राजनीति

नेकपा विवादमा किन खुलिरहेका छैनन्‌ बादल?

ओलीसँग नजिकिएको आरोप, फकाउँदै दाहाल

बैशाख १६, २०७७

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख नेताहरूबीचको विवाद उत्कर्षमा पुगिरहँदा दल र सरकारमा जबर्जस्त प्रभाव राख्‍ने एक नेता मौन छन्‌।

    यस्ता किचलो र विवाद भएका बेला अन्तिम समयमा मात्रै मुख खोल्ने र नतिजालाई आफ्नै पक्षमा मोडिदिने सक्ने ती व्यक्ति हुन्‌ : नेकपाका सचिवालय सदस्य एवम्‌ गृहमन्त्री रामबहादुर थापा 'बादल'।

    प्रधानमन्त्री केपी शर्मा ओलीले दल फुटाउने र संवैधानिक परिषद्‌सम्बन्धी दुई अध्यादेश जारी गरेपछि निम्तिएको विवादमा गृहमन्त्री बादल मौन छन्‌। उनका भनाई भन्दै केही कुरा बाहिर आए पनि सार्वजनिक रुपमा उनले अध्यादेश र पार्टी विवादमा अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेका छैनन्‌। 

    क्याबिनेटकै सदस्य रहेका हिसाबले र पार्टीभित्र आफ्नो दह्रो उपस्थिति बनाउने कोसिसमा लागिरहेको हुँदा गृहमन्त्री बादलले विवादित अध्यादेश अघि बढाउँदै गर्दा 'संकटका बेला नेतृत्वले असाधारण निर्णय लिन्छ' भनेका या अध्यादेश विवादित भएपछि 'हतारमा गरिएछ' भनेका कुराहरू दोस्रो स्रोतबाट बाहिरिएका छन्‌। तर उनी आफैंले यी विवादबारे अहिलेसम्म मौनता साँधिरहेका छन्‌। 

    अध्यादेश जारी गरेपछिको विवादले नेकपाभित्र सम्भवत: अहिलेसम्मको ठूलोस्तरमा शक्ति विभाजन भएको छ। यो विभाजनको रेखाले प्रधानमन्त्री ओली, अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाललाई गुट सक्रिय बनाउन बाध्य तुल्याएको छ। वैशाख ८ गते ल्याइएको अध्यादेश त्यसको चार दिनपछि १२ गते नै खारेज भएपनि त्यसले नेताहरूलाई आफ्नो 'फेस सेभ गर्न' र अस्तित्व थप मजबुद बनाउनुपर्ने स्थिति निम्त्याइदिएको हो।

    त्यसो त प्रधानमन्त्री ओलीले अध्यादेश जारी गरेपछि सचिवालयका अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले बिरोध जनाइसकेका छन्‌। तर, अध्यक्ष दाहालनिकट मानिएका र जनयुद्धका योजनाकारमध्येका एक एवम्‌ सहयात्री गृहमन्त्री थापाले कुनै प्रतिक्रिया जनाएका छैनन्‌। 

    गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका थापा पार्टीभित्र पनि शक्तिशाली छन्। विवादित विषयमा उनी हत्तपत्त मुख खोल्दैनन्। यसअघि पनि विवाद मत्थर हुने बेला निर्णायक भूमिकामा रहनेगरि अभिव्यक्ति राख्ने गरेका छन्। पार्टीभित्र तीव्र विवाद चलेपछि अध्यक्ष दाहालसँग टाढिएका भनिएका गृहमन्त्री थापालाई आफूनिकट बनाउन प्रधानमन्त्री ओली पक्षका नेताहरु पनि सक्रिय भइरहेका छन्। 

    दाहालसँगको सम्बन्ध चिसिएकै हो त?

    तात्कालीन माओवादी केन्द्रका शक्तिशाली नेता हुन् बादल। तर, पछिल्लो समय अध्यक्ष दाहालसँग सम्बन्ध बिग्रिएको खबरहरु बाहिरिए। अध्यक्ष दाहालनिकट स्रोतका अनुसार थापालाई गृहमन्त्रीबाट हटाउने 'लबिङ'मा स्वयम्‌ दाहाल लागेका थिए।

    ‘थापालाई गृहमन्त्रालयको जिम्मेवारीबाट हटाउन अध्यक्ष दाहाल लाग्नुभएको थियो, त्यही विषयलाई लिएर प्रधानमन्त्री ओली भेट्न बालुवाटार समेत पुग्नुभएको थियो,’ नेकपाका एक नेताले भने, ‘गृह मन्त्रालयबाट थापालाई हटाउने विषयमा प्रधानमन्त्री ओलीले नै प्रचण्डलाई सम्झाएर पठाउनु भएको थियो, त्यस घटनापछि नै उहाँ (बादल) अध्यक्ष दाहालसँग हच्किनुभएको हो।’

    गृह मन्त्रालयबाट हटाउन अध्यक्ष दाहालले प्रयास गर्दा प्रधानमन्त्री ओलीले बचाऊ गरेपछि बादललाई ओली पक्षसँग नजिकिएको आरोप  लाग्दै आएको छ। यद्यपि, यो विषय हल्लामात्रै हो या वास्तवमै लामो समयदेखिका दुई सहकर्मी दाहाल र बादलबीच यस्तो असमञ्जस्यता बढेको थियो भन्‍ने पुष्टि गर्न केही समय कुर्नैपर्ने हुन्छ।

    फकाउँदै अध्यक्ष दाहाल 

    गृहमन्त्री थापाले अध्यादेशको विषयमा आफ्नो पक्ष नलिएपछि अध्यक्ष दाहाल फेरि उनीसँग हच्किएका छन्। पार्टी र सचिवालयमा आफ्नो दरिलो भरोसा मानिएका मित्रले आफ्नो पक्षमा आवाज नउठाएपछि दाहालले थापालाई पकाउन थालेका छन्। 

    चौतर्फी विरोध भएको अध्यादेशबारे ओली र दाहाल दुवै पक्षलाई समर्थन नगरिकन ‘तटस्थ’ बसेपछि थापालाई फकाउने पक्षमा दाहालपक्ष जुटेको हो। यता, केही नेताहरुले भने गृहमन्त्री थापा ओली पक्षसँग नजिक भएको आरोप समेत लगाउँदै आएका छन्‌।

    अध्यक्ष दाहालले गृहमन्त्री थापा पक्षलाई आफ्नो पक्षमा तान्‍नका लागि एक साताभित्र दुई पटक व्यक्तिगत भेट गरेका छन्। भेटको क्रममा थापाले दाहालसँग गृह मन्त्रालयको जिम्मेवारीबाट हटाउने लम्बिङमा लाग्नुको कारण सोधेको भनिएको छ। 

    पटक-पटकको छलफलपछि अध्यक्ष दाहाल र गृहमन्त्री थापा एउटै खेमाको भएका कारण आगामी दिनमा सँगैे मिलेर जाने सहमत भएको दाहाल पक्षका नेताहरू बताउँछन्‌। 

    भैंसेपाटी गठबन्धनबाट टाढा  

    प्रधानमन्त्री ओलीले एकलौटी रुपमा अध्यादेश ल्याएपछि भैंसेपाटीस्थित उपाध्यक्ष वामदेव गौतम निवासमा भएको भेलामा गृहमन्त्री सहभागी भएनन्‌। त्यस भेलामा अध्यक्ष दाहालको नेतृत्वमा सचिवालयका ६ सदस्य सहभागी भएका थिए। अरु त अरु विश्‍वासपात्र मानिने महासचिव विष्णु पौडेलले पनि भैंसेपाटी भेलामा उपस्थिति जनाएर ओलीविरुद्धको मोर्चामा हात मिलाए।

    अध्यादेशबारेको विवादमा प्रधानमन्त्री तानिएर नैतिक प्रश्‍न खडा भएपछि उनकै खास मानिसका रुपमा चिनिएका महासचिव पौडेल भैँसेपाटी भेलामा गएका थिए। बालुवाटार प्रकरणमा आफूलाई ओलीले अनावश्यकरुपमा मुछेको भन्दै असन्तुष्टि जनाउँदै आएका पौडेल एकाएक ओलीविरोधी पंक्तिमा मिसिएपछि नेकपाभित्रको गुटगत राजनीतिमा नयाँ तरंग आएको छ।  

    त्यस भेलामा अध्यक्ष दाहालसहित, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतम, महासचिव पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए। भेलाले ओलीको एकलौटी र मनमौजी अन्त्य गर्न उनलाई सरकारबाट बिदा गर्नै पर्ने निचोड निकालेको थियो।

रमेश पराजुली

पराजुली समसामयिक राजनीतिक र सामाजिक विषयमा रिपोर्टिङ गर्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]