समाज

सुकुम्बासीले पाए पक्की घर, लकडाउनमा छैन भाडाको चिन्ता

बैशाख १६, २०७७

    दमक (झापा) : ७२ वर्षीय टेकबहादुर थापा अहिलेसम्म कति पटक डेरा सरे,कुनै हिसाब छैन। आफ्नो जमिन र घर नभएका उनी मजदुरी गरेर जीविकोपार्जन गर्दै आइरहेका छन्। साथमा छिन् १० वर्षकी छोरी। मजदुरी गर्दा जहाँ-जहाँ अनुकुल हुन्छ, त्यहीँ डेरा सरेर थापाले सात दशक कटाए। दुई महिना हुन लाग्यो : बल्ल उनी आफ्नै घरमा बस्न थालेका छन्‌।

    दमक-१ मा नगरपालिकाले बनाएको एकीकृत बस्तीमा नि:शुल्क घर पाएका उनी अहिले दङ्ग छन्। ‘जीवनमा कति डेरा सरियो किुनै हिसाब छैन, आफ्नो घर बनाउन सकिन्छ भन्ने पनि लागेको थिएन,’ लकडाउनका समयमा आफ्नै घरमा बसेका उनले भने, ‘यहाँ आएको पनि दुई महिनामात्र हुन लागेको छ, यो घर पनि नपाएको भए त अहिले कमाई समेत गर्न नपाउने बेलामा डेरा भाडा तिर्नै सक्ने अवस्था थिएन, धन्न घर पाइयो।’

    सोही बस्तीमा रहेका ५४ वर्षीय पुष्प ढकालले पनि जीवनमै पहिलो पटक घर पाएका हुन्। मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका उनलाई डेरा भाडा तिर्न र घर चलाउनु निक्कै हम्मे थियो। त्यसमाथि बिरामी श्रीमतीको उपचार पनि उनका लागि चुनौती हो। तर नगरपालिकाले नि:शुल्क घर उपलव्ध गराइदिए पछि उनलाई निर्वाह चलाउन निकै सजिलो भएको छ।

    ‘बुवा-आमा म सानो छँदैमा बित्नुभयो, दिनभर कमाएर साँझको छाक टार्दै आइयो, घर बनाउन सक्ने त कुरै थिएन,’ बिरामी श्रीमतीसँगै नमूना बस्तीको घरमा बस्दै आएका उनले भने, ‘नगरपालिकाले बनाई दिएको पक्की घर पाइयो, कम्तिमा आफ्नो घर भन्न पाइएको छ, अब खानका लागि त पाखुरा छन्, जसरी पनि खाई हालिन्छ नि!’

    उनीहरु जस्तै ७६ वर्षीया मनमायाँ भुजेलको जीवन पनि डेरामा नै चल्यो। चार वर्षदेखि पक्षघातबाट थला परे पछि कान्छा छोराको भरमा रहँदै आएकी उनको जीवन झनै कष्टकर बनेको थियो। एक्लो मान्छेको कमाईले घरभाडा, खान, उपचार सवै कुरा पुर्‍याउन कठिन थियो। तर अहिले आफ्नो घर पाएपछि कम्तिमा घरभाडा जोगिएको छ। बिजुलीबत्ती, शौचालय र खानेपानीलगायतको पनि कुनै समस्या छैन। 

    यसरी बन्यो बस्ती

    दमक नगरपालिकाले नगरका सुकुम्बासीहरुका लागि एकीकृत नमूना बस्ती निर्माण गरेको हो। स्थानीय सरकारले पहिलो चरणमा नगरका २३ विपन्न परिवारका लागि घर निर्माण गरिदिएको हो। दमक-१ मा नमुना एकीकृत बस्तीको रुपमा समान एकै प्रकारका घर निर्माण गरिएको छ। 

    नगरका सबै भूमिहीन तथा विपन्न परिवारलाई क्रमिक रुपमा बसोबासको व्यवस्था मिलाउने लक्ष्यअनुसार पहिलो चरणमा २३ परिवारका लागि नमुना बस्ती निर्माण गरिएको नगरप्रमुख रोमथान ओलीले जनाएका छन्। नगरपालिकाको स्वामित्वमा रहेको जमिन व्यवस्थापन गरी घर निर्माण गरिएको हो। भान्सा कोठासहित चारकोठा रहेका प्रत्येक घरमा शौचालयको समेत व्यवस्था रहेको छ। 

    नगरपालिकाले निर्माण गरेका घर पाउनका लागि नगरपालिकाले केही मापदण्ड पनि बनाएको छ। नगरप्रमुख ओलीका अनुसार सो स्थानमा बसोबासका लागि नगरपालिकाभित्र कम्तीमा १० वर्षदेखि बसोबास गरेको र कहीँ पनि जमिन नभएको परिवार हुन आवश्यक छ।

    यस्तै, नगरपालिकाले उठाएका दमक-७ को सुनचाँदी लाइनमा रहेको नगरपालिकाको जमिनमा बसोबास गरेका परिवारलाई पनि ती घर पाउनेको प्राथमिकतामा राखिएको छ। बस्तीमा रहेका २३ घरमध्ये १५ घरमा प्राथमिकता अनुसारका परिवार बसोबास गरिरहेका छन्। बाँकी आठ घरमा पनि आउने क्रममा रहेको जनाइएको छ। 

    यसरी जुट्यो श्रोत

    तीन करोड ७० लाख रुपैयाँमा तीनै तहका सरकारहरुको लागत सहभागीतामा यो बस्ती निर्माण भएको हो। बस्ती निर्माणमा संघीय सरकारको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको १ करोड ४० लाख, प्रदेश सरकारको १ करोड ३० लाख र स्थानीय सरकार दमक नगरपालिकाको १ करोड रुपैयाँ खर्च भएको नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिइन्।

    बस्तीको संरक्षण, सुरक्षा तथा सरसफाइका लागि घर हस्तान्तरणपछि सोही ठाउँमा बसोबास गर्नेहरुको समिति बनाई जिम्मेवारी प्रदान गर्ने नगरपालिकाको तयारी रहेको छ। 

    गत फागुन महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न बस्तीमा बसोबास गर्नेलाई चाबी हस्तान्तरण गरि बस्तीको उद्घाटन गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]