पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेम...
सम्झाैताविपरीत न्यून गुणस्तरकाे चामल दिएकाे भन्दै मूल्य घटाइयाे
झापा : नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले सम्झौताविपरीत हल्दिबारी गाउँपालिकालाई राहतकाे चामल पठाएको खुलेकाे छ।
एनएमसीले रञ्जित मन्सुली नामकाे राम्रो चामल दिने भनी गाउँपालिकासँग लिखित सम्झौता गरेको थियो। तर, सम्झौताविपरीत एनएमसीले कम मूल्यकाे सोना मन्सुली चामल पठाएको छ। गाउँपालिका भने सम्झौता अनुसारकै चामल पाएकाे भन्दै ढुक्क परेकाे थियाे।
गाउँपालिकाले जब प्राप्त चामल राहतमा वितरण गर्याे, त्यसपछि यसबारे खुल्न आएकाे हाे। गाउँपालिकाले बाँडेको चामल साेना मन्सुली भएकाे भन्दै समुदायबाटै चर्को आलोचना हुन थालेपछि मात्रै एनएमसीले चामलमा बदमासी गरेको जनप्रतिनिधि थाहा पाएका गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए।
‘५० रुपैयाँप्रति केजी रञ्जित मन्सुली चामल किन्ने सम्झौता गरेका थियौ,’ गाउँपालिका अध्यक्ष लिङदेन भने, ‘तर एनएसमीले त्यसभन्दा कम मूल्यकाे चालम पठाएकाले प्रतिकेजी १० रुपैयाँ घटाएर मात्र भुक्तानी दिने निर्णय गरेका छौं।’
एनएसमीले गाउँपालिकालाई नै ढाँटेको उनले बताए। राहतमा बाँडिएकाे चामल राम्रो नभएकाे भन्दै उनले दुःख व्यक्त गरेका छन्। ’गाउँपालिकाले गत चैत २६ गते राहत सामग्री आपूर्तिका लागि मूल्यसूचीकाे सूचना प्रकाशन गरेकाे थियाे। सूचनामा रञ्जित मन्सुली चामल १८ हजार २ सय १४ केजी, मुसुरो दाल ३ हजार ५ सय ३६ केजी, तोरीको तेल १ हजार ७ सय ६८ लिटर, आयोडिन नुन २ हजार ५६ केजी र १ सय २५ ग्रामको लाइफ ब्याय, डिटल वा सोसरहको साबुन २ हजार ५ सय ३६ थान उल्लेख गरिएको छ।
सोही सूचनाबमोजिम बाह्रदशी गाउँपालिका ३ राजगढस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शाखा कार्यालयले सिलबन्दी फारम गाउँपालिकामा पेस गरेका थिए।
गाउँपालिकाले खोलेको सिलबन्दी टेन्डरमा सबैभन्दा न्यून मूल्यसूची एनएमसीले हालेको थियो। एनएमसीलाई चैत २६ गते खाद्यान्न सामग्री आपूर्तिको टेन्डर परेको थियो । एनएमसीका विनोद कडरियाले रञ्जित मन्सुली राम्रो चामल प्रतिकेजी ५० रुपैयाँमा दिने भनी गाउँपालिकासँग लिखित सम्झौता गरेका थिए।
सम्झौतामा ५० रुपैयाँको दरले १८ हजार २ सय १४ केजी चामल ९ लाख १० हजार ७ सय, मुसुरो दाल प्रतिकेजी १ सय १५ रुपैयाँको दरले ३ हजार ५ सय ३६ केजी ४ लाख ६ हजार ६ सय ४०, जय श्री तोरीको तेल १ सय ६५ रुपैयाँ प्रतिलिटरले १ हजार ७ सय ६८ लिटर २ लाख ९१ हजार ७ सय २०, आयो नुन २१ रुपैयाँ प्रतिकेजीको दरले २ हजार ५६ केजी ४३ हजार १ सय ७६ रुपैयाँ र ९५ ग्रामको लाइफ ब्याय २८ रुपैयाँका दरले २ हजार ५ सय ३६ थान ७१ हजार ८ रुपैयाँमा उल्लेख थियाे।
तर, एनएमसीले सम्झौताविपरीत चामल गाउँपालिकालाई पठाएपछि यसको चर्को आलोचना भइरहेको छ। राहत पाएकी हल्दिबारीकी धनकुमारी राईले भनिन्, ‘राहत दिँदा त राम्रो चामल दिनुपर्याे नि, ३५ रुपैयाँमा पाइने बर्खे धानको खुदी चामल दिँदा भात गिलो न गिलो, खानै सकिँदैन।’ गाउँपालिकाको गल्ती नभएको जानकारी पाएकोले सम्झौता गर्ने संस्थालाई कानुनी कारबाही गर्दै रकम रोक्का गर्नुपर्ने राहत पाएकाहरूको गुनासो छ।
गाउँपालिकाले गर्याे रकम कटौती
एनएमसीले सम्झौताविपरीत चामल पठाएको भन्दै गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले सम्झौताअनुसार रकम नदिने निर्णय गरेको छ।
वैशाख १० गतेकाे समितिको बैठकले सम्झौताअनुसार एनएमसीले चामल आपूर्ति नगरेकाे र विपदमा जनतालाई वितरण भइसकेपछि मात्र कार्यालयलाई जानकारी भन्दै उसलाई समितिमा उपस्थित गराई मौखिक सोधपुछ गरेकाे जनाएकाे छ।
सम्झौताअनुसार एनएमसीले चामल उपलब्ध नभएको स्वीकारेकाे र कार्यालयमा रहेको मौज्दात प्याकेट जाँच गर्दासमेत सोही पाइएकोले सम्झाैताविपरीत भएकाले चामलमा प्रतिकेजी १० रुपैयाँका दरले मूल्य घटाएर भुक्तानी गर्ने निर्णय भएकाे गाउँपालिकाले जनाएकाे छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।