समाज

कोरोना असर : किरात समुदायको साकेला नाच स्थगित

बैशाख १६, २०७७

    काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)ले किरात समुदायको उभौँली चाडमा नाचिने साकेला नाच स्थगित भएको छ। किरात राई यायोख्खा (किराया) ले कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लगाएको लकडाउनलाई प्रभावकारी बनाउन साकेला नाच स्थगित गरेको हो।

    किराया केन्द्रीय सचिवालयले आउँदै गरेको वैशाख २५ गतेको उभौंली चाड मनाउने वा नमनाउनेबारे सोमबार भिडियो कन्फ्रेरेन्स गरेको थियो। त्यस बैठकले व्यक्तिगत रुपमा देवीदेवतालाई घरघरमा पुज्‍ने तर, साकेला ननाच्‍ने निर्णय गरेको थियो।  

    किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष जीवन हाताचो राईले यस पटकको उभौंली चाड सामाजिक दूरी कायम गरी घरघरमा तीन चुला पुजी साकेला नाच ननाच्‍ने निर्णय भएको जानकारी दिए। 

    'यसपटकको उभौलीमा कुलपित्री पूजा आदि व्यक्तिगत रुपमा घरघरमा मनाउने निर्णय भएको छ। साकेला नाच स्थगित गरिएको छ,’ उनले भने।  

    आवश्यकता अनुसार बाहिर देवी देवताका थानहरु भुमे थान पूजा, साकेला थान पूजा, शिकारी पूजा गरेर सकेसम्म सामाजिक दूरी कायम गरी थोरै संख्यामा उभौली चाड  मनाउने निर्णय गरेको उनले बताए। 

    साकेला मुन्धुमी पुजारी (नाक्सो) प्रेमबहादुर राईका अनुसार किरातीहरू हरेक वैशाख पुर्णिमामा लगाएको अन्‍नबाली राम्रो होस, सबैमा सुखशान्ती मिलोस भनी प्रकृतिको पूजा गर्दै उभौली चाड मनाउँछन्। 

    त्यो बेला मकै, धान, कोदो, अदुवा लगायतका अन्‍नबाली लगाइन्छ। अन्‍नबाली पाकेपछि मंसिरे पूर्णिमा तिथिदेखि पुर्खाहरूलाई चढाएर उधौली चाड मनाइन्छ। किरात राईले साकेन्वा-साकेला, लिम्बूले चासोक, याक्खाले चासुवा र सुनुवारले फोलषादर नामले प्रकृतिलाई पुकारेर नाच्छन्।

    साकेला नाच्दा सिलिमाङ्पा (सिलीको अगुवाइ गर्ने पुरुष) या सिलिमाङ्मा (सिलीको अगुवाइ गर्ने नारी)ले समूहलाई अगुवाई गर्दछन्। गोलघेरा बनाएर नारी र पुरुष सराबरी हातमा हात, खुट्टामा खुट्टा चालमा चाल मिलाए ढोल, झ्याम्टाको तालमा नाच्छन्। 

    घेराभित्र चिल्लेकटुसको रुखका लिंगो र थुम्से(सोली) मा खारेवा(चिन्डो)मा रक्सी राखिन्छ। त्यस चाडको विशेषता भनेकै प्रकृतिको पुजा गरी परम्परागत नाच प्रदर्शन गर्नु हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]