्यवस्था, तीन सुरक्षाचौकीलगायका व्यवस्था रहेका छन्।  भवन आउँदो माघ १ गतेबाट सञ्चालन गर्ने गरी तयारी भइरहेको सूचना अधिकारीले जानकारी दिए।

    सम्झौताअनुरुपको बजेट व्यवस्थापन हुन नसक्दा भवन निर्माणकार्य सम्पन्न भए पनि हस्तान्तरणमा ढिलाइ भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) गोरखाकी डिभिजन इञ्जिनीयर सुनिता श्रेष्ठले जानकारी दिइन्। निर्माण व्यवसायीलाई एक हप्ताभित्र भुक्तानी गर्ने भनिए पनि विभागबाट बजेट आउन ढिलाइ भएका कारण समस्या भएको उनले बताइन्।

    कैदीबन्दी हिँडेरै अस्पताल जान बाध्य
    कारागारमा स्वास्थ्य दरबन्दी रिक्त हुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको छ। कारागारमा कार्यरत अहेब सक्षम घिमिरेको समायोजना भई म्याग्दे गाउँपालिका सरुवा भएपछि असोजदेखि कैदीबन्दीको उपचारमा समस्या भएको हो। 

    स्वास्थ्य दरबन्दी रिक्त हुँदा सामान्य बिरामीलाई पनि दमौली अस्पतालमा लैजानुपर्ने अवस्था रहेको छ। कारागारका सूचना अधिकारीले भने, 'कार्यालयमा गाडीको सुविधा नहुँदा कैदीबन्दीलाई हिँडाएर हत्कडी लगाएर सुरक्षाकर्मीको साथमा पठाउनुपरेको छ।'

    क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी रहेकाले (प्यासेज) गल्ली–गल्लीमा कैदीबन्दीलाई सुताउनुपरेको कारागारका चौकीदार बिष्णुहरि घिमिरेले बताए। निर्माण सम्पन्न बन्दीगृह छिटो हस्तान्तरण भए कैदीबन्दीलाई सुत्न सहज हुने थियो। उनले भने, 'चिसो मौसममा उनीहरुले कठिनाइ भोग्नुपरेको छ।' 

    सीपमूलक तालीमको अपेक्षा
    जिल्ला कारागारमा १४८ कैदीबन्दीमध्ये करीब ७०(७५ ले मेहेनतका साथ मुढा बुन्नेलगायतका काम गरी राम्रो आम्दानी गर्दै आएका छन्। मुढा बुनेर मासिक रु सातरआठ हजारसम्म घर खर्च पठाउने गरेको उनले बताए। 'अन्य तालीमको व्यवस्था भइदिए अझ राम्रो कमाइ गर्न सकिने थियो।' उनले भने।

    चाडपर्वको समयमा पनि सोचेअनुरुपको मुढा बिक्री नभएको उनको गुनासो छ। निर्माण गरिएका करीब २०० मुढा अझै मौजाद छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]