समाज

दुई जिल्लाका ६ विद्यालयमा मातृभाषामा पढाइ

मातृभाषा बचाउनेतर्फ भाषा आयोग, नौ जिल्लामा पढाउने तयारी

पुस ८, २०७६

    काठमाडौं : भाषा आयोगले काभ्रे र पाँचथर जिल्लाका ६ वटा सामुदायिक विद्यालयमा मातृभाषा शिक्षा अध्ययापन गराएको छ। मातृभाषाको संरक्षण गर्दै विद्यार्थीलाई भाषाको विकास गराउन आयोगले मातृभाषा शिक्षा अध्यापन गराएको हो।

    भाषा आयोगका अनुसार अहिले काभ्रे जिल्लाको तेमाल गाउँपालिकाभित्र पर्ने नारायण स्थान मावि, बालकल्याण आधारभूत विद्यालय, सेतीदेवी माविमा तामाङ भाषामा पढाइ भइरहेको छ। पाचँथर जिल्लाको फिदिम नगरपालिकाको बुधुक आधारभूत विद्यालय, याङनामा आधारभूत विद्यालय र महाकवि आधारभूत विद्यालयमा लिम्बू भाषामा पढाइ हुने गरेको छ। 

    भाषा आयोगका सूचना अधिकारी लोकबहादुर लोप्चनले मातृभाषा संरक्षणका लागि मातृभाषामा शिक्षा दिँदै आएको बताए। ‘भाषा आयोगले मातृभाषामै दुई जिल्लामा अहिले शिक्षा दिँदै आएको छ,’उनले भने,‘पाठ्याक्रम विकास केन्द्र र स्थानीय तहले मातृभाषा पाठ्यक्रम बनाउन सक्छ।’

    उनका अनुसार पाठ्याक्रम विकास केन्द्रले अहिले विभिन्न २५ भाषामा पाठ्यक्रम बनाएको छ। तर, भाषा आयोगले भने  पाठ्यक्रम नभई मातृभाषालाई नै माध्यम बनाएर गत वर्ष ०७५/०७६ बाट शिक्षा प्रदान गर्दै आएको छ। अधिकारी लोप्चनले भने,‘धेरै जातिका विद्यार्थीहरू भए विद्यार्थीबाटै अनुवाद गरेर शिक्षकले पढाउने गर्छन्। शिक्षकको सहयोगी विद्यार्थी बन्दछन्।’

    ९ जिल्लामा मातृभाषा सञ्चालन गर्ने तयारी

    सूचना अधिकारी लोप्चनले ९ जिल्लाका गाउँपालिका र नगरपालिकाका सामुदायिक विद्यालयहरूमा मातृभाषा शिक्षा दिने तयारीमा भाषा आयोग रहेको बताए। उनका अनुसार ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा सुनुवार भाषामा अध्ययपन गराउने तयारी छ।

    सर्लाहीको रामनगरमा बज्जिका भाषा, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाका विद्यालयमा नेवारी भाषा र खानीखोला गाउँपालिकामा तामाङ भाषामा विद्यार्थीलाई शिक्षा प्रदान गरिनेछ।

    त्यस्तैगरी, जुम्लाको सिजा गाउँपालिकाका सामुदायिक विद्यालयमा जुम्ली भाषा,  हुम्लाको सिमिकोटमा भोट (तामाङ)भाषा, दाङको राप्ती गाउँपालिकामा थारू भाषा, गोरखाको गोरखा नगरपालिमा कुमाल भाषा, लमजुङको क्ब्होलासोथर गाउँपालिकाका विद्यालयमा गुरुङ भाषा र डोटी जिल्लाको आदर्श गाउँपालिकाका विद्यालयमा डोटेली भाषामा शिक्षा दिने आयोगको तयारी छ।

    ‘धुलिखेल नगरपालिका,खानीखोला गाउँपालिका,रामनगर गाउँपालिकामा मातृभाषा शिक्षाका लागि सम्झौता गरेका छौँ,’अधिकारी लोप्चनले भने,‘अन्य जिल्लामा सम्भाव्यता अध्यय्न गरिसकेका छौँ। सबै प्रकृया पूरा गरेपछि शिक्षा सञ्चालनमा ल्याउँछौँ। मातृभाषा लोप हुन नदिई विद्यार्थीलाई सजिलो होस भन्ने हाम्रो चाहना हो।’

    उनका अनुसार सिन्धुपाल्चोकको लिशंखु पाखर गाउँपालिकामा मातृभाषा शिक्षाका लागि बहुभाषिक शिक्षा पत्रिकाको सहयोगबाट चारलाख बजेट छुट्याएको छ।  उनले यस वर्ष सरकारबाट भाषा आयोगमा करिब ७ करोड बजेट विनियोजन भएको बताए। अघिल्लो वर्ष ९ करोड बजेट छुट्याएको थियो ।

    लोपोन्मुख भाषा विकासका लागि अभिमूखीकरण  

    भाषा आयोगका सूचना अधिकारी लोप्चनले कुसुण्डा,हायु,किसान,व्यासीलगायत लोपोन्मुख भाषाको अभिलेखीकरण र विकास गर्नका लागि अभिमुखीकरण कार्यक्रम गर्ने योजना ल्याएको बताए। उनले भने,‘लोपोन्मुख भाषाको विकास गर्नका लागि शिक्षक,विद्यार्थीहरूसँग अभिमुखीकरण गर्ने योजनामा छौँ।

    छिट्टै विराटनगरलगायत ठाउँमा कार्यक्रम सञ्चालन गर्नेछौँ। मातृभाषा बचाउनेतर्फ लागेका छौँ।’ उनका अनुसार उक्त कार्यक्रममा वर्ण,व्याकरण, ग्रामर लगायतका विषयमा अभिमुखीकरण कार्यक्रम गरिनेछ। 

श्याम राई

राई शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]