समाज

टिचिङ अस्पतालभित्रै बसे डा. गोविन्द केसी अनसनमा, समर्थन र विरोधमा नाराबाजी

फोटो : दीपक केसी
असार २६, २०७३

    जयसिंह महरा/सविना खनाल

    काठमाडौं : बिभिन्न संघसंस्थाको आग्रह र चेतावनीको वेवास्ता गर्दै त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसी चार बुँदे माग राख्दै आठौं पटक अनसनमा बसेका छन्।

    आइतबार दिउँसो चार बजेपछि उनी शिक्षण अस्पतालको गणेशमान सिंह नाक कान घाँटी बिभाग रहेको भवनको तेश्रो तलाको प्यासेजमा अनसन बसेका हुन्।

    गएको असार १२ गते ४ बुँदे माग राखेर सरकारलाई दुई हप्ताको अल्टिमेटम दिएका केसीले सरकारबाट माग पूरा नभएपछि अनसन सुरु गरेका हुन्।

    केसीले राखेका मागहरु यस्ता छन् :

    १. चिकित्सा शिक्षा ऐनको मस्यौदामा निम्न बुँदालगायतका सुधारहरु गरेर संसदको यही अधिवेशनबाट  तुरुन्त सो ऐन पारित गरियोस्। 

    • सबै सरकारी मेडिकल शिक्षण संस्थाहरुको अर्थिक भार सरकारले व्यहोर्दै तिनमा सबै सिट निःशुल्क गर्ने
    • सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने
    • काठमाडौं उपत्यकामा आउँदो १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने, मनसायपत्र पाएकाहरुको मनसायपत्र नवीकरण नगर्ने
    • अधिकतम शुल्क र सीट यो वर्ष शिक्षा मन्त्रालय, विश्वविद्यालयहरु र मेडिकल काउन्सिलले निर्धारण गरेझैं हुने व्यवस्था गर्ने
    • आगामी शैक्षिक सत्रदेखि केन्द्रीय प्रवेश परीक्षा लिने व्यवस्था गर्ने र त्यसका लागि आयोगले हाल प्रवेश परीक्षा लिइरहेका निकायहरुसित समन्वय गर्ने

    २. आफ्नो र आफन्तको निहित व्यापारिक स्वार्थका लागि मेरिटको भर्ना र निश्चित शुल्कमा भर्ना लगायत समग्र सुधारको प्रक्रिया अवरुद्ध पारेका, भ्रष्टहरुलाई संरक्षण दिएका र अरु जिम्मेवार पदाधिकारीहरुलाई ब्ल्याकमेलिङ गरेर राजीनामासमेत गर्न बाध्य पारेका तथा कार्यक्षेत्र नाघेर काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गर्न लगाएका अदुअआ प्रमुख लोकमानसिंह कार्कीमाथि तत्काल संसदले महाभियोगको प्रक्रिया अघि बढाओस्। र सम्बन्धित आयुक्तहरुलाई पनि कारबाही गरियोस्।

    ३. माथेमा प्रतिवेदनको सुझावविपरीत काठमाडौंमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठानसम्बन्धी हाल संसदमा विचाराधीन विधेयक तत्काल फिर्ता गरियोस्। 

    ४. विगतमा भएका निम्न  लिखित सम्झौता लगायत सबै सम्झौता अविलम्ब कार्यान्वयन गरियोस्ः

    • त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा तत्काल वरिष्ठताका आधारमा डिन नियुक्त गरियोस्
    • अबको शैक्षिक सत्रदेखि मेरिटमा आधारित भर्ना, शुल्क र सीट सीमालगायतका बुँदाहरु कडाइका साथ कार्यान्वयन हुने व्यवस्था गरियोस्
    • विश्वविद्यालयलमा पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा अन्त गर्न शिक्षा मन्त्रीको सट्टा दलीय सम्बद्धता नभएका विज्ञको नेतृत्वमा सर्च कमिटि बनाउने कानुनी व्यवस्था गरियोस्
    • अनियमितता र भ्रष्टाचारमा मुछिएका आइओएम र त्रिविका पूर्व–पदाधिकारीहरुमाथि तत्काल छानविन र कारवाही गरियोस्। 

    यसपटक केसीलाई शिक्षण अस्पतालभित्र अनसन नबस्न चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम डिन कार्यालय, त्रिवि शिक्षण अस्पताल कर्मचारी इकाइ लगायत बिभिन्न निकायले आग्रह गरेको थियो। डिन कार्यालयले त उनलाई अनसन बसेमा कारबाही गर्ने पनि चेतावनी दिएको थियो।

    केसीको अनसन घोषणाको विरोधमा बिभिन्न अस्पतालमा काम गर्ने डाक्टरहरुले पनि अनसन घोषणा गरेका थिए। उनीहरुले पनि शिक्षण अस्पतालभित्रै अनसन बस्न ठाउँ उपलब्ध गराइदिन शिक्षण अस्पतालका निर्देशकसँग माग गरेका थिए।

    केसीको समर्थन र विरोधमा नाराबाजी 

    डा. गोविन्द् केसीले त्रिवि शिक्षण अस्पतालभित्रै अनसन बसेको विरोध र समर्थनमा शिक्षण अस्पताल परिसरमा नारावाजी भएको छ। शिक्षण अस्पतालकै कर्मचारी र विद्यार्थीहरु डा‍. केसीको पक्ष र विपक्षमा नाराबाजी गरेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]