समाज

पर्वतमा सडक विकास : २ अर्ब ४४ करोड ८३ लाखका योजना

तीन वटै सरकारकाे बजेटमा सडक निर्माण कार्य तीव्र

बैशाख १६, २०७७

    पर्वत : दुई नगर र पाँच गाउँपालिका रहेको पर्वतमा कुल ६२ वटा वडा छन्। हिउँदका समयमा निरन्तर चल्ने सडकहरू बर्खामा भने रोकिने गरेका छन्। 

    पहिरोका कारण बग्ने तथा पुरिने र वर्षाका बेलामा खोल्सा बन्ने गर्छन् जिल्लाका सडक। जसले गर्दा पर्वतका सबै ठाउँमा सवारी सञ्चालन हुन समस्या हुँदै आएको छ।जिल्लामा संघीय र प्रदेश सरकारले ठूला योजनाका लागि सडकमा बजेट छुट्याएका छन्। स्थानीय तहले पनि साना कामका लागि बजेट विनियोजन गरिरहेका छन्। 

    प्रदेश सरकारले गर्ने लगानी

    एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत बहुवर्षीय ठेक्कामा मिलनचोक–ढोट्नेरी सडकका लागि २८ करोड १३ लाख ६ हजार  र चिसापानी–खहरेखोला सडकको लागि २२ करोड ७२ लाख ३९ हजार रुपैयाँ गरी कुल ५० करोड ८५ लाख ४५ हजार रुपैयाँ लगानी हुँदै छ। 

    यस्तै प्रादेशिक सडक ‘क’ वर्ग अन्तर्गत बहुवर्षीय ठेक्कामा नै दोबिल्ला–फलेवास सडकको लागि २६ करोड ७८ लाख ९१ हजार रुपैयाँ लगानी गरिने पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी तथा लेखा अधिकृत गौरवदास वैरागीले बताए। उनका अनुसार प्रादेशिक सडक ‘ख’ वर्ग अन्तर्गत ३ वटा सडक आयोजनाको काम हुँदै छ। 

    जसमा पातिचौर–क्याङ–नागी हुँदै म्याग्दी जोड्ने सडकका लागि ९१ लाख १२ हजार, कुस्मा–शालिजा–नागी हुँदै म्याग्दी जोड्ने सडकलाई १३ करोड ९० लाख ६८ हजार र हिलेखोला–फलेवास हुँदै बागलुङको जैमिनी नगरपालिका जोड्ने सडकको बजेट १२ करोड १० लाख रहेको छ। 

    प्रादेशिक सडक ‘ग’ वर्ग अन्तर्गत जिल्लामा कुल २२ ओटा सडकमा कुल १० करोड लगानी गरिँदै छ। जिल्लाका विभिन्न क्षेत्रमा रहेका ती सडकको लागि न्यूनतम २० लाख देखि ५० लाख रुपैयाँसम्म विनियोजन भएको छ। यीमध्ये गडतारा–थामार्जुङ, घुम्ती–लाम्पाटा–खनियाघाट र घुरुंगा–लाङ्दी–पूर्णगाउँ सडकमा तोकिएको काम सम्पन्न भइसकेको छ। 

    चालु आर्थिक वर्षमा सडक मर्मत योजनाअन्तर्गत ठेक्का सम्झौता नभइसकेको भए पनि प्रादेशिक सडक मर्मत सम्भार कार्यका लागि २ करोड र नियमित सडक मर्मत सम्भार कार्यका लागि १ करोड गरी ३ करोड लगानी हुँदै छ। 

    अन्य सडकअन्तर्गत कुस्मा नगरपालिकामा रहेका अस्पताल चोक–बन्जी जम्प–हाइवे सडकका लागि ४ करोड ७८ लाख र साइकलचोक–मलामी डाँडा सडकका लागि २ करोड ६६ लाख बहुवर्षीय योजनाअन्तर्गत लगानी हुने छ।

    संघीय सरकारले गर्ने लगानी

    सम्भावित रणनीतिक सडकअन्तर्गत लाङ्दी–घुरुंगा–लेस्पार–शालिजा सडकको लागि बहुवर्षीय ठेक्कामा १ करोड १ लाख र बनहुँ–देउराली–लस्ती–धाइरिङ सडकको लागि १ करोड लगानी हुँदै छ। यस्तै ग्रामीण पहुँच कार्यक्रमबाट हस्तान्तरित योजनाअन्तर्गत शिल्मी–ठूलीपोखरी–कार्कीनेटा सडकको लागि ६ करोड ७६ लाख लगानी हुनेछ। 

    यस्तै सम्भावित प्रादेशिक सडक योजनाअन्तर्गत जिल्लाका ३ ओटा सडकहरू डिमुवा–राम्जा–चित्रे सडकका लागि १० करोड ३० लाख, घुम्ती–लाम्पाटा–खुर्कोट–खनियाघाट सडकको लागि ६ करोड ९७ लाख र बेनी–मालढुंगा सडकमा ३ करोड ५८ लाख खर्च गरिने छ।

    भौतिक र वित्तीय प्रगति राम्रो

    पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी तथा लेखा अधिकृत गौरवदास वैरागीले जिल्लामा सञ्चालनमा रहेका आयोजनाहरूको भौतिक र वित्तीय प्रगति राम्रो भएको बताउँछन्। यस वर्ष कार्यालयमा आवश्यक पर्ने कर्मचारी तथा उनीहरूको खटनपटन राम्रो भएका कारण चालु आर्थिक वर्षमा ९० प्रतिशत रकम खर्च हुने अनुमान गरिएको उनले बताए। 

    ‘फागुन मसान्त सम्मको खर्च हेर्दा संघीय सरकारबाट आएको कुल २९ करोड ३२ लाखमध्ये ११ करोड ६ लाख २३ हजार खर्च भएको छ। यो ३८ प्रतिशत खर्च हो,’ उनले भने, ‘प्रदेश सरकारबाट आएको १ अर्ब ४० करोड २९ लाख ७२ हजारमध्ये दोस्रो चौमासिकसम्म ९२ करोड ४० लाख खर्च भएको छ। यो ६६ प्रतिशत खर्च हो।’

    कार्यालय प्रमुख दयाराम अधिकारीले योजनाहरू कार्यान्वयनमा रहेका ठाउँमा ठाउँमा नियमित अनुगमन गर्नुका साथै ठेकेदारहरूलाई पनि समयमै काम सम्पन्न गर्न आवश्यक अनुगमन र समन्वय गरिरहेका कारण यस वर्षको आर्थिक र भौतिक प्रगति राम्रो भएको उनको भनाइ छ।

    ‘अघिल्लो वर्षको भन्दा यो वर्ष हाम्रो प्रगति निकै राम्रो हुने भएको छ। अहिलेको मौसम प्रतिकूल रहेका कारण पनि हामीलाई अझ समस्या भइरहेको छ,’ उनले भने, ‘अब मौसममा सुधार आएपछि विशेष गरी वैशाखमा सम्झौता हुने योजनाहरू पनि छन्। त्यसपछि कामको स्पिड झनै बढ्छ।’

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]