मंगलबार मात्रै ७ सय १७ जनाको काेराेना जाँच गरियाे
डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका १५ हजार सात सय बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण परीक्षण गरिएको छ। यस प्रदेशमा कोरोना परीक्षणका लागि फागुन १ गतेदेखि नमुना संकलन सुरु भएकोमा हालसम्म दुबै विधिबाट १५ हजार सात सय ६१ जनाको कोरोना परीक्षण गरिएको हो।
पिसिआर विधिबाट दुई हजार सात सय ७५ जनाको र १२ हजार नौ सय ८६ जनाको र्यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। पिसिआर प्रविधिबाट परीक्षण गरिएकामध्ये हालसम्म पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये चार जना निको भएर घर गएका छन् भने एक जना उपचाररत छन्। आरडिटी गरिएकामध्ये १० जनामा पोजेटिभ देखिए पनि उनीहरूको पिसिआर नेगेटिभ देखिएको जनाइएको छ।
मंगलबार मात्रै सात सय १७ जनाको परीक्षण
मंगलबार सुदूरपश्चिम प्रदेशका थप सात सय १७ जनाको कोरोना परीक्षण गरिएको छ। पिसिआरबाट १७ जना र आरडिटीबाट सात सय तीन जना गरी मंगलबार सात सय १७ जनाको कोरोना परीक्षण गरिएको हो।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ। कोरोना परीक्षणका लागि मंगलबार मात्रै १४ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको छ भने दुई जनाको मात्रै रिपोर्ट आउन बाँकी छ।
अब प्रदेशभरि पाँच हजार ८ सय ४३ आरडिटी किट मौज्दात रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेशभरका विभिन्न अस्पतालबाट अहिलेसम्म एक सय ११ जना डिस्चार्ज भएका छन्।
चार जना कोरोना संक्रमित र बाँकी एक सय सात जना शंकास्पद बिरामीलाई अस्पतालले डिस्चार्ज गरेको हो। कोरोना संक्रमितलाई लगातार दुई पटकसम्म नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको हो भने शंकास्पदहरुलाई भने पहिलो रिपोर्ट नै नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ।
अहिले प्रदेशभरका क्वारेन्टाइनमा एक हजार दुई सय ९६ जनालाई राखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। सात हजार नौ सय सात जना अटाउने क्वारेन्टाइन स्थापना गरिएकोमा एक हजार दुई सय ९६ जनालाई राखिएको छ।
प्रदेश र स्थानीय सरकारले बाहिरबाट आएकाहरुलाई सीधै घर पठाउन थालेपछि अधिकांश क्वारेन्टाइन खाली भएका हुन्। प्रदेशका नौं वटै जिल्लामा नेपाली सेना, प्रदेश र स्थानीय सरकारले एक सय ७९ वटा क्वारेन्टाइन स्थापना गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।